नेपाल र मलेसियाबीच नेपाली श्रमिकको छनोट तथा भर्ना प्रक्रियामा देखिएको विवाद समाधान गर्न सरकारले कूटनीतिक पहल अघि बढाएको छ।
नेपालले मलेसियासमक्ष संयुक्त कार्यदल (ज्वाइन्ट वर्किङ ग्रुप–जेडब्लुजी) को बैठक काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको छ।
परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियाली पक्षलाई औपचारिक पत्राचार गर्दै श्रमिक भर्ना प्रणाली (एफडब्लुसीएमएस) लगायत श्रम आप्रवासन क्षेत्रका विभिन्न विषयमा द्विपक्षीय छलफल गर्न प्रस्ताव गरेको हो।
नेपालले बैठकका लागि सन् २०२६ नोभेम्बर १८–१९ वा डिसेम्बर २–३ को मिति प्रस्ताव गरेको छ। मलेसियाली पक्षको अनुकूलताअनुसार बैठकको मिति तय गर्न सकिने नेपालको प्रस्ताव छ।
नेपालले नयाँ व्यवस्था तय नभएसम्म हाल सञ्चालनमा रहेको श्रमिक भर्ना प्रक्रियालाई निरन्तरता दिनुपर्ने धारणा पनि राखेको छ।
श्रमिक भर्नामा निरन्तरता, पूर्वानुमानयोग्यता र सहजता कायम राख्न दुवै देशबीच सहमति आवश्यक रहेको नेपालको जोड छ।
गत अक्टोबर १५ देखि मलेसिया जाने नेपाली कामदारका लागि नयाँ भिसा जारी नभएको र मेडिकल प्रक्रिया समेत प्रभावित भएको अवस्थामा नेपालले कूटनीतिक संवाद अघि बढाएको हो। यसले मलेसियामा नेपाली कामदारको नयाँ भर्ना प्रक्रियामा अन्योल बढाएको छ।
प्रस्तावित बैठकमा श्रमिक छनोट तथा भर्ना प्रक्रियालाई व्यवस्थित, पारदर्शी र श्रमिकमैत्री बनाउने विषयमा छलफल हुनेछ। साथै, सन् २०१८ मा नेपाल र मलेसियाबीच सम्पन्न श्रमसम्बन्धी समझदारीपत्र नवीकरणका लागि तयार गरिएको मस्यौदालाई अन्तिम रूप दिने विषय पनि बैठकको कार्यसूचीमा रहने अपेक्षा गरिएको छ।
नेपाल सरकारले मलेसियासँगको दीर्घकालीन श्रम सहकार्यलाई महत्त्व दिँदै नेपाली श्रमिकको हित संरक्षण, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारीको प्रवर्द्धन र दुवै देशको साझा हितअनुकूल श्रम सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
मलेसिया जाने नेपाली कामदारको नयाँ भिसा र मेडिकल प्रक्रिया ठप्प
गत अक्टोबर १५ देखि मलेसिया रोजगारीमा जान चाहने नेपाली कामदारका लागि नयाँ भिसा जारी नभएको र स्वास्थ्य परीक्षण (मेडिकल) प्रक्रिया समेत बन्द रहेको बताइएको छ।
यसका कारण मलेसियामा नेपाली कामदारको नयाँ भर्ना प्रक्रिया प्रभावित भएको छ।
मलेसिया–नेपाल श्रमिक भर्ना प्रणाली (एफडब्ल्यूसिएमएस) सम्बन्धी विवाद चर्किरहेका बेला नयाँ भिसा जारी नहुनु र मेडिकल प्रक्रिया बन्द हुनुले वैदेशिक रोजगार व्यवसाय थप अन्योलमा परेको छ। यसबाट मलेसिया जाने तयारीमा रहेका कामदार र वैदेशिक रोजगार व्यवसायी दुवै प्रभावित भएका छन्।
नयाँ भर्ना प्रक्रिया नियमित हुन नसक्दा कामदारको रोजगारी प्रक्रिया, म्यानपावर व्यवसायको कारोबार र नेपाल–मलेसिया श्रम सम्बन्धमा समेत असर पर्ने देखिएको छ।
यस समस्याको समाधानका लागि सम्बन्धित निकायबीच कूटनीतिक संवाद र समन्वय आवश्यक देखिएको छ।