सन् २०१६ को मध्यतिर एउटा जमघट भएको थियो, लाजिम्पाटको त्रिसरामा। त्यो माहौलमा हामी वरिष्ठ गायक दीप श्रेष्ठ दाइको साथमा थियौँ। साथमै थिए गायक दीपक थापा (विदेश जाने मायालु तिमीलाई….), भीम पुन (नेपथ्यका संस्थापक मध्ये एक), दिवाकर घले (अध्यक्ष महावीर क्लब), रविन्द्र पाण्डे (सञ्चारकर्मी) र म।
तर यो जमघट कुनै सांगीतिक कार्यक्रमका लागि थिएन। हङकङ निवासी भीम पुन नेपाल आउँदा उनैले मिलाएको पुनर्ताजगी थियो। एकै साथ संगीतज्ञहरू भेला भएपछि त्यो माहौल सांगीतिक नहुने त कुरै थिएन।
हालैको सप्ताहान्तको एउटा साँझ साउथ अस्ट्रेलियामा दीप श्रेष्ठको सांगीतिक साँझमा रमाइरहँदा दशक अघिको त्यो समय आँखामा रिल्स बनेर आइरह्यो। जुलाईको एक बिहान साथी विकास पौडेलले एडिलेडमा दीप श्रेष्ठको ‘स्वर्णिम सांगीतिक साँझ’ आयोजना गर्न लागेको भन्दै फोन गरे। उनले फोन मै सोधे, ‘कस्तो हुन्छ होला?’ नेपालमा पत्रकारितामा सक्रिय विकास यहाँ पनि सामुदायिक पत्रकारिता गर्छन्। उनको प्रश्न गर्ने बानी उस्तै छ।
‘यो त निकै खुसीको कुरा भयो त सर,’ उनलाई जवाफ दिए। खासमा दीप दाइ यहाँ आउने कुराले नै म पुलकित भइसकेको थिएँ। पछि रामकृष्ण ढकालले त्यो साँझमा आउने खबर आयो। अर्थात् सुगम संगीतका नयाँ पुराना दुई गायक एउटै स्टेजमा गुन्जिने भए। यसले झन् उत्साहित बनायो।
दश वर्ष अघिको त्यो जमघटमा दीप दाइलाई टेबलबाट उनका फ्यानले समातेर स्टेजमा पुर्याएका थिए। सायद त्यो दिन दीप दाइ लगायत हामी शान्तसँग खानपिनमा रमाउन चाहन्थ्यौँ। तर फ्यानहरूका अगाडि केही नचल्ने रहेछ। हो, त्यही दिन पहिलो पटक दीप श्रेष्ठलाई प्रत्यक्ष सुनेको थिएँ।
त्यो दिन दीप दाइ गीत नगाउने मुडमा हुनुन्थ्यो खासमा। दाइका कोही फ्यानले चिन्लान् र स्टेजमा लग्लान् भन्ने डर थियो। भइदियो त्यस्तै। यसैले दिवाकर दाइले जुक्ति झिक्नु भयो र दीप दाइले क्याप लगाएर कुना फर्केर बस्नु भो। गायकको पनि त निजी समय हुन्छ, साथीहरूसँगै यसै रमाउन माहौल जमाउन मन लाग्छ। त्यो साँझ पनि दाइको निजी समय बिथोलियो।
दीप दाइलाई नचिन्ने कसले?
एक जना त्यहीँ रहिछन् दाइको बडो फ्यान। उनले निकै जोड गरेर माइक थमाइन्। अनि सुरु भयो, ‘मेरी मायालु…’ को झंकार। यो गीतपछि दाइ फेरि टेबलमा फर्किनु भयो। दीप श्रेष्ठको प्रस्तुति त्यहाँ अरूलाई ‘सर्प्राइज’ जस्तै भयो। दीप दाइ आफ्नो स्थानमा फर्किसक्दा पनि दर्शकहरूले ‘वान्स मोर…’ भनिरहेका थिए।
अस्ट्रेलियाको चिसो साँझमा दीप दाइ गुन्जिन थालेपछि माहौल एकाएक तात्यो। स्टेजबाट दीप श्रेष्ठ भन्दै हुनुहुन्थ्यो, ‘चिसो मौसममा झमझम नचाउने मेरा गीत छैनन्। बसेर सुन्ने खालका हुन्छन्।’ तर सांगीतक माहौल नचाउने गीतले मात्र जमाउँदैनन्। सुगम संगीत माया प्रेम र करुणाका गीतको छाप छुट्टै हुन्छ।
उनले हार्मोनियमका कर्डमा औँला राख्दै सुरु गरे:
म पत्थरको देवता होइन
तोडिएर जोडिने
न म त्यो देव हुँ
सधैँ बाँचिरहने…...।
