बालकालकै कुरो। बाले किनेर ल्याएको टेपरेकर्डर प्रायः बार्दलीमा झुण्डिरहन्थ्यो। अनि म त्यही टेपरेकर्डरमा।
त्यसमा म्युजिक नेपालले रेकर्ड गरेको क्यासेटमा होस् या रेडियो नेपालको प्रसारणमा, एउटा डेउडा गीत खुब गुन्जिन्थ्यो।
गीतको पंक्तिमा पहिले गायक नन्दकृष्ण जोशीले र त्यसपछि मादल अनि मुरलीको तालमा कोरसले गाउँथे, 'नसुक्नु कर्णाली भिनाजु, आउँदा जाँदा पानी खाऔंला।'
गीतमा कुरा गरिएको कर्णालीकै सहायक नदी सेती किनारमा जन्मिएँ, हुर्किएँ। उसका छालहरूसँगै जीवनका छालहरूमा बग्दै गएँ। तैरिँदै गएँ। जुनसुकै गीतमा होस्, कर्णाली शब्द सुन्दा सेती गएर मिसिने कर्णाली कति भव्य र सुन्दर होलिन्? चासो हुन्थ्यो मनमा।
पचास सालतिर होला कर्णाली नदीमाथि पुल बन्यो। एक अग्लो खम्बामाथि लामो सुन्दर पुल ठडिएपछि सुदूरपश्चिम बाँकी नेपालसँग जोडियो। अब पूर्वी नेपाल आउजाउ गर्न भारतीय भूमि धाएर रेल चढ्न नपर्ने भयो।
समयसँगै मैले पनि उच्च शिक्षाका लागि यही कर्णाली तरेर काठमाडौं आउजाउ गर्नुपर्ने भयो। बालकालमै कानमा मधुर आवाज र मस्तिष्कमा गहिरो छाप बनेर बसेकी कर्णालीसँग रमाउन आउँदा जाँदा चिसापानीमा रोकिन्थेँ। डिलबाट शान्त बगिरहेकी कर्णालीलाई नियाल्थेँ। उनकै किनारमा उभिन्थेँ। स्मृतिलाई पुनर्ताजगी दिएर गन्तव्यतर्फ हानिन्थेँ।

तर २०८२ चैतको दोस्रो साता चिसापानी पुगेर कर्णालीलाई नियालिरहँदा भावुकताको भेल आएछ सायद। एकटकले डिलबाट कर्णालीलाई हेरिरहँदा मनमा प्रश्नका छालहरू कर्णालीका छाल झैं उठे। आखिर सागर भेट्ने अभिलाषा बोकेर यहाँसम्म आइपुग्न कर्णालीले कति भीर र चट्टानको अवरोध झेलिन् होला?
चट्टान पहरामा ठोकिँदाका पीडा सहँदै, भीर नाघेर अघि बढ्दाका खुसीमा छचल्किँदै यहाँसम्म आइपुग्दाको उनको भोगाइ कस्तो होला? बोल्न सक्ने भए कर्णाली कति मार्मिक शब्दमा सुनाउँदी हुन् भोगाइहरू? उनले त सुसेल्छिन् मात्र, मानव मनले बुझ्न नसक्ने गरी।
अर्को मनले सोचेँ, आखिर जीवन पनि कर्णालीले सामना गरेजस्तै संघर्ष, चोट र पीडा सहँदै अघि बढ्ने हो। मुटु दुखाउने चोटहरू। मनै रमाउने खुसीहरू। यात्राका आरोह–अवरोह। जीवनमा जे–जस्ता सुखदुःख भोग्नुपरे पनि कर्णालीझैं शान्त बगिरहनुपर्छ निरन्तर।
जीवन आफैमा पूर्ण छैन तर प्रकृतिजस्तै सुन्दर अवश्य छ। यस्तै अनुभूति गर्दै मनका भावनाहरू टिकटकमा पोस्ट्याएर नेपालगञ्ज हुँदै काठमाडौं फर्किएँ।
संयोग भनौं! एक सातापछि मेरो सरूवा कर्णाली प्रदेशको कालीकोटमा भयो। खाँडाचक्र नगरपालिकामा। अछाम सरूवा भएछ मित्र गणेश विक्रम शाहीको।
कमलबजार नगरपालिकामा। दुवैको जाने रूट एकाध घण्टा बाहेक झण्डै उही। राजधानीबाट नेपालगञ्ज–सुर्खेत–दैलेखको राकमसम्म। त्यहाँबाट छुट्टिने। राकमसम्म जाँदै गर्दा राराताल, रामारोशन अनि एकपटक चिसापानी हुँदै कर्णाली किनारै किनार हुम्लासम्म भ्रमण गर्ने योजना बुनियो।

रारा यात्रा
