आजकल धेरै सुनिने शब्द हो— ‘स्ट्रङ इन्डिपेन्डेन्ट वुमन’ अर्थात् सशक्त स्वतन्त्र महिला। धेरै महिला र किशोरीहरू आफूलाई यसरी चिनाउन मन पराउँछन्।
समय बदलिएको छ। महिलाहरूले शिक्षा, रोजगारीदेखि घर, कार्यालय र राजनीतिसम्म राम्रो स्थान हासिल गरेका छन्। उनीहरूको क्षमतामाथि प्रश्न उठाउने ठाउँ छैन। अवसर पाएपछि महिलाले के गर्न सक्छिन् भन्ने कुरा पनि स्पष्ट भइसकेको छ।
तर यहीसँगै आजको समाजमा ‘स्ट्रङ इन्डिपेन्डेन्ट वुमन’ भन्ने शब्दसँगै महिलाका भावना र आवश्यकताका कुरा भने कम सुन्न थालिएको जस्तो लाग्छ।
हरेक काममा वा अप्ठ्यारो परिस्थितिमा भनिन्छ—
‘तिमी स्ट्रङ इन्डिपेन्डेन्ट वुमन हौ नि, तिमीले यो गरिहाल्छौ।’
‘तिमी त स्ट्रङ छौ, किन रोएकी?’
‘यति सानो कुरामा किन इमोशनल भएकी?’
यस्ता कुरा बारम्बार सुन्दा लाग्छ, आज महिलाहरू पनि त्यही स्थितिमा पुगेका छन् जहाँ कुनै बेला पुरुषलाई भनिन्थ्यो, ‘पुरुष रुन हुँदैन।’ समय बदलिएको छ, तर सोच बदलिएको छैन।
हामीले चाहेको समाजमा महिला होस् वा पुरुष, सबैले आफूजस्तो भएर बाँच्न, आफ्नो भावना खुला रूपमा व्यक्त गर्न पाउनुपर्थ्यो। तर व्यवहारमा हामी कहिले महिलालाई कमजोर त कहिले अत्यन्त बलियो र ‘सबै गर्न सक्ने’ भनेर एउटै ढाँचामा राखिरहेका छौँ।
त्यसैले प्रश्न उठ्छ— के ‘सशक्त स्वतन्त्र महिला’ हुनु गलत हो? होइन। कुरा कसैलाई बलियो, आत्मनिर्भर वा सक्षम नबनाउने होइन। प्रश्न त केवल यति हो कि हामी खुलेर कहिले बाँच्ने, रमाउने र आफ्ना भावना अभिव्यक्त गर्ने?
आज धेरै महिलाहरू एक्लै सबै जिम्मेवारी सम्हाल्न बाध्य छन्। समाजले उनीहरूलाई ‘यदि तिमी स्वतन्त्र हुन चाहन्छौ भने सबै कुरा आफैँ गर्न सक्नुपर्छ’ भन्ने सोचतर्फ धकेलेको जस्तो लाग्छ। त्यसैले स्वतन्त्र महिला हुनु प्रगति हो, तर त्यो प्रगतिसँगै धेरै मौन थकान पनि जोडिएको हुन्छ।
‘इन्डिपेन्डेन्ट वुमन’ बाहिरबाट हेर्दा धेरै बलियो देखिन्छिन्। उनी करियरमा अगाडि हुन्छिन्, सम्बन्ध पनि सम्हाल्छिन्, आफ्ना रुचिहरू पनि पूरा गर्छिन्। तर भित्रभित्रै उनी धेरै पटक थाकेको, खाली र कहिलेकाहीँ रिसले भरिएको महसुस गर्छिन्। उनी आफैँले सबै कुरा सम्हाल्न खोज्छिन्, प्रायः एक्लै। उनी निद्रा कम गर्छिन्, आफ्नै हेरचाहमा पनि पछि सार्छिन्। सपना त पूरा हुन सक्छ, तर त्यसको मूल्य धेरै व्यक्तिगत थकान र त्यागमा हुन्छ।
स्वतन्त्र र सबल महिलाको चाहना व्यक्त गर्नेहरू नै धेरैजसो त्यसको वास्तविक रूपसँग सामना हुँदा असहज बन्छन्। उनीहरूलाई स्वतन्त्र महिला मन पर्छ भन्ने लाग्छ, तर जब आफ्नै सम्बन्धमा त्यो स्वतन्त्रता देख्छन्, तब उनीहरू पछि हट्न थाल्छन्। कहिलेकाहीँ लाग्छ, यो समानताको रिले दौडमा हामीले सन्तुलन हरायौँ। जबकि उद्देश्य त बराबरी थियो। यसको अर्थ महिलाले पुरुष बन्नुपर्छ भन्ने होइन, न त पुरुषले आफ्नो भावना दबाउनुपर्छ भन्ने हो। बराबरीको अर्थ त दुवैले आफ्ना कमजोरी, भावना, आँसु र सपनालाई स्वीकार गर्न पाउनु हो।
पहिले महिलालाई सम्पत्ति जस्तो मानिन्थ्यो, आज हामी आफैँ सम्पत्ति स्वामित्व गर्न सक्षम भएका छौँ, यो ठुलो प्रगति हो। तर जब हामी ‘आश्रित’ अवस्थाबाट ‘स्वतन्त्र’ अवस्थातर्फ गयौँ, हामीले त्यही अदृश्य सहयोग प्रणाली पनि धेरै हदसम्म गुमायौँ, जसमा धेरै सम्बन्धहरू लामो समयदेखि निर्भर थिए, जस्तै घरेलु र भावनात्मक जिम्मेवारी सम्हाल्ने साथ।
पुरुष होस् वा महिला, कसैलाई पनि शारीरिक, मानसिक वा भावनात्मक सहयोग माग्न र दिन अहिले पनि हिचकिचाहट हुन्छ। किनभने हामी अझै ‘सधैँ बलियो हुनुपर्छ’ भन्ने सोचको घेरामा छौँ। हामीलाई लाग्छ, यदि हामीले सहयोग माग्यौँ भने हामी कमजोर देखिन्छौँ। यदि हामीले आफ्ना समस्या खुलेर भन्यौँ भने हाम्रो क्षमता र आत्मविश्वासमाथि प्रश्न उठ्न सक्छ। यही डरका कारण धेरै जना चुप बस्छन् र सबै कुरा आफैँले सम्हाल्ने प्रयास गर्छन्।
तर के साँच्चै मानव हुनुको अर्थ सधैँ एक्लै सबै गर्न सक्नु हो? हामी संसारकै सबैभन्दा बुद्धिमान प्रजाति भनेर चिनिन्छौँ तर कहिलेकाहीँ हामी आफ्ना भावनाहरू बुझ्न र स्वीकार गर्नमै सबैभन्दा कमजोर देखिन्छौँ। वास्तवमा, सहयोग माग्नु कमजोरी होइन। यो मानव स्वभाव हो। हामीलाई कहिले समर्थन चाहिन्छ, कहिले कसैको साथ चाहिन्छ र कहिले भावनात्मक रूपमा बुझिदिने कोही चाहिन्छ।
अन्त्यमा, ‘सशक्त स्वतन्त्र महिला’ हुनु गलत होइन। तर त्यसको अर्थ सधैँ एक्लै सबै बोक्नु, कहिल्यै कमजोर नदेखिनु वा कहिल्यै सहयोग नलिनु होइन। मानिस हुनु नै सन्तुलन हो; कहिले बलियो, कहिले कमजोर, कहिले स्वतन्त्र र कहिले कसैमा भर पर्ने।