नेपालको हिमाली क्षेत्रलाई जडीबुटीको खानी भन्ने गरिन्छ। हामी हाम्रो जडीबुटी बेचेरै सम्पन्न हुन सक्छौँ भन्ने चर्चा बौद्धिक वृत्तले गरेको समेत पाइन्छ। हिमाली क्षेत्रको विशिष्ट जैविक विविधता र प्राकृतिक वातावरणका कारण विभिन्न महत्वपूर्ण जडीबुटीहरू पाइन्छन्, जसले स्थानीय स्वास्थ्य, परम्परागत उपचार र जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेल्छन्।
हिमाली भेगको यही विशेषतालाई मध्यनजर गर्दै एन्साब (एसिया नेटवर्क फर सस्टेनेबल एग्रिकल्चर एण्ड बायो रिसोर्सेस) नेपालको ‘हिमाली जडीबुटीहरूको संरक्षण र दिगो व्यापार’ नामक परियोजनाअन्तर्गत २८ वटा हिमाली जिल्लाहरूमा राष्ट्रियस्तरमै जडीबुटीको स्रोत सर्वेक्षणको काम आयोजना गरिएको थियो। जसमा हामी वन विज्ञान अध्ययन संस्थान, पोखराद्वारा इन्टर्नसिपको सिलसिलामा १२ जना विद्यार्थीहरू पनि सहभागी भएका थियौँ।
एन्साब नेपालको जडीबुटीको स्रोत सर्वेक्षणसम्बन्धी आधिकारिक सूचना पश्चात् हामी १२ जनै सम्बन्धित कार्यक्षेत्रमा आवश्यक पर्ने ज्ञान र सीपको लागि काठमाडौंमा आयोजित ४ दिने तालिममा सहभागी भयौँ। तालिम सकिएपश्चात् संस्थाले नै २८ वटै जिल्ला समेटिने गरी दुई-दुई जनाको टिम बनाइदिएको थियो।
यो परियोजनामा जोडिनु भनेको एन्साब नेपालको नेतृत्वमा नेपाल सरकार, वन मन्त्रालय, वन निर्देशनालय, डिभिजन वन कार्यालयसहित अन्य यस क्षेत्रसँग सम्बन्धित विभिन्न संस्था तथा सरकारी कार्यालयहरूसँग प्रत्यक्ष साथै अप्रत्यक्ष रूपमा जोडिन पाउने अवसरको कुरालाई प्राथमिकतामा राख्दै हामी विभिन्न जिल्लाका विद्यार्थीहरू पनि एकआपसमा जोडिँदै थियौँ।
उच्च हिमाली भूभागमा पाइने जडीबुटीको सर्वेक्षण गर्नुपर्ने यो काम सहज भने पक्कै छैन भन्ने अनुमानका साथ यात्राका क्रममा भोग्नुपर्ने विभिन्न चुनौतीहरूको बारेमा मानसिक रूपमा तयार हुँदै गयौँ। हामी तालिम सकिएको दोस्रो दिन नै संस्थाद्वारा खटाइएको जिल्लामा जाने आँट गर्यौँ र आ-आफ्नो कार्यक्षेत्रतिर लाग्यौँ।
कहिल्यै नपुगेको ठाउँ, कहिल्यै नचढेको उचाइ र कहिल्यै नभेटेका नौला अनुहारहरूसँगको यो यात्रा म लगायत सम्पूर्णलाई नै चुनौतीपूर्ण सँगसँगै नेपालको वन क्षेत्रमा राष्ट्रियस्तरमै योगदान पुर्याउने अवसर पनि थियो।
कामका सुरुवाती दिनहरूमा टिमका हामी दुई जना (म र सहयात्री दिपेश चापागाईं) मात्र नभई गोरखाको सिङ्गो ५ जनाको टोली नै काममा जुट्यौँ। मलाई अझै याद छ त्यो पहिलो दिन गोरखाको ओलाङदेखि चेपेको शिरसम्म पुग्दा बगेका पसिनाहरू, थाकेका पाइलाहरू र भोकले निमोठिएको पेट, हाम्रै समूहकी एकजना दिदीले काम छोड्दा टुटेको आँट अनि पुनः एउटा अध्यायको काम सकेपछि छाएको खुसी र उमङ्ग।
सूर्यको किरण जमिनसम्म नपुग्दै चालिएका हाम्रा पाइलाहरू, जुकाको टोकाइले रगताम्मिएका खुट्टाहरू र थकानको चपेटामा सुकेका ती ओठहरूसँगैका कैयौँ नयाँ अनुभवले, नयाँ जिम्मेवारीले र नयाँ सिकाइले सिकाएका पाठहरू साँचिकै स्मरणयोग्य तथा अविस्मरणीय छन्।