केही समयपछि पूर्वनिर्धारित योजनाबमोजिम रारा जान मित्र गणेश कालीकोट उक्लिए। म तम्तयारै थिएँ जोशिला भाइहरू जनक शर्मा र जागेश्वर भूसालका साथमा। खाँडाचक्रबाट अघि बढेको यात्राले खस राजधानी सिंजा हुँदै राराताल पुगेर विश्राम लियो।
मविवि (राजा महेन्द्र) शाहबाट स्वर्गकी अप्सरा उपमा पाएकी रारा साँच्चिकै अप्सरा रहिछन्। स्वच्छ पानी। फराकिलो ताल। तालमा पोखिएको आकाश। एकापट्टि बाक्लो हरियो जंगल। समतल फाँट। माथि मुर्मा टप। पर सुन्दर हिमालहरू। लोभ्याइरहने।
त्यतै बसिरहुँ जस्तो। एकटकले हेरिरहुँ जस्तो। तर, मनले चाहेझैँ बसिरहन, हेरिरहन र मन पर्ने दृश्यलाई सधैं अँगालिरहन कहाँ मिल्छ र जिन्दगीमा? आँखा र मोबाइलमा रारालाई कैद गर्दै फर्कियौं।
कर्णाली करिडोर
अर्को पटक हामी राजधानीबाट नेपालगञ्ज एयरपोर्ट झरेर पश्चिम चिसापानीतर्फ लाग्यौं। चिसापानीबाट अस्तिभन्दा बेगवान कर्णालीलाई दाहिने पार्दै कैलालीको मोहन्याल गाउँपालिका छोएर कर्णाली तीरैतीर उत्तरतर्फ उक्लियौं।
पहरा, घुम्तीहरू छिचोल्दै सरर बगेको कर्णाली करिडोर। सडक छेउमा सानासाना पसल अनि छाप्राहरू। कतै पहाड, कतै जंगल। कतै साना फाँटहरू, कतै कर्णाली भेट्न फाल हान्दै कुदेका स–साना खोलाहरू। सबै छिचोल्दै अघि बढिरह्यौं कर्णालीको विपरीत लयमा।
सडक यातायात नपुगेका बेला अछाम, दैलेख र कर्णालीका अरू जिल्लाबासीका लागि यो गोरेटो लाइफलाइन थियो। नून–तेलदेखि लत्ताकपडा किन्न हाट झर्ने बाटो यही थियो। मनभरि बैकिनीको माया साँचेर आँशु झार्दै हातमुख जोर्न बम्बई 'भासिने' बैकानहरूको आउजाउ गर्ने बाटो पनि यही थियो। त्यही गोरेटो आज फिलिली सडक बनिसकेछ।
कुरैकुरामा चालकले भने, 'त्यो बेला यत्तिको बाटो बनेको भए हामी बर्दिया बसाइँ सर्ने थिएनौं सर! बाटो थिएन, द्वन्द्वको त्रास उस्तै। कौडीको भाउमा घरखेत बेचेर थातथलो छोड्नुको विकल्पै थिएन।'
६२ सालतिर बर्दिया झरेका उनले अधिकांश रित्ता घर र बाँझा खेतहरू भएको पुर्ख्यौली गाउँ देखाए।

यता मेरा पैताला कुनै बेला पैदलै हिँडेका पुर्खाका डोबहरूले स्पर्श गरेझैं आभास गरिरहेका थिए। नाकले त्यो समयमा भारी बोकी आउजाउ गर्ने माण्ठहरूको पसिनाको गन्ध महसुस गरिरहेको थियो। आँखामा बम्बई भासिन विवश भई हिँडेका बैकान र बैकानसँग बिछोडिएकी बैकिनीका आँखाबाट बगेका आँशु प्रतिबिम्बित भइरहेका थिए।
कर्णाली आफ्नै सुरमा बगिरहेकी थिइन्। मेरो चञ्चल मन यस्तै यस्तै खयालहरूमा हराउँदै थियो।
खप्तड बाबाले भनेझैं प्रकाशको गतिभन्दा छिटो दौडिने मन घरी कता, घरी कता पुगिरहेको थियो।
उत्नीखेरै प्राकृतिक सुन्दरतामा रमाउने। तुरून्तै विकटता देखेर दुःखी हुने। एकैछिनमा विगत सम्झिँदै गम्भीर बन्ने। बेलाबेला कर्णाली करिडोरको सुस्त प्रगति नियाल्दै थकित हुने। छिनमै रित्ता घर र बाँझो बारी सम्झिएर निराश हुने।
महारथी अर्जुनले समेत वशमा राख्न नसकेको मनलाई लगाम लगाउन कहाँ सजिलो छ र? विविध कुरा सोच्दै, अनुभव गर्दै कर्णाली तीरैतीर कालीकोट पुगिएछ।
लिमी लाप्चाको यात्रा
सुर्खेतको वीरेन्द्रनगरमा मित्र विपिन आचार्यसँग भेट भयो। गफगाफका क्रममा लिमी लाप्चासम्म यात्रा गर्ने योजना सुनाइरहँदा उनी पनि यात्रामा सामेल हुन उत्साहित भए। सल्लाह अनुरूप विपिन सुर्खेतबाट कालीकोट उक्लिए। म मान्मबाट ऊर्जावान भाइ टंक थापालाई लिएर झरेँ। खुलालुमा भेट भयो।
खुलालुमा मष्टालाई सम्झिँदै कर्णाली करिडोर यात्राको दोस्रो भाग सुरू गरियो। नेपाली सेनाले छंगाछुर भीर छिचोलेर ट्रयाक खोलेपछि स्तरोन्नति हुँदै गरेको सडकमा अजङ पहाड र गाउँ बस्तीहरू नियाल्दै अघि बढ्दै थियौं। गाडी आफ्नै रफ्तारमा गुड्दै थियो।
हामी भने खस सभ्यताका मानकहरू, देउडा संस्कृतिका साधकहरू, इतिहासका पानाहरू, मार्सीका दानाहरूबारे गफिँदै गयौं। सान्नी त्रिवेणी गाउँपालिका पार भइसकिएछ।
कर्णालीमा मिसिन हस्याङ फस्याङ गर्दै बगेकी सान्नीगाड तरेपछि थाहा भयो रास्कोट नगरपालिकामा सुरु भइसकेछ। विपिनले रास्कोटको सन्दर्भ निकाल्दै देउडा सुरू गरेपछि गाडीभित्रको माहोल थप रोचक बन्यो।
उनको देउडाको पहिलो पंक्ति थियो—
'रास्कोट रसिलो जग्गा, सान्नी सेरोभेरो'
मैले थपेँ – 'भएईन मनका जसो, झल्को रैगो तेरो'
आहा कस्तो राम्रो देउडा? फेरी भन्नुस् त दाइ। टंक भाइले रौसिँदै भने।

माहोल देउडामय भएपछि के चाहियो र टुक्का जोड्न? त्यसैमाथि हौस्याउने भाइ टंक। एकछिनमै बाटामा गाई देख्दा विपिन भन्न थाले।
'भर्खरकी कोलडी होइनै, तँ बकिन्नी गाई होई।'
मैले थपेँ 'मन मुटु चुँडेर लिन्याँ, तैं निष्ठुरी साई होई।'
मष्टो, खस भाषा र देउडा खस सभ्यताका अमूल्य निधि हुन्। हामी मष्टाको आशीर्वादमा बाँच्छौं, खस भाषामा भावना साट्छौं, अनि डेउडामा सुखदुःख, मायाप्रीति, खुसी विरह पोख्छौं। हामी जताजता पुग्छौं, त्यहाँ मष्टो पुग्छ, अनि खस भाषा पुग्छ, सँगसँगै देउडा झुल्किन्छ। त्यसैले आज हुम्लादेखि न्यूयोर्कसम्म, दार्चुलादेखि लन्डनसम्म, दोधारादेखि सिड्नीसम्म देउडा गीत घन्किन्छ। किनकि हामी देउडामा रमाउँछौं। देउडामै हराउँछौं।
यात्रामा थुप्रै देउडाका टुक्का जोड्यौं, गुनगुनायौं, रमायौं। अप्ठ्यारो बाटोमा मष्टालाई सम्झियौं। पत्तै नपाई बाजुरा छिचोलिएछ। कवारी खोला तरेर हुम्ला प्रवेश गर्दा झमक्कै साँझ परिसकेछ। हामी उत्तर लाग्दै थियौं, कर्णाली दक्षिण बग्दै थिइन्। कर्णाली किनारकै होटलमा निदाएको चकमन्न रातमा कर्णाली सुसाइरहेकै थिइन् तर सुसाइ फरक थियो तलभन्दा।
लिमी लाप्चाको यात्रामा जाने दिन। सिमकोटबाट टोलीमा थपिए हुम्लाका प्रमुख जिल्ला अधिकारीको टोली। सिमकोटबाट दुई घण्टा मोटर यात्रापछि सल्ली पुग्दा मोबाइल नेटवर्कले काम गर्न छोड्यो। मोबाइलको कर्कश ध्वनिसँगै टिकटक र फेसबुकको कोलाहलबाट मुक्त भएपछि बल्ल सुनिन थाल्यो सल्ला र देवदारको सुसाइ।
समुद्री सतहबाट चार हजार मिटरमाथिका सुन्दर घाँसे मैदान। एकातिर क्याराभान चलचित्रमा एरिक भ्यालीले प्रस्तुत गरेझैं घाँसे मैदानमा चर्दै गरेका चौंरी र भेडाका बथान। अलि पर एउटै रंग र आकारका जंगली घोडाका झुण्ड।
चितवनमा जन्मिई हुर्किएर लिमी उपत्यकामा गाडी चलाइरहेका गुरूजीले भने, 'यिनै घोडा चढेर शिव पार्वती मानसरोवर आएका थिए अरे!'
