भान्साको एउटा घर्रामा पुराना क्यासेटहरू अझ छन्। फ्रिजमाथि छ त्यो आदिम क्यासेटप्लेयर।
कहिलेकाहीँ बजाउँथे ती अमूल्य यादहरू। तर अहिले जाँगर चल्दैन त्यसमा समय खपत गर्न। carvaan weeken classic Radio show रूचिको आवाजमा म सुन्छु त्यो पनि मोबाइलमा।
न त कतै दाब्नु परोस्, न कतै थिच्नु परोस्। बजिरहन्छ लगातार अनेक गीतहरू। गीतभित्रको अनेक कथा, गायकको मनोविज्ञानदेखि समय र कलाकारहरूको रोमान्टिक कथा र अनेक दुःख लाग्दा व्यथाहरूको साथमा कालजयी गीतहरू। मोहित हुन्छु संगीतमा।
अस्ति भर्खरसम्म कान्तिपुर एफएम, म सोही क्यासेटप्लेयरमा भएको रेडियोबाट सुन्ने गर्थेँ तर अब त त्यो रेडियोको कान बटार्न पनि अल्छी लाग्न थालेको छ। घर्रा तान्छु हेर्छु। सुरक्षित छन् सबै आवाजहरू। फालिहाल्न सक्दिनँ। सिनेमाका गीतका क्यासेटहरू टन्न छन्, भजनका क्यासेटहरू पनि भरिपूर्ण छन्। कर्णदासको नयाँ क्यासेट किन्दा एक सय दश रुपैँया तिरेको सम्झिएर आज पनि डराएकी छु। त्यो बेला त्यो रुपैयाँको मोल धेरै नै थियो। मीमांसाको रूचि अनुसार गीतका क्यासेटहरू सिङ्गो रूपमा किन्न नसकेर उसलाई मन पर्ने गीतहरूको लिष्ट बनाएर जान्थेँ क्यासेट पसलमा। ऊ सकीनसकी गाउँथी, 'बोले चुडिया बोले कगीना ... यो गीतमा झमझम नाच्थी पनि। जतिबेला पनि बोले चुडिया सुन्ने भनेर कहल गरेपछि हो म उसको फर्माइसमा गीतको सूची लिएर गएको।
'दाइ गीत भरेको कति लाग्छ?'
'एउटा गीतको पाँच रुपैयाँ।'
'खाली क्यासेटको नि?'
'साठी रुपैयाँ।'
एउटा खाली क्यासेटमा छोरीका मनपर्ने गीत भरेपछि पनि अर्को खाली क्यासेट किन्ने पैसा बाँकी रहन्छ मसँग। मलाई छोरीको तोते बोली असाध्यै मनपर्छ। त्यो बोली फोटो जस्तै सुरक्षित राख्न पाए! मनमा नौलो रहर जाग्छ। अनि रेकर्ड गर्न मन लाग्छ छोरीको त्यही तोतेबोली र एउटा खाली क्यासेट पनि लिन्छु। क्यासेट प्लेयरमा छ रेकर्डिङको सुविधा।
फेरि सतर्क हुँदै भन्छु, 'दाइ खाली क्यासेटमा सुनु लेखिदिनू न! यो क्यासेटमा म छोरीको आवाज भर्छु।'
पसले दाइ मलाई पुलुक्क हेर्छन् र सुन्तले रङको मार्करले क्यासेटको छेउमा सुनु लेखिदिन्छन्। हर्षको सीमा छैन आमाछोरीको। तापक्रम नाप्ने यन्त्र जस्तै हाम्रो त्योबेलाको खुसी नाप्ने यन्त्र भएको भए यो संसारमा हामी जति खुसी कोही पनि थिएनन् होला।
आमाछोरी ठूलो सौगात बोकेर गान्धी आश्रमतिर उक्लिन्छौँ। हामी बसेका छौं काठमाडौं विश्वविद्यालयले भाडामा लिएको पुरानो घरमा। बनेपाको शिरमा छ हाम्रो बासस्थान, आजाद स्कुलनेर। आमाछोरी गीत खोलेर नाच्छौँ, हाँस्छौं रमाउँछौं। खाली क्यासेटमा छोरीको तोते बोली पनि भर्छु ए... बि... सि... डि... पनि भन्न थाल्छे। क... ख ... ग जम्मै भन्छे। घरी 'हरि तिमी जसरी राख मोलाई' भन्दै लाडिन्छे।