९३५ मिटरको उचाइमा रहेको ओलाङ गाउँबाट हाम्रो यात्रा सुरु भयो। ३८०० मिटरको उचाइमा अवस्थित पहिलो प्लटसम्म पुग्न पैदल उकालो यात्रा गर्नुपर्ने थियो। ओलाङ गाउँदेखि खाना खाएर बिहान करिब १० बजेतिर हाम्रो गोरखाको समूह उकालो लाग्यौँ, यात्रामा रमाउँदै साँझ परिसक्दा हाइड्रोको क्याम्प पुग्यौँ।
हाम्रै टोलीकी एकजना दिदीलाई भने यात्रा कठिनपूर्ण लागेर काममा अघि नबढी काठमाडौं फर्किने निधो गर्नुभयो। हामी बाँकी टोलीका सदस्यहरू र भरिया दाइहरू मिलेर बल्लतल्ल खाना बनाएर खाएर सुत्ने तरखर गर्यौँ। उक्त क्याम्प चारैतिरबाट टिनले बारिएको थियो र छानो पनि टिनकै थियो, जसमा दुई वटा कोठा थिए। त्यस दिनको रात त्यहीँ जसोतसो सुत्यौँ। भोलिपल्ट बिहान सातै बजे अघिल्लो दिन बेलुका बचेको भात भुटेर खाएर फेरि उकालो लाग्यौँ।
अघिल्लो दिनको थकान, निद्रा नपुगेको शरीर, त्यसैमा उकालो बाटो–यात्रा जे जस्तो भए पनि आफ्नै बेगमा बगिरहेका झरनाहरू, अनेकौँ रङ्गले पोतिएका गुराँस र सिरसिरे चलिरहने चिसो हावाको स्पर्श, यी सबै प्रकृतिका देनहरू मनमोहक लागिरहन्थ्यो। रमाउँदै रमाउँदै करिब ४ बजे (४००० मिटरको उचाइमा) पुग्नुपर्ने धर्मशालामा पुगियो।
भोकले सबै आत्तिएका थियौँ, अझ भनौँ भुटेको भात र एउटा चाउचाउको भरमा दिनभर हिँडेका थियौँ। त्यसैले भरिया दाइहरूले खाना बनाउन थाल्नुभयो, बाँकी हाम्रो टोलीले चाहिँ आगो ताप्दै गफगाफ गर्न थाल्यौँ।
अर्को दिन जानुपर्ने प्लटको सहजकर्ता राखेर त्यस ठाउँमा पुगिने बाटोको बारेमा छलफल गरेर खाना खान लाग्यौँ। दाल, सोयाबिन र आलुको तरकारी अनि भात असाध्यै मीठो मान्दै खायौँ। (यहाँ प्लट भन्नाले पूरै वन/भूभागको प्रतिनिधित्व गर्ने निश्चित क्षेत्रफल भएको नमुना क्षेत्रलाई बुझिन्छ, जसको आधारमा पूरै वन/भूभागको अवस्था कस्तो छ भनी अनुमान लगाउन सकिन्छ।)
समय गएको पत्तै नहुने। यसो सम्झँदा झलक्क घरको याद आयो, फोन हेरेको, फोनमा टावर थिएन। मेरो हरेक दिन बेलुकी घरपरिवारसँग कुरा गर्ने बानी थियो, तर त्यो दिन कल गर्न सम्भव नभएपछि मन भारी बनाउँदै त्यो चिसो स्लिपिङ ब्यागभित्र न्यानो सपनाको आशमा निद्रामा परियो।
अर्को दिन आठ बजे खाना खाएर प्लट गर्न निस्कियौँ। दुई किलोमिटरकै दूरीमा रहेको उक्त ठाउँ पुग्न पनि हामीलाई हम्मेहम्मे पर्यो। माथि देउरालीमा पुगेर किच्च हाँस्दै एउटा फोटो सम्झनास्वरूप खिचियो र फेरि अघि बढियो।
४ घण्टाको हिँडाइपछि पुगियो, पहिलो प्लट! हामीलाई संस्थाले तोकेको गोरखाको वन अधिकृत दीक्षा अधिकारी दिदीको आदेश पालना गर्दै, तालिममा सिकेका कुराहरू स्मरण गर्दै साथै एन्साब नेपालले प्रकाशन गरेको हाते पुस्तिकाको सहयोग लिँदै पहिलो प्लटको काम सक्यौँ। पानी पर्ला जस्तो भइसकेको थियो, नास्ताको रूपमा पानी र बिस्कुट खाएर आफ्नो बासस्थानतर्फ लाग्यौँ।
हामी आएकै बाटो फर्किँदा उकालो धेरै हिँड्नुपर्ने हुँदा अलि छिटो हुने निगालोको घारीबाट फर्किने निर्णय गरियो। निर्णयअनुरूप हिँड्न सुरु गरियो, बाटोमा ठूला–ठूला खोलाहरू तर्नुपर्ने हुन्थ्यो। कुनै आफैँ तरिन्थ्यो त कुनै भरिया दाइहरूले उचालेरै तारिदिनु हुन्थ्यो। बासस्थानमा पुग्ने आशैआशमा धेरै निगालो झ्याङमा रुमलिनु पर्यो र कयौँ डाँडाहरू काट्नुपर्यो।
हिँड्दा हिँड्दै फोनमा ट्याङ् घन्टी बज्यो। टावर देखायो, हत्तपत्त घरमा फोन गरिहालेँ। आत्तिएको मन बाआमाको बोली सुनेपछि फेरि हल्का भयो। यसरी हिँड्दा हिँड्दै झमक्कै भयो, फोनको लाइट बालेर रातिको सात बजेतिर बल्ल आफ्नो बासस्थानमा पुगियो।
धर्मशालामै बसेको एकजना दाइले खाना तयार पारेर राख्नुभएको थियो। त्यस दिन छिटोछिटो खाना खाएर सुतिहाल्यौँ। फेरि अर्को दिन धर्मशालादेखि केही तल रहेको सामुदायिक वनको गोठमा पुग्नुपर्ने थियो। बिहान आठ बजे तातो पानी र बिस्कुट खाएर दुई रात बिताएको त्यो धर्मशालासँग बिदा मागी ओरालो झरियो।
साढे नौ बजे नै गोठमा पुगियो, चाउचाउ उमालेर त्यसमै चिउरा मिलाएर खायौँ र पुनः अर्को प्लट गर्न निस्कियौँ। बिस्तारै आफ्नो काम सिक्दै र जडीबुटीहरू चिन्दै पनि थियौँ। त्यस दिन पनि काम सक्यौँ र खाजा खाएर गोठतिर लाग्यौँ, जेठको महिना थियो, त्यहीँ नि लेक न हो, पानी परेर कुटिहाल्यो।
साँझ परिसकेको थियो, पानीमा भिजेको बिरालोजस्तै हुलियामा गोठमा पुगियो। गोठ कुरेर बसेको दाइले आगो बालेर खाना पकाइरहनुभएको थियो, हामीले मज्जाले आगो तापेरै बस्यौँ। त्यस दिन हामीसँग अर्को दाइ पनि जोडिनुभएको थियो र हाम्रो टोली फेरि ४ बाट ५ भयो। साँझमा सधैँ आगो ताप्ने र गफ गर्ने माहोल बन्थ्यो। दाइ, दिदीले आफ्नो ब्याचलर जीवनको बारेमा भन्नुहुन्थ्यो, कलेजमा राजनीतिक पार्टीको झन्डा बोकेर हिँडेका अनुभवहरूसम्म साट्न भ्याउँथ्यौँ।
यसरी नै गाउँदेखि लेकतिर लागेको चार दिन बित्यो र पाँचौँ दिनको बिहानको खाना त्यहीँ सामुदायिक वनको गोठमा बनाएर खायौँ र गाउँदेखि ल्याएको सामानहरू बोकेर फेरि ओरालो लाग्यौँ। त्यस दिनको योजना चाहिँ एउटा प्लट गरेर अलि तल रहेको भेडी गोठमा बस्ने थियो। योजनाअनुरूप प्लटको काम त गर्यौँ, तर भेडी गोठमा नबसी साँझको साढे ५ बजे लाग्यौँ फेरि ओरालो।
यो पल्टको यात्रा भने गाउँसम्मको थियो। बिहानदेखिको हिँडाइले शरीर थाकेको त थियो तर पाँच दिनपछि बल्ल गाउँ फर्किँदा मन भने हर्षित थियो। साँझ रातमा ढल्किँदै थियो र हाम्रा पाइलाहरू भने गाउँसम्म, सबैले एक–एक वटा लाइट बाल्दै त्यो वनको बाटो जुका टिप्दै र गीतहरू गाउँदै गाउँदै रातको ९ बजे गाउँ पुगियो। यो यात्रामा खुट्टाले ऐया भन्ने र शरीरले थकाइ महसुस गर्ने छुट थिएन।
यसरी ओलाङदेखि चेपेको शिरसम्मको यात्राले पनि जीवन्त रहने पाठहरू सिकायो। अध्ययनको सिलसिलामा नै भएको यस यात्राका विविध पलहरू मानसपटलमा सदा रहिरहनेछन्।
(लेखक हाल वन विज्ञानमा स्नातक गर्दै छिन्।)