कहिलेकाहीँ गन्तव्यसम्म पुग्नु ठूलो उपलब्धि लाग्छ, तर त्यहाँ पुगेर भोग्नुपरेको पीडा जीवनभरको अविस्मरणीय अनुभव बन्दोरहेछ।
भैरवकुण्डको त्यो यात्रा मेरा लागि केवल एउटा घुमफिर थिएन, प्रकृतिसँगको साक्षात्कार, मित्रतासँगको परीक्षा र आफ्नै शरीरसँगको कठिन संघर्ष पनि थियो।
नेपालीहरूको महान् चाड तिहार नजिकिँदै थियो। कात्तिकको चिसो मौसम, गाउँघरमा चाडपर्वको रौनक र लामो बिदा।
यही बिदालाई केही फरक तरिकाले सदुपयोग गर्ने सोच बनाएँ।
मनमा एउटा गन्तव्य थियो—सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगमा अवस्थित प्रकृतिको अनुपम उपहार भैरवकुण्ड।
भैरवकुण्डको नाम सुनेको थिएँ। त्यहाँको प्राकृतिक सौन्दर्य, हिमालको दृश्य र हिउँसँग रमाउन पाउने कल्पनाले मन निकै उत्साहित थियो।
आठ जना साथी मिलेर यात्रा गर्ने योजना बन्यो। यात्राको पहिलो दिन बिहानको घडीले सात बजाउँदै थियो। हाम्रो दैनिकजसो सात–आठ बजेको फुटसल खेल्ने बानी थियो। त्यस दिन पनि म फुटसल खेल्न गएँ। खेल सकिएपछि भने मनमा एउटै कुरा थियो—आज भैरवकुण्ड पुग्ने यात्राको सुरूआत हुँदैछ।

घर फर्किएँ, नुहाएँ र साथीहरूलाई फोन गरेर भेट्ने समय तय गरेँ। केही समयपछि सबै साथीहरू जम्मा भयौँ। मोटरसाइकलमा पेट्रोल भर्यौँ। आवश्यक सामान मिलायौँ र खुसीका साथ गन्तव्यतर्फ लाग्यौँ।
दिउँसो करिब १२:३० बजे दोलालघाट पुग्यौँ। त्यहाँ खाजा खाएर केही समय आराम गर्यौँ। त्यसपछि दोलालघाट, सुकुटे, बलेफी र बाह्रबिसे हुँदै लाग्यौँ।
ङाक्लाङबाट भने वास्तविक उकालो सुरू भयो। मोटरसाइकलको आवाजसँगै हाम्रो उत्साह पनि उकालो चढिरहेको थियो। तर बाटो सोचेभन्दा निकै कठिन थियो। साँझ पर्दै जाँदा हामी भैरवकुण्ड क्षेत्रको क्याम्प–२ छागाम पुग्यौँ।
त्यहाँ भेटिएका शेर्पा दाइले अब माथि पुग्न सम्भव नहुने बताउँदै त्यहीँ रात बिताउन सुझाव दिनुभयो।
हामीले पनि उहाँको सुझाव स्वीकार गर्यौँ। भोलिपल्ट बिहानै यात्रा सुरू गर्ने निधो भयो। राति करिब १०–११ बजेतिर खाना खाएर सुत्यौँ।
भोलिपल्ट बिहान २:२० बजे नै उठ्यौँ। चिसो निकै थियो। साथीहरू यात्राका लागि तयार हुँदै गर्दा बिहान करिब ३:३० बजे हामी क्याम्प–१ चोकोर मोकोरतर्फ लाग्यौँ।
रातको अँध्यारो, कठ्याङ्ग्रिने चिसो र अगाडि ठडिएको उकालो। बाटो यति अप्ठ्यारो थियो कि मोटरसाइकलले समेत भार थेग्न छोडिसकेको थियो।
केही समयपछि हामी आठ जना दुई समूहमा विभाजित भयौँ। चार जना साथी अगाडि लागे भने म चार जनाको पछिल्लो समूहमा परेँ। त्यतिबेला मोटरसाइकल सम्हाल्ने कि आफ्नै शरीर सम्हाल्ने भन्ने अवस्था थियो।
