पहिले पनि अभिभावकत्व कठिन थियो। तर आजको अभिभावकत्व जटिल छ। कठिनाइ भनेको सायद काम धेरै हुनु वा गर्न गाह्रो हुनु हो। तर जटिल भनेको सही निर्णय लिनै मुस्किल पर्नु समेत हो।
अहिलेका अभिभावकले बच्चालाई खाना, लुगा र विद्यालय मात्र पुर्याएर पुग्दैन। उनीहरूले डिजिटल संसार, मानसिक स्वास्थ्य, बदलिँदो सामाजिक मूल्य, भविष्यको अनिश्चितता र निरन्तर बढ्दो अपेक्षाबीच सन्तुलन मिलाउनुपर्छ।
हामी प्रायः सुन्ने गर्छौँ, ‘हाम्रा बुबाआमाले त सजिलै हुर्काए। अहिले किन यति गाह्रो?’ यसको उत्तर समयको परिवर्तनमा लुकेको छ।
आजको बाल्यकाल हिजोको भन्दा पूर्णतः फरक छ। त्यसैले अभिभावकत्व पनि फरक हुनु स्वाभाविक छ। यस्तो अवस्थामा कसरी बन्ने असल अभिभावक भन्नुभन्दा पनि पहिले असल अभिभावकत्व जटिल बन्दै जानुका कारणहरू बुझ्न जरुरी छ।
१. डिजिटल संसार
केही दशक अघिसम्म पनि बच्चाको संसार घर, विद्यालय र साथीसम्म सीमित थियो। आज एउटा मोबाइल फोनले संसारलाई बच्चाको हातमा ल्याइदिएको छ। ज्ञानसँगै हिंसा, गलत सूचना, अश्लील सामग्री, साइबर दुर्व्यवहार र अनियन्त्रित मनोरञ्जन पनि त्यही उपकरणमार्फत बाल मस्तिष्कमा पुग्छ।
यस्तो अवस्थामा अभिभावकले न बच्चालाई मोबाइलबाट पूरै वञ्चित राख्न सक्छन् न त निर्धक्क मोबाइलसितै छोडिदिन नै। आजको अभिभावकसमक्ष बच्चालाई घर बाहिरको संसारबाट भन्दा पनि मोबाइल भित्रको डिजिटल संसारबाट सुरक्षित राख्नु चुनौतीपूर्ण बन्दै गएको छ।
२. जानकारी धेरै, स्पष्टता कम
आजका अभिभावकसँग जानकारीको कमी छैन। समस्या त उल्टो छ— जानकारी अत्यधिक छ। एउटाले चिनी नदिनू भन्छ, अर्कोले सख्खरमा झन् बढी सुगर हुन्छ भन्छ। कसैले कडा अनुशासनको पक्ष लिन्छ भने कसैले पूर्ण स्वतन्त्रताको। सामाजिक सञ्जालका छोटा-छोटा भिडियोले हामीलाई झन् भ्रम बढाइदिन्छन्। धेरै जानकारीबीच सही कुरा के हो भनेर बच्चाले हैन, अभिभाव स्वयंले छान्न सकिरहेका छैनन्। यसले अभिभावक आफैँ अलमलिएको अवस्था छ।
३. समयको अभाव
धेरै परिवारमा दुवै अभिभावक काममा व्यस्त हुन्छन्। आर्थिक आवश्यकता बढ्दै जाँदा परिवारसँग बिताउने समय घट्दै गएको छ। बच्चाले प्रायः महँगा खेलौना भन्दा अभिभावकको समय खोज्छ। तर आज समय नै सबैभन्दा दुर्लभ स्रोत बनेको छ। कति अभिभावकले नबुझेर बच्चालाई समय दिन सकिरहेका छैनन् त कतिले बाध्यतावश समय दिन भ्याइरहेका छैनन्। कारण जे भए पनि बच्चा अभिभावकसितको गुणात्मक समय र भावनात्मक सम्बन्ध दुबैबाट टाढिँदै गइरहेको छ।
४. तुलनात्मक संस्कृतिको दबाब