हुन त अस्ट्रेलियाको नेपाली समुदायमा युवाहरू नै छन्। त्यसमा पनि सबै उमेर समूहको उपस्थिति थियो। यहाँ आफन्त भेट्न आएका अभिभावकहरू दीप श्रेष्ठ सँगै रमाइरहेका थिए। उपस्थित दर्शक उनका गीतमा आफ्नो स्वर भरिरहेका थिए।
गत जुलाई महिना मेरा लागि पुरै सांगीतिक रह्यो। लगातार तीन वटा सांगीतिक कार्यक्रम हेर्ने अवसर जुर्यो। जुलाई पहिलो हप्ता केही अफगान र युक्रेनियनहरूको गीत सुन्न पाइयो। दोस्रो हप्ता विख्यात कवाली गायक राहत फतेह अली खानको कन्सर्ट, अन्तिम हप्ता दीप श्रेष्ठ र रामकृष्ण ढकालका गीतमा रम्ने मेसो मिल्यो। यो मेरा लागि दुर्लभ अवसर जस्तो रह्यो।
संगीतले विदेशमा आफ्नो समुदायप्रतिको सामाजिक भावना पनि जगाउन मद्दत गर्छ। परदेशको व्यस्त जीवनमा एक अर्काबिच भेटघाट र नयाँ चिनजानको माहौल पनि यस्तै कार्यक्रमले सिर्जना गर्छन्। साँचो अर्थमा भन्दा भावनाहरूलाई एउटै धागोमा उनिदिन्छ।
हुँ यात्री एउटा
रुमल्ही हिँड्ने
अँधेरी रातमा
हुँ यात्री एउटा कहानी लेख्ने
जंगली पातमा
दीप दाइले यो गीत सुनिरहँदा आफूलाई त्यही गीतको यात्री जस्तो लाग्छ। यात्रामा भरोसा योग्य साथ भए कहानी सजिलै लेखिन्छ। आफ्नो छेउछाउमा रहेका अग्रज र अनुजहरू गीतमा रमाएको देख्दा कताकता भरोसायुक्त हात थमाइरहेको अनुभूति हुन्थ्यो।
प्रिय कवि विप्लव प्रतीकको रचनामा रहेको एउटा गीत गुन्जिदा माहौल भावुक बन्यो।
हर रात सपनीमा ऐँठन हुन्छ
गाउँमा सायद पहिरो गयो कि
वर्खायामको समयमा यो गीत बजिरहँदा सबैको मन मस्तिष्क आफ्नो आफ्नो गाउँमा पुगेको अनुभूति हुन्थ्यो।
गीतको दोस्रो अन्तरा छ:
डाँडापारिको घामलाई हेर्छु
आमा र बाबा सम्झिरहन्छु
गाउँ छोड्दा बिझेका काँडा
परदेशमा बसी झिकिरहन्छु…।
परदेशीलाई भावुक बनाउन यहाँ भन्दा अरू के चाहियो र! एउटै टेबलमा बसेर रमाइरहेका दाजु राजुप्रसाद उपाध्याय, अशोक केसी, गणेश पराजुली यो गीत दीप दाइले गाइरहँदा चुपचाप सुनिरहनु भएको थियो। सबैलाई गीतले नोस्टाल्जिक बनाएको अनुहार हेरेर थाहा हुन्थ्यो।
झट्ट सुन्दा श्रेष्ठका गीतमा दुःख, वेदना र करुणा सुनिन्छ। त्यति मात्र होइन उहाँका गीतमा मायालुहरू पनि भेटिन्छन्, ‘मेरी मायालु…’। अहँ होइन! रोमान्टिक पनि सुन्छन् श्रेष्ठ, ‘गुराँसको फूल सिउरी/ बेतको टोकरी बोकी/ एक सुइरो दुई पात टिप्न/ साइँलीवरी चियाबारीमा…। भावुक रहेको माहौललाई अन्त्यमा यो गीतले फेरि एकाएक रोमान्टिक बनाइदियो। दूरदेखि आएका दीप श्रेष्ठले एडिलेडमा छपक्कै छाप छोडे। आफ्ना गीतमार्फत नयाँ पुस्तामाझ आफूलाई अन्तर्घुलन गराए।
अब पालो थियो रामकृष्ण ढकालको। दीप श्रेष्ठसँग स्टेज सेयर गर्न पाउनु आफ्ना लागि अहोभाग्य रहेको उनले बताए। हाम्रा लागि पनि विदेशमा दुई हस्तिलाई सँगै सुन्न पाउनु दुर्लभ क्षण जस्तै थियो। ढकालले आफ्ना नयाँ पुराना गीत गाए। कहिले भावुक बनाए त कहिले कालीमा रिडी मिसाए। अनि उनले भने,
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्
यी हातले सधैँ सधैँ नेपाल लेख्न पाइयोस्…।
-1785839965.jpeg)
-1785839965.jpeg)