म निकै थाकिसकेको थिएँ। उकालो चढ्दै गर्दा मनमा डर र बेचैनी बढ्न थाल्यो। अब यसरी हुँदैन भन्ने लागेपछि हामी हिँड्न थाल्यौँ। रमेश र म पैदल हिँड्थ्यौँ भने राम सर र सरोजले मोटरसाइकल चलाउँथे। मोटरसाइकलले नसक्ने ठाउँमा हामी सबै मिलेर ठेल्थ्यौँ।
बिस्तारै पूर्वतिरबाट उज्यालो छर्न थाल्यो। घामका किरणले हिमाली डाँडाकाँडा उज्यालिन थाले। हामी पनि माथि पुग्दै रहेछौँ। वरिपरिको दृश्य देखेपछि थकान केही कम भएजस्तो लाग्यो। सुन्दर दृश्यसँगै फोटो खिच्न थाल्यौँ।
अगाडि पुगेका साथीहरूलाई फोन गरेर सम्पर्क गर्ने प्रयास गर्यौँ। तर त्यहाँ मोबाइल नेटवर्कले काम गर्दैनथ्यो। हामी आफ्नै गतिमा डाँडाकाँडा पार गर्दै उकालो चढिरह्यौँ।
उकालो चढ्दै गर्दा म निकै ढिलो हुन थालेको थिएँ। अगाडि पनि साथी छैनन्, पछाडि पनि छैनन् । बाटोमा एउटा बोलेरो गाडी भेटियो। त्यसमा लिफ्ट पाएपछि म अगाडि लागेँ। तल रहेका तीन जना साथी भने पछाडि नै छुटे।
गाडीले मलाई चोकोर मोकोर पुर्यायो। तर त्यहाँ पुग्दा अगाडि गएका साथीहरू पनि देखिएनन्। पछाडिबाट आउने साथीहरू पनि आइपुगेका थिएनन्।
एकैछिनमा म एक्लो भएँ।
कस्तो अचम्म! केही समयअघिसम्म आठ जनाको समूहमा रमाउँदै यात्रा गरिरहेको म अहिले अपरिचित ठाउँमा एक्लै उभिएको थिएँ। न अगाडिका साथी भेटिने निश्चितता थियो, न पछाडिका साथी आउने खबर।
त्यतिबेला भोकले पनि सताइरहेको थियो। केही नखाए खुट्टा अगाडि बढाउन नसक्ने अवस्थामा पुगिसकेको थिएँ। साथीहरूलाई कुर्दा झन् ढिलो हुने देखेपछि खाजा खाने निर्णय गरेँ। चिया, थेन्थुङ र एक्स्ट्रिम ड्रिङ्क खाएँ।
केही समय शरीरलाई आराम दिएपछि फेरि भैरवकुण्डतर्फ लागेँ। करिब दुई–तीन घण्टाको पैदल यात्रा बाँकी थियो। साथीहरू कतै भेटिन्छन् कि भन्ने आशामा कहिले छिटोछिटो हिँड्थेँ त कहिले कुद्थेँ। बाटोमा फर्किरहेका यात्रुहरूलाई कुण्ड पुग्न र फर्किन कति समय लाग्छ भनेर सोध्दै अगाडि बढिरहेँ।
भैरवकुण्डको दर्शन : संसार जितेको अनुभूति
बिस्तारै हिउँ देखिन थाल्यो। वरिपरिका डाँडाकाँडा सेताम्मे देखिन्थे। जति माथि पुग्दै थिएँ, प्रकृतिको सुन्दरता त्यति नै मनमोहक बन्दै थियो।
भैरवकुण्ड, सेताम्मे हिउँ र आफ्ना साथीहरूलाई एकैपटक देखेँ।
त्यो क्षण शब्दमा बयान गर्न कठिन छ। लामो उकालो, थकान, भोक र एक्लोपनका बीच गन्तव्य आँखाअगाडि देख्दा मैले संसार नै जितेको महसुस गरेँ।
साथीहरू धूप बालेर पूजा गर्दै भैरवकुण्डको दर्शन गरिरहेका थिए। म पनि उनीहरूसँगै दर्शन गर्न थालेँ। त्यहाँको वातावरण, हिमाली सौन्दर्य र चिसो हावाले मनलाई अर्कै आनन्द दिइरहेको थियो।