हामी उनका कुरा रूचिपूर्वक सुन्दै र सोध्दै गयौं। लिमी आएपछि चितवन नफर्किएका उनलाई हिमालकी सुन्दरीसँग पिरती त बसेन भनी जिस्क्याउँदा खिसिक्क हाँसे मात्रै, केही बोलेनन्।
माथि निलो खुला आकाश। वरिपरि हिमशृंखला। बीचमा विशाल घाँसे मैदान। मैदान चिरेर कलकलाउँदै बगेका खोल्सा। हिमालका अमृतकण बोकेर बहने चिसो हावाको साउती। यस्तो प्रकृतिमा रमाउन पाउनुको आनन्द नै बेग्लै। करिब चारदेखि पाँच हजार मिटरसम्म फैलिएको विशाल लिमी उपत्यका हिमाली जडीबुटी, जैविक विविधताले सुन्दर र मनमोहक छ। साथै तिब्बती/हिमाली संस्कृतिमा पनि उत्तिकै धनी छ।
'हुम्लाको लिमी, कति राम्री तिमी' गीत सुन्दै, गुनगुनाउँदै र यस्तै गीतहरूमा टिकटक बनाउँदै लिमीमाथिको बस्तीरहित भूगोलतर्फ लाग्यौं। विशाल मैदानका बीचमा फाट्टफुट्ट पाल टाँगेर अस्थायी रूपमा केही परिवार मात्र बसेका छन्।

उनीहरू पनि अत्यधिक जाडोका कारण कार्तिक अन्तिमतिर बेसी झर्दा रहेछन्। गाडी घाँसे चौरमा टाँगिएको अस्थायी पाल नजिकै रोकियो। हामी झरेर पालतिर अघि बढ्यौं। तातोपानी र हिमाली चिया पियौं।
केही समयको हुइँक्याइपछि मोटरले एउटा सानो घरछेउ विश्राम लियो। धर्मशाला रहेछ।
गुरूजीले भने, 'यही हो सर लाप्चा। चाइनाको बोर्डर। कैलाश मानसरोवर दर्शन गर्ने प्वाइन्ट।'
५,१०० मिटर उचाइँमा बसेको लाप्चाबाटै मानसरोवर दर्शन गर्यौं। बादलुको घुम्टोभित्र गुटुमुटु कैलाश पर्वतलाई नियाल्यौं। यात्रामा हिँडेका हामीलाई साउनमा मानसरोवरको दर्शन जुरेपछि 'एक पन्थ, दुई काज' हुने नै भयो।
लाप्चाबाटै मानसरोवरको दर्शनको आत्मिक अनुभूति लिएर सोही बाटो फर्किँदा यात्राले बिट मार्दै थियो। जाँदाको जोश र उत्साह फर्किँदा घटिसकेको थियो। नानाथरी कुरा मनमा उम्रिन के रोकिन्थे र?
मानव जीवनको यात्रा पनि अरू यात्राझैं दुईतर्फी हुने भए कति राम्रो हुँदो हो? फर्किँदा सुखदुःख फेरि अनुभव गर्न पाइँदो हो।
जीवनका अधुरा अनुभव सकिँदो हो। बिग्रिएका काम सपार्न मिल्दो हो। तर जीवनको यात्रा एकतर्फी छ। अघि बढ्न मात्रै सम्भव छ, पछाडि फर्किने त उपाय नै छैन। कर्णालीजस्तै।
मनमा यस्तै कुरा खेलिरहँदा आँखा उर्लिँदो कर्णालीमा ठोक्किएपछि विपिनले अस्ति भनेको डेउडाको पंक्ति याद आयो।
'हिउँद उँधै, वर्षा उँधै, काँ पुग्छै कर्णाली'
कसैले कर्णालीलाई सोधेझैं मेरो मनले आफैंलाई सोध्यो– कर्णालीझैं उँधै बगिरहेको तेरो यात्रा कहाँसम्म पुग्ला? कहाँ पुगेर विश्राम लिने होला?
अनुत्तरित मैले मनमनै यतिमात्र भनेँ – चरैवेति चरैवेति।
(लेखक सुरेशराज जोशी नेपाल सरकारका उपसचिव हुन्।)