आजको सामाजिक संरचना र सञ्जाल दुवैले अभिभावकको दिमागमा आफ्ना बच्चा कस्ता छन् भन्ने कुरा अरूका सफलता र असफलताका आधारमा खुट्टाउन प्रेरित गरिरहेका छन्। अभिभावकले निरपेक्ष रूपमा आफ्ना छोराछोरीलाई हेर्नै पाउँदैनन्। कसैको बच्चाले पुरस्कार जितेको, कसैले पाँच वर्षमै तीन भाषा सिकेको, कसैले राष्ट्रिय प्रतियोगिता जितेको दृश्य देखेर आफ्नै बच्चालाई तुलना गर्ने प्रवृत्ति बढेको छ। यसले बच्चामाथि मात्र होइन, अभिभावकमाथि पनि अनावश्यक मानसिक दबाब सिर्जना थोपरिरहेको छ। तुलनाको यो मानसिकता असल अभिभावकत्वको अर्को चुनौती हो।
५. अनिश्चित भविष्य
आज पढिरहेका धेरै बालबालिकाले भविष्यमा गर्ने केही पेसा अझै अस्तित्वमै छैनन्। कतिले आज जे पढिरहेका छन् त्यससम्बन्धी पेसा भविष्यमा रहने हुन् कि नरहने हुन् भन्ने पत्तो छैन। कृत्रिम बुद्धिमत्ता, स्वचालन र प्रविधिको तीव्र विकासले रोजगारीका स्वरूप तीव्र रूपमा बदलिरहेका छन्। यस्तो अवस्थामा अभिभावकले बच्चालाई के सिकाउने भन्ने प्रश्न झन् कठिन बनेको छ। अंकभन्दा पनि सोच, समस्या समाधान, सहकार्य र अनुकूलन क्षमता महत्त्वपूर्ण बन्दै गएका छन्।
६. बढ्दो मानसिक स्वास्थ्य चुनौती
तनाव अघिल्ला पुस्तामा पनि थियो, त्यसअघि पनि थियो। तर त्यसको मात्रा र प्रकृति आजको जस्तो थिएन। त्यसबारे खुला रूपमा कुरा पनि कमै हुन्थ्यो। आजका बालबालिका भावनात्मक रूपमा एक्लिएका मात्र छैनन् उनीहरूका खानपान र रहनसहनले शारीरिक तथा मानसिक स्वास्थ्य चुनौती पनि थपिएका छन्।
आर्थिक दबाब, पारिवारिक कलह तथा विखण्डन, वैदेशिक रोजगारी आदिको बदलिँदो स्वरूपले अभिभावक स्वयं मानसिक स्वास्थ्य चुनौतीको सामना गरिरहेका छन्। यस्तोमा हरेक अभिभावकले आफ्ना बालबच्चाको शारीरिक स्वास्थ्यसँगै भावनात्मक र मानसिक सुरक्षामा पनि ध्यान दिनुपर्ने भएको छ।
७. सानो र एक्लो परिवार
पहिले बच्चा हुर्काउने जिम्मेवारी साझाजस्तै हुन्थ्यो। हजुरबा–हजुरआमा, काका–काकी, छिमेकी सबैको साथ पाइन्थ्यो। अहिले धेरै परिवार सानो र एक्लो छ। यसले एक वा दुई अभिभावकमाथि सम्पूर्ण जिम्मेवारी थपिएको छ। सानो परिवारमा बच्चाले पनि फराकिलो सामाजिक सम्बन्धको अभ्यास अनुभूत गर्नै पाउँदैन।
हजुरबा–हजुरआमासँगको नियमित संगत, दाजुभाइ–दिदीबहिनी वा आफन्तसँगको दैनिक अन्तरक्रिया घट्दा धैर्य, बाँडेर खाने बानी, फरक उमेरका मानिससँग घुलमिल हुने सीप र पारिवारिक संस्कार सिक्ने अवसर पनि सीमित हुन पुगेको छ। त्यसैले आजका अभिभावकले आफैँले समय निकालेर बच्चालाई विस्तारित परिवार, समुदाय र सामाजिक गतिविधिसँग जोड्ने प्रयास गर्नु थप दायित्व बनेको छ।
८. सफलता मापनको साँघुरो सोच
आज पनि धेरै परिवारमा राम्रो अंक, राम्रो कलेज र राम्रो जागिरलाई मात्र सफलताको मापदण्ड मान्ने प्रवृत्ति छ। तर दुनियाँमा अबको माग भने सहानुभूति, चरित्र, असल नेतृत्व, सृजनशीलता, सञ्चार सीप र जीवन सीप आदिको ज्यादा छ। अब बिस्तारै जीवनसाथी रोज्ने वा खोज्ने सवालमा पनि यही लागू हुने अवस्था बन्दै गएको छ। तर यो तथ्यलाई नबुझी बच्चाको समग्र विकासलाई हेर्न नसक्दा अभिभावक र बच्चाबीच अनावश्यक तनाव बढ्नु सक्छ। यो तथ्यलाई मनन गरेर आफ्नो अवधारणा बदल्नु आजका अभिभावको अर्को चुनौती हो।
९. अनुशासन र स्वतन्त्रताको सन्तुलन
बालबालिकालाई कति माया दिने र कति अनुशासनमा राख्न खोज्ने भन्नेमा धेरै अभिभावक अस्पष्ट रहेको पाइन्छ। कति नियन्त्रण गर्ने? कति स्वतन्त्रता दिने? मोबाइल कति समय चलाउन दिने? घरको काममा कति लगाउने? साथी छनोटमा कति हस्तक्षेप गर्ने? उनीहरूका कुन-कुन मागलाई अस्वीकार गर्ने? यी प्रश्नको एउटै उत्तर छैन। प्रत्येक बच्चा फरक हुन्छ। यही कारणले आज अभिभावकत्व नियमभन्दा बढी सुझबुझ र विवेकमा चल्नुपर्ने अवस्था छ।
१०. आचरण सिकाउने चुनौती
बालबालिकाले ठुलाको बोलीभन्दा व्यवहारबाट धेरै सिक्छन्। यदि घरमा सबै मोबाइलमै व्यस्त छन् भने ‘मोबाइल कम चलाऊ’ भन्ने सल्लाह दिनुको कुनै अर्थ हुँदैन। अभिभावक आफैँ बच्चाको पहिलो पाठ्यपुस्तक हुन्। आजको अभिभावकत्व भनेको निर्देशनभन्दा पनि आफैँ उदाहरण बन्ने क्षमता हो। तर आज हामी अभिभावक आफैँ वा विद्यालयका शिक्षकहरू पनि त्यति आचरणमा रहन सकेका छैनौँ जति हामी बालबालिकाबाट अपेक्षा राख्छौँ। यस्तोमा आफैँ नसुध्रिई बालबालिकालाई मात्र सुधार्छु भनेर चाहनु असम्भव जस्तै हो।
समाधान के?
जटिलता बढेको छ भन्दैमा अभिभावकत्व असम्भव भएको होइन। आजको आवश्यकता ‘पूर्ण अभिभावक’ बन्न खोज्नु होइन बरु ‘सिकिरहने अभिभावक’ बन्नु हो। बच्चाको कुरा धैर्यपूर्वक सुन्ने, समय दिने, डिजिटल संसार बुझ्ने, गल्ती स्विकार्ने र आवश्यक पर्दा विशेषज्ञसँग सहयोग लिन सक्ने अभिभावक नै आजको समयका सफल अभिभावक हुन्।
बच्चालाई भविष्यका लागि तयार पार्ने सबैभन्दा ठुलो शक्ति महँगो विद्यालय, धेरै ट्युसन वा अत्याधुनिक प्रविधि मात्र होइनन्। सुरक्षित सम्बन्ध, विश्वास, संवाद र माया हुन्। संसार जतिसुकै बदलियोस्, यी आधारभूत मूल्यहरू कहिल्यै पुराना हुँदैनन्। कम्तीमा यति कुरामा हरेक अभिभावक स्पष्ट हुनै पर्छ।
आजको अभिभावकत्व जटिल अवश्य छ तर यही जटिलताभित्र एउटा ठुलो अवसर पनि छ। हामीले बच्चालाई केवल सफल होइन, संवेदनशील, जिम्मेवार र जिज्ञासु नागरिक बनाउन सक्यौँ भने त्यो नै हाम्रो अभिभावकत्वको सबैभन्दा ठुलो सफलता हुनेछ।