उमेशलाई आफ्नो फोटो खिचिदिन आग्रह गरेँ। उसले पनि मेरो फोटो खिचिदियो। पछाडि छुटेका साथीहरू भने अझै आइपुगेका थिएनन्। तीन जना साथीहरू फर्किने निर्णय गरेर तल झरे। उमेश र म भने केही समय त्यहीँ बस्यौँ। साथीहरू आउँछन् कि भन्ने आशामा फोटो खिच्दै कुरिरह्यौँ।
तर प्रकृतिको सुन्दरता जति मनमोहक थियो, चिसो त्यति नै कठोर बन्दै गइरहेको थियो।

लेक लागेपछि : म आफै मदन बनेको क्षण
केही समयपछि हामी पनि फर्किने निर्णयमा पुग्यौँ। तर त्यही बेला मेरो शरीरले असामान्य प्रतिक्रिया देखाउन थाल्यो।
पहिले टाउको दुख्न थाल्यो। त्यसपछि वाकवाकी लाग्यो। उल्टी हुन थाल्यो। शरीर ढल्ला जस्तो भयो। मलाई लेक लागिसकेको रहेछ।
उमेशले मलाई समातेर तल झार्न थाल्यो। केही तल पुगेपछि त म हिँड्नै नसक्ने भएँ। शरीरले साथ दिन छोडिसकेको थियो। म बाटोमै पल्टिएँ।
त्यसपछि साथीहरू पनि फर्किए। केही समयपछि टाढाबाट साथीहरू आएको जस्तो देखियो। आवाज दिएर बोलाएँ। उताबाट पनि जबाफ आयो। हामी खुसी भयौँ। उमेश फेरि फर्केर उनीहरूसँग जाने निर्णयमा पुग्यो।
साथीहरू भेटिएपछि हामी दुई जना पनि फेरि कुण्डतर्फ जाने निर्णयमा पुग्यौँ। तर केही पाइला हिँड्नासाथ मेरो शरीरले साथ दिएन। मलाई असह्य गाह्रो भइरहेको थियो।
साथीहरूले भने, 'तिमी अब माथि जानु पर्दैन। यहीँ बसेर हामीलाई पर्ख।'
मसँग अर्को विकल्प पनि थिएन। म त्यही बीच बाटोमा पल्टिएर बसेँ। साथीहरू कुण्डतर्फ लागे।
करिब ३० मिनेटसम्म उनीहरूलाई कुरिरहेँ। तर कोही फर्किएनन्। शरीर झन् कमजोर हुँदै गइरहेको थियो। मनमा डर बढ्दै थियो।
त्यही क्षण फेरि मुना–मदनको कथा आँखाअगाडि आयो। स्कुलमा पढेको त्यो प्रसङ्ग आज आफ्नै जीवनमा दोहोरिएझैँ लाग्यो। ल्हासा जाँदा बिरामी परेका मदनलाई साथीहरूले बीच बाटोमा छोडेको कथा पढ्दा कहिल्यै आफू पनि त्यस्तै परिस्थितिमा पर्छु भन्ने सोचेको थिइनँ।
तर आज म त्यही अवस्थामा थिएँ।
न अगाडि बढ्न सक्ने शक्ति थियो, न पछाडि फर्किने साहस। वरिपरि हिमाल, हिउँ र सुनसान बाटो थियो। मनमा अनेकौँ कुरा खेलिरहेका थिए। साथीहरू आउँछन् कि भनेर पटकपटक बाटोतिर फर्केर हेर्न खोज्थेँ। तर आँखाले माथि हेर्नसमेत साथ दिँदैनथ्यो। माथि हेर्दा उल्टी आउला जस्तो हुन्थ्यो।
त्यसमाथि मौसम पनि बिग्रन थाल्यो। बिस्तारै हिउँ पर्न थाल्यो।
अब कसैलाई कुर्नु उचित हुँदैन भन्ने लाग्यो। सकिनसकी उठेँ र बेस क्याम्पतर्फ फर्किन थालेँ। प्रत्येक पाइला मेरा लागि संघर्ष बनिरहेको थियो।
बेस क्याम्प आइपुगेँ। तर त्यहाँ पनि साथीहरू भेटिएनन्। केही समयपछि थाहा भयो, अगाडि पुगेