नियात्रा
संयुक्त राज्य अमेरिकाको मुटु मानिने न्यूयोर्क सहरलाई त्यहाँका रैथानेहरू 'बिग एप्पल' अर्थात् 'ठूलो स्याउ' भन्दा रहेछन्। यो सहर राति होस् वा दिन कहिले नसुत्ने सधैं जागा रहने विचित्रको सहर रहेछ।
हाम्रो टोलीका छजना सदस्य 'ठूलो स्याउ' को रसपान गर्दै थियौं। साथमा थिए मेरी पत्नी सपना, छोरी साधना, ज्वाइँ प्रकाश, नाति प्रशम र सानी नातिनी सान्भी। हाम्रा दुई जना भुराहरू पनि हामीसितै रमाइरहेका थिए।
ह्युस्टनको जर्जबुस इन्टरनेसनल एयरपोर्टमा प्लेन चढेर न्यूयोर्कमा अवतरण गर्दा हामीलाई झण्डै तीन घण्टा जति लागेको हुँदो हो। एयरपोर्टबाट फुत्त बाहिर निस्केर एउटा उभर लिई हामी त्यहाँको म्यारियट होटलतिर हानियौं। दैव संयोग उभर चलाउने पनि नेपाली नै परेछन्, सुरूमा त उनले नेपाली बोल्न खोजेनन् तर हामीले हाउभाउबाट नेपाली भन्ने चिनिहाल्यौं। पछि त उनी हामीसित खुलेर बोल्न थाले, उनी अमृत साइन्स कलेजमा बी.एस्सी पढ्दा पढ्दै ठूलो सपना बोकेर अमेरिका छिरेका रहेछन्, अचेल उभर चलाएर चुलो तताउने काम गर्दा रहेछन्।
होटल पुगेर नुहाइधुवाइ गरी तल उत्रेपछि थाहा भयो, ब्रेकफास्टको समयले पखेट हालिसकेछ। हामीले गुगलमा नजिकको नेपाली रेस्टुरेन्टको खोजी गर्यौं। ज्वाइँ साहेबले एउटा कार रेन्टमा लिइस्यो, त्यो लिएर हामी सहरका विभिन्न ठाउँ चाहर्दै एउटा नेपाली रेस्टुरेन्ट पुग्यौं।
त्यो नेपाली रेस्टुरेन्टमा खाना खान गएका मानिसहरूको निकै ठूलो भीड थियो। त्यसदिन त्यहाँ नेपालीभन्दा इन्डियन र कुइरेहरू नै बढी देखिन्थे।
त्यसै बीच एक जना बूढा मानिसले आएर अंग्रेजीमा केही कुरा सोध्नुभयो। रेस्टुरेन्टवालाले उहाँलाई सिटमा बसिदिन आग्रह गरे। ती बुढा मानिस बस्नुभयो, उहाँले खाना खाएर होटलवालालाई धन्यवाद दिँदै बाहिरिनुभयो।
उहाँले पैसा नतिरी हिँड्नुभएको देख्दा मलाई खसखस लागेर सोधिहालें, 'कसैकसैले पैसा नभएका मानिसका लागि खाना डोनेट गरेर राखिदिएका हुन्छन्। यहाँ कसैले एउटा खाना खान्छन् अनि तीन वटा खानाको पैसा तिर्छन्, हामी त्यो दुई खाना सहयोग स्वरूपको खाना खोज्नेलाई दिन्छौं।'
रेस्टुरेन्टवाला भाइले बताउनु भयो।
म त्यहाँका मानिसको इमानदारी महसुस गरेर तीन छक्क परें। सोचें नेपालमा पनि त्यसरी सस्क्राइब गर्ने गरिएको भए के हुन्थ्यो होला?
कुइरे कुइरीको एउटा जोडी हामीभन्दा ठिक सामुको मेचमा बसेर खुव मीठो मानेर दालभात तरकारीको स्वाद लिइरहेका देखिन्थे। कालो मासको दाल, बास्मती चामलको भात, टमाटर पोलेर टिमुर हाली बनाएको चटनी, खसीको ग्रेभी सिकार, पापड र अरू सलादले हामीलाई त्यहाँ स्वागत गरेको थियो।
'नेपाल कुन जग्गाबाट आउनु भएको हजुरहरू?' तामाङ, शेर्पाजस्तो एसेन्टमा होटलवालाले हामीलाई सोध्नुभयो।
'हाम्रो नेपालमा चाहिँ घर पहिले विराटनगरतिर हो अचेल चाहिँ काठमाडौं हो,' मैले भनेँ।
'काठमाडौंमा चाहिँ कहाँ?' प्रश्न आयो।
मैले भनेँ, ' बागमतीनगर, गुहेश्वरी मन्दिर नजिकै प्लानिङमा।'
'मोक्षदा स्कुल छ नि,' उहाँले भन्नुभयो। उहाँको भनाइ पूरा हुन नपाउँदै मैले भने, 'हो , ठ्याक्कै त्यसैका छेउमा।'
मेरा कुरा सुनेर उहाँले भन्नुभयो, 'मेरो पनि अरूणिमा स्कुलभन्दा अलि उत्तरतिर हो, छिमेकी नै पो पर्नुभएछ। ल, नेपाली खानाको स्वाद राम्ररी लिनुहोला।'
'नेपाली मात्र त आउने होइन रहेछन् त यहाँ?' मैले जिज्ञासा राखें।
उहाँले भन्नुभयो, 'इन्डियन, युरोपियन र अमेरिकनहरू पनि आउँछन् नेपाली त आइहाल्छन् नि।'
मैले उहाँलाई नाम सोधें। उहाँको नाम वङ्दी शेर्पा रहेछ। उहाँ विगत १५ वर्षदेखि त्यहाँ काम गर्नुहुँदो रहेछ। हामीले जिभ्रो फडकारी फड्कारी थकाली खाना खायौं।
यति भनेर छोरीले छ ओटा खानाको त्यहीको एउटा मेसिनमा कार्ड घोटेर पैसा तिरी, अनि रेस्टुरेन्टलाई बाइ गरेर हामी टाइम्स स्क्वायरको रमझम हेर्न हामी बाटो लाग्यौं।
न्यूयोर्कमा अरू कुरा त सजिलै हो तर पार्किङ पाउन त्यहाँ महाभारत नै रहेछ। बल्लबल्ल एउटा पार्किङ लटमा गाडी राखेर हामी छजना सडक नाप्न थाल्यौं।
टाइम्स स्क्वायरमा साँझ नपरी कुनै रमझम नहुने रहेछ। हामी पुग्दा त्यहाँ छिटफुट रूपमा मात्र मानिसहरू देखिन्थे। त्यसपछि टाइम्स स्क्वायरलाई त्यहीँ छाडेर हामी भूमिगत मेट्रो चढ्न हिँड्यौं, दुई घण्टा जति मेट्रो चढेपछि साँझको छ बज्न लागेको थियो, हामी फेरि टाइम्स स्क्वायर नै फर्कियौं। त्यसबेला त्यो उज्यालो ट्राफिक र विशाल डिजिटल बोर्डहरूले टाइम्स स्क्वायर झकिझकाउ भइसकेको रहेछ। जताततै विविध विज्ञापनका बोर्डहरूले झल्याकझिलिक मल्याक मिलिक, कतै बाजा बजाएर मानिसहरू सडकपेटी नजिक गीत गाइरहेका, कतै सडकका नजिकै बसेर मानिसहरू खाइरहेका, कोही गोरा, कोही काला, कोही एसियन किसिम किसिमका मानिसहरूको भीडभाड थियो। त्यसबेला त्यो साँच्चै रमितलाग्दो देखिन्थ्यो। हामीले त्यहाँको वातावरण निकैबेर नियाल्यौं।
हामी त्यहाँ अरू कसैका अनुहारमा नहेरी बाटो हेरेर हिँडेका थियौं। जताततै अश्वेतहरू देखिन्थे। न्यूयोर्कका अश्वेतहरू निकै खतरनाक हुन्छन् भन्ने सुनेको थिएँ। आफ्नो अनुहार हेरिदिएको भरमा दिनहुँ अश्वेतहरूले गोली चलाएर मृत्यु भएका कैयौं घटना पनि त्यहाँ नौला हुँदा रहेनछन्।
एक जना साथीले भन्नुभएको थियो, 'न्यूयोर्कमा घुम्दा कालेहरूसित आँखाचाहिँ नजुधाउनु होला है।' उहाँको भनाइ कानमा गुन्जेजस्तो भयो। टाइम्स स्क्वायरको रामसमिता आँखाभरि सँगालेर साँझको खाना खाने बेलामा हामी होटल मेरियट फर्कियौं।
भोलिपल्ट नौ बजेतिर सहरका महत्वपूर्ण ठाउँ हेर्न हामी फेरि बाटो लाग्यौं। जाँदाजाँदै एक ठाउँमा सबै भारतीयहरू जस्ता मानिस देखिन्थे। त्यहाँ जताततै पर्खालका छेउमा पान चबाएर थुकेका राता दाग देखिन्थे। पान पसलहरू पनि निकै देखिन्थे। लाग्यो हामी अमेरिकाको विहार, बंगाल र युपीमा थियौं।
त्यहाँबाट अगाडि बढ्दै जाँदा हामी चाइना टाउन भन्ने ठाउँमा पुग्यौं। चाइनिज महिला र पुरूषहरू विविध पेसा व्यवसाय गरेर बसेका हुँदा रहेछन्। त्यहाँका साइन बोर्डहरू पनि चिनियाँ भाषामा देखिन्थे। मलाई लाग्यो यस सहरलाई त्यसै 'ठूलो स्याउ' भनेका होइन रहेछन्। यहाँ जुन ठाउँबाट आएका मानिस पनि बडो बजाले अटाउन सक्ने यसलाई कमलो मानेर जीविकोपार्जन गर्न सक्ने रहेछन्। तब न ठूलो स्याउ।
विश्वको सांस्कृतिक, आर्थिक र मनोरञ्जनको केन्द्र नै रहेछ यो सहर। यस सहरमा भएको विशाल स्काइलाइन। यहाँका प्रमुख गन्तव्यमा स्ट्याच्यू अफ लिबर्टी, टाइम्स स्क्वायर, वा विश्व प्रसिद्ध एम्पायर स्टेट बिल्डिङले यस सहरको सौन्दर्यलाई थप सिंगारपटार गर्दारहेछन्। यहाँका सिटी पार्कहरू, संग्रहालय र अनगिन्ती सडक व्यस्तताले यसमा रौनकता थपिदिएकोजस्तो लाग्छ। सहरको इतिहास, यहाँको विविधता, गतिशीलताले सहरको सौन्दर्य बढाइदिएका रहेछन्।
विश्वभरिबाट आफ्नो भाषा, संस्कृति र धर्म र रीतिरिवाज लिएर यहाँ आएका मानिसहरू आफ्नै पनमा, आफ्नै वेशभूषामा विविध पेसा व्यवसाय गरी रमाएर बसेका रहेछन्। संसारभरिका मानिसहरु जहाँबाट जो जो आए पनि यहाँ आफूले जानेको पेसा अपनाएर पेट पालो गर्दारहेछन्।