खोई मलाई कस्तो आनन्द आएको हो थाहा छैन। सायद म त्यो समयमा पूर्ण भएर बाँचेकी थिएँ। आकाङ्क्षाको क्षितिज तन्किएको थोइन शादय। जे थियो पूर्ण थियो। खुसी सीमित थियो। तर आज यो बेला मेरो हातमा गीतको अन्त्यहीन संसार छ। त्यो भरेको क्यासेटको कुनै मोल छैन। कसैले छुँदैनन् ती पुराना क्यासेट तर मलाई माया लाग्छ फाल्न। अरूलाई बेफ्वाँक लागे पनि मलाई ती क्यासेटहरू केवल निर्जीव र निरर्थक नै लाग्दैनन्। मसँग संवाद गर्न सक्छन् क्यासेटहरू। मलाई त्यो समयमा पुर्याउन सक्छन्। यस्तो लाग्छ ती क्यासेटहरूले एउटा जीवित इतिहास बोकेर अझ जीवन्त मुस्कान छोड्दैछन्। इतिहास हुत्त फाल्न मलाई मन लाग्दैन। इतिहासले आफ्नै अनुहार देखाउँछ। उद्गमको धरातल र अवस्था पनि देखाइदिन्छ। समयको समृद्धशाली रेल चढेर सुविधाको अनेक सिँढी उक्लिए पनि इतिहासले भुइँ छोड्न दिँदैन। मलाई आज पनि त्यो इतिहास स्मरणीय लाग्छ।
साठी रुपैयाँमा खाली क्यासेट किनेर सानी छोरीका फर्माइसका गीतहरू भर्न अब म यो जुनीमा कुन क्यासेट पसलमा जान्छु र! यस्तो लाग्छ मस्तिष्कमा बसेको त्यो अमर समय मेटेर कहाँ मेटिन्छ र! समयका अनेक मोतीलाई बटुलेर स्मृतिको धागोमा सजाएकी छु, आफैले भोगेर आएका अनुभवहरूको वैजयन्तीमाला।
मलाई अतीत प्रिय लाग्छ। सोच्छु जसको अतीत छ ऊ पो शक्तिशाली छ। अतीतका अनेक शृंखलाहरु कति सुन्दर छन्। कति स्मरणीय छन्। पुनः विचार गर्छु मेरो अतीत अमूल्य भएर हो या मैले नै ती अतीतलाई अमूल्य बनाएकी हुँ? मनमा एउटा विचार आएर मलाई उज्यालो पार्छ 'थाहा छ अनिता! समय त सबैको उस्तै उस्तै हो तर समयलाई सम्पति बनाउने कला जो कोहीमा नहुनसक्छ।
भर्खरै भोगेको समयसँग गुनासो पनि त हुनसक्छ तर त्यही समय पछि स्मरणीय र सौभाग्यशाली पनि त भएको महसुस हुनसक्छ। त्यसैले समयलाई सुन्दर रूपमा स्वीकार्ने कला निर्माण गर्नुपर्छ। हरेक समयले केही न केही दिएर जान्छन्। आखिर जीवन भनेको अनुभवहरूको शृङ्खलता त रहेछ। कुनै अनुभव मीठा होलान्, कुनै नमीठो। कुनै अमिला, कुनै टर्रा। फरक स्वादमा नै त छ जीवन जीउनुको मज्जा। एउटै स्वाद कति दिनसम्म प्रिय लाग्छ र! गुलियोको अभावमा पो गुलियोको महत्त्व झल्किन्छ। रातको अभावमा रात पनि त खड्किन्छ। त्यसैले जीवन नदी जस्तै हो निरन्तर बग्दै अगाडि जाने। जे जस्तो भूगोल आउँछ स्वीकार्छ नदीले।
समय त हावाको झोका पनि त हो। तर समयको वेगलाई बटुलेर सुरक्षित राख्न जान्नुपर्ने रहेछ। हामीले भोगेर आएका कयौँ समय तँ कहाँ सकिएको छ र! ती समय त हामी सँगसँगै हिँडेको छ आज पनि। छोडेर कहाँ छोडिन्छ र समयको सौन्दर्य?
समय त यस्तो चिह्न हो जो मेटेर पनि मेट्न कठिन छ। मस्तिष्कको विचारविमर्शमा निमग्न थिएँ, त्यति नै वेला नारायण गोपालको आवाज मेरो कानसम्म आउँछ, 'यो सम्झिने मन छ म बिर्सु कसोरी ... यी सुन्दर पङ्तीहरूमा म पुनः बनेपातिर दौडिन्छु। कोठाभरि पोखिएको छ छोरीको तोते बोली। कानमा आएर दीपक जङ्गम मलाई पुनः सम्झाउँछन्, 'पखाले यी आँखा पनि दृश्य उही छ, जहाँ नै म हिँडे पनि धर्ती उही छ ...।'
कति गहिरो शब्द। जति पखाले पनि मेरो अतीतका अमूल्य समय र भूगोल जीवन्त बनेर मलाई लोभ्याउँछन्।
अतीतका यिनै अमूल्य सम्पत्तिले नै त हो म यति धनी भएकी। सँगसँगै त हिँडेका छन् मेरा अनुभवका ताँती। तब पो कलम पनि दगुर्छ खररर। जीवन भन्नु त अनुभवहरूको शृङ्खला नै त हो। अनुभव नहुँदो हो त जीवन कति निरस-निरस हुन्थ्यो होला। मलाई कहिलेकाँही यस्तो लाग्छ, कसैको सम्पत्ति नाश हुँदा बरू केही नाश हुँदैन होला। तर स्मृति नाश भयो भने! सबैभन्दा ठूलो नोक्सानी त विस्मृति नै हो।
अहो! हाम्रो मस्तिष्कबाट हामीले भोगेर आएको समयका अनेक छाया डिलिट भयो भने! मस्तिष्क खाली क्यासेट जस्तै फेरि फेरि नयाँ नयाँ गीत रूपी अनुभव भर्नु पर्यो भने? अतीत हरायो भने? इतिहास गायब भयो भने? अत्यास लाग्छ कल्पना गर्दा मात्र पनि। म त निमेषभरमा पुनः पुग्छु मैले भोगेर आएको समयमा। त्यो अतुलनीय भूगोलमा। त्यो क्यासेट पसलमा गएर म भर्खरै गीत भरेको पाँच रुपैयाँ पनि तिर्छु। छोरी पुनः पुनः भन्छे 'मेरी जिन्दगी मे अजिबनी भन्छे किन साजिना' पनि भर्ने ल मामू ... पसले उसै गरी हाँस्छ छोरीको तोते बोलीमा। म उसै गरी रमाउँछु त्यो प्रिय बोलीमा।
'मामू के गरिरा हजुर! त्यो अब किन राखिरा भन्या। फालिदिस्यो के के सोची रा!' मीमांसा पुन; क्यासेट फाल्न कर गर्छे।
नियाल्छु क्यासेटहरू नारायण गोपालका गीत भाग १, २। हिन्दी सिनेमाका गीतका क्यासेटहरू पनि टन्न छन्। रफी, किशोरका भागका भाग छन्। हातमा ती क्यासेटहरू लिएर म अतीतको यात्राबाट फर्किन्छु वर्तमानमा। हृदय आभारले भरिन्छ। ओठमा मीठो मुस्कान पोखिन्छ।