सहरको सौन्दर्यमा मोहकता थपिदिने यहाँको एम्पायर स्टेट बिल्डिङ, क्रिस्टल टावर जस्ता आधुनिक संरचनाहरूलाई त जति हेरे, जति भोगे पनि मन नअघाउने। यहाँको एउटा टावरमाथि चढेर हामीले न्यूयोर्क सहरलाई नियाल्यौं। वरिपरि हेरेर सपनाले भनिन्, 'यहाँबाट हेर्दा सहर नै ठूलो स्याउ जस्तो देखिँदो रहेछ र पो बिग एप्पल भनेका रहेछन् न्यूयोर्क सहरलाई।'
'न्यूयोर्क आएपछि त स्ट्याच्यू अफ लिबर्टी पनि हेर्नुपर्ने। कहाँ पर्ने रहेछ त्यो? ' मैले हाम्रा ज्वाइँ साहेबसित जिज्ञासा राखें।
'भोलि जाने त्यहाँ मोटरबोटबाट जानुपर्दछ। स्ट्याच्यू अफ लिबर्टी हेर्ने पालो भोलि है बुवा। ' ज्वाइँ साहेबले हाँसेर भन्नुभयो।
मैले स्वीकार सूचक टाउको हल्लाएँ।
म चुपचाप भोलिको प्रतीक्षा गर्न थालें।
भोलिपल्ट हडसन नदीका किनारामा एउटा लामो लाइन लागेको थियो। त्यस लाइनबाट गएर मोटरबोटको टिकट लिनुपर्ने रहेछ, टिकट लिएर सय जना जति अटाउने जहाज चढेर नदीमाथि माथि तैरिँदै हामी स्वतन्त्रताको प्रतीक, यी विशाल प्रतिमा नयाँ यात्रुहरूको पहिलो आकर्षण स्ट्याच्यू अफ लिभर्टीका नजिक पुग्यौं। त्यसलाई हामीले आँखाभरि हेरेर जोगायौं। अनि जुन जहाजबाट त्यसका नजिक पुगेका थियौं, त्यहाँ नउत्री त्यसैबाट हामी फर्केर पहिलेकै ठाउँमा पुग्यौं।
न्यू योर्कमा मानिसहरूको हर्दम दौडधूप, सडकको व्यस्तता र सहरको जीवन्तताको अनौठो महसुस हुँदोरहेछ। यहाँका सिटी पार्कहरू र न्युयोर्क सहर सुन्दर देखिने ब्रुकलिन ब्रिज निकै मन पर्दा लागे। सहरको मुटुमा बग्ने विशाल हडसन नदीले मानिसलाई शीतल र शान्ति दिँदोरहेछ जस्तो लाग्यो।
हरियालीले झकिझकाउ सुन्दर र शान्त ठाउँ रहेछ सेन्ट्रल पार्क। पैदल यात्रा, साइक्लिङ र विविध मनोरञ्जनका लागि यो स्वर्गको टुक्रो खत्रक्क झरेजस्तै लाग्यो।
न्यूयोर्क गएका बखत हेर्न छुटाउन नहुने यस महानगरको कला संग्रहालय पनि एक रहेछ। यस संग्रहालयमा विविध ऐतिहासिक कलाकृति संरक्षण गरिएको रहेछ। त्यसैगरी सहरको ब्रुकलिन पुलबाट न्यूयोर्क सहरलाई नियाल्दा देखिने अलौकिक दृश्यले कसको मन नभरिएला र!
न्यूयोर्कमा चार दिन बस्दा कोलम्बिया विश्वविद्यालयका प्राध्यापक मेरा मित्र डा. तारानिधि निरौलाको पनि निकै खोजी गरें, तर उहाँसित कसैगरी सम्पर्क हुन सकेन। त्यसैगरी त्यतै बस्ने मेरी मेधावी छात्रा अनिमा घिमिरेलाई पनि सम्झिएँ। उनीहरू कसैसित सम्पर्क हुन नसक्दा निकै खिन्न भएँ।
सहरका चप्पाचप्पा चाहारिसकेर चार दिनपछि हामी ठूलो स्याउलाई फेरि कुनै दिन भेटौंला भन्दै टेक्सास फर्किन एयरपोर्टतिर लाग्यौं।