यही जीवनमा कति जीवन भोगिसकेँ छक्क लाग्छ। भिमानमा हुँदा दिउँसोको तीन बजेपछि रेडियो नेपालबाट आउने चलचित्रका गीत र चार बजेपछि आउने हिन्दी सिनेमाका गीत सुन्नका लागि मरिहत्य गरेको समय पनि आँखामा आएर नाच्न थाल्छ। अझ झुङ्गेली बाजेको घरमा राती आठ बजेपछि बज्ने हिँदी गीतहरूको शृङ्खलाका ती अमर गीति कार्यक्रमका गीतहरू समस्वरमा आएर मलाई समयको यात्रा गराउँछन्।
आज हेर्छु प्रविधिमुखी छोरीलाई जो सिनेमा, सङ्गीत र साहित्यलाई बन्द कोठामा बसेर आफ्नै हातले छानीछानी चलाउँछे तर पनि मेरो स्मृतिमा आउँछन् ती दिनहरू जहाँ सिडी किन्ने बेला थियो। छोरी अलि ठूली भएपछि घरमा कम्प्युटर आयो। सिडी हेर्ने बानी भयो। उसलाई किनिदिएका ती सिडीहरू पनि सुरक्षित छन्। मलाई आएर तिनै सिडीहरूले त्यो समयको भ्रमण गराउँछन्। हिजो जस्तो लाग्छ रु १५० तिरेर अङ्ग्रेजी सिनेमा ह्यारिपोटर र नार्नियाको सिडी किनिदिएको। १५० भनेको रकम त्योबेला कम थिएन। तर छोरीले अङ्ग्रेजी सिक्छे, बोल्छे भन्ने आशा थियो। आज म पनि हातबाट सिनेमा हेर्छु। न सिडी राख्नुपर्ने झन्झट। न निकाल्नु पर्ने टेन्सन।
विज्ञान र प्रविधिको संसारमा हामीले उडान भरेका छौँ। आज करिब ९०% नेपालीहरू मोबाइल फोन चलाउँछन्। अझ तथ्याङ्कले त यो पनि देखाउँछ कि नेपालमा सक्रिय मोबाइल कनेक्सन जनसङ्ख्याको १०९% देखि १३२% बराबर छन्। १००% भन्दा बढी मोबाइल प्रयोगकर्ता हुनु भनेको अधिकांश मान्छेले दुई दुईवटा फोन चलाउँछन्।
म्यासेन्जरदेखि अनेक अनेक च्यानलबाट हुन्छ अचेल कुराकानी। विदेशमा भएका आफन्तसँग कुरा गर्न पनि तड्पिनु पर्देन अब। निमेष भरमा पुग्न सक्छौँ संसारको हरेक कुना। हेर्न सक्छौँ संसारलाई आफ्नै हातबाट।
मेरी हजुरी घरमा टेलिफोन हुँदा भन्नुहुन्थ्यो, 'ईश्वरको लीला पनि अचम्मको छैन त कताको मान्छे, कताबाट आएर तारमा कान थाप्दा हुबहु बोलेर जान्छ। सपना जस्तो ।' सम्झिन्छु मेरी हजुरीलाई, आजको प्रविधि देख्न पाएकी भए मेरी हजुरीले ईश्वरलाई कसरी धन्यवाद दिँदी हुन् या विज्ञानको चमत्कारलाई स्वीकार्दिहुन्।
फेरि निमेष भर थामिएर सोच्छु 'म पनि हजुरीकै उमेरमा पुग्दा प्रविधिको गति कहाँ पुगिसकेको हुन्छहोला? म के भन्छु होला त्योबेला प्रविधिको जादूलाई ?
आज विश्व घरघरमा छ। साहित्य हात हातमा छ। सिनेमा कोठा कोठामा छ। ८२% को घरमा इन्टरनेटको पहुँच छ। सिनेमा, संसार, सङ्गीत आज सबैको पहुँचमा छ। आज फोन गर्न दगुर्नु पर्दैन पीसिओतिर। प्रविधि वरदान भएरआएको छ। अस्ति भर्खरैको युगलाई फड्को मारेर आज म कहाँबाट कहाँ आइपुगिसकी छु, भन्ने आभासले म कृतज्ञ हुन्छु प्रविधिप्रति।
छक्क लाग्छ ती दिन सम्झिँदा , जम्मा २६ वर्ष त भएछ छोरी जन्मिएको। लेभरपेन सुरू भएपछि एम्बुलेन्स बोलाउन म आफैँ दगुरेकी थिएँ बनेपाका छिमेकी बुद्धभक्त दाइको घरमा। घरपट्टीको पनि टेलिफोन थिएन। कि त तल सडकमै जानुपर्थ्यो पिसिओमा। सुभाष सर टाइफाइड भएर ओछ्यानमा इन्तुनचिन्तुको अवस्थामा हुनुहुन्थ्यो अनि त कसलाई देखाउनु पीडा। दुःख देखाउने ठाउँ नहुँदा त दुःख नै शक्ति बनेर उठ्दो रहेछ। मनभरि छरिएको छ अतीतको सूर्य। टाउको राखेर रूने ठाउँभन्दा आँसु झार्दै भए पनि टाउको उठाएर हिँडेको दिन मलाई अझ शक्तिशाली लाग्न थालेको छ। कसैसँग गुनासो नहुनु जस्तो काइदा केही हैन रहेछ। त्योबेला सायद म गुनासो रहित अवस्थामा थिएँ। त्यसैले त त्योबेला पनि अभाव, अँध्यारो र असुविधाले मलाई लडाउन सकेन।
भान्सामा काम गर्दैछु। भान्साको सङ्गीत सुनेर छोरी पनि आउँछे। क्यासेट बजिरहेको छ। आज जाँगर चलाएर चलाएकी छु ती पुराना क्यासेटहरू। कुनै क्यासेटको रिल फुत्किएका छन्। मिलाउँछु। मीमांसा भन्छे, 'मामू यो पुरानो क्यासेटहरू किन राखिरा फालिदिनू अब त ! अति भयो। गीत सुन्ने खुब रहर छ हजुरको, पखिस्यो म एलेक्सा ल्याइदिन्छु। अनि त बोलेर नै अराउनू एलेक्सालाई। हातमा ती क्यासेट उठाउँदै नाक खुम्च्याउँदै भन्छे, 'हजुर यो सुन्निसिन्छ र! युट्युबबाट जति पनि गीत सुन्न पाइन्छ त ! कसले यो झन्झट गरोस् अब।'
'छोरीलाई भन्छु नानू यो आवाज कसको हो पत्ता लगाऊ है त।' क्यासेट प्लेयर बज्नथाल्छ।
'छोटे..छोटे गईया छोटे...छोटे ग्वाल छोटो छ मेरो मदन गोपाल ... ए फर एप्पल बि फर बोल ..सी फोर क्याट ...।'
'लौ मामू यो कसको बोली हो ?' छोरीलाई हेर्दै भन्छु 'यो बोली तिम्रो हो मिमि। आजको जस्तो मोबाइल हुँदो हो त म भिडिओ बनाएर राख्ने थिएँ तर त्यो समयमा पनि मैले खाली क्यासेट किनेर तिम्रो बालबोली भरेको थिएँ ... सुन आफ्नो बोली ...।'
छोरी र म दङ्ग परेर अतीतको अमूल्य उपहारमा हराएका थियौँ।
मोबाइलबाट एउटा आवाज आयो, 'अब यो सब कुराको झन्झट गर्नै पर्दैन। तिमीहरू एआईको संसारमा छौ। छोरीको मात्र किन म छोरीको आमाको पनि सानोको बोली बजाएर सुनाउनसक्छु। सुन्ने हो? तिमीहरूलाई सानो बच्चा बनाएर नचाउन पनि सक्छु। चाहन्छौ भनेँ तिमीहरूलाई तिमीहरूकै आमाको गर्भभित्र पुर्याएर पनि देखाउन सक्छु। तिमीहरूको बृद्ध अवस्थाको अनुहार र बोली पनि बजाएर सुनाउन सक्छु अनि थाहा छ अर्को हस्यको कुरा, म तिमीहरूको मृत्युपछिको संसार पनि देखाइदिनसक्छु। लु भन तिमीहरू के सुन्न चाहन्छौ, म त्यही समयमा पुर्याइदिन्छु। छोरी र म हातभरि अतीतका क्यासेट लिएर एकअर्कालाई नियाल्छौँ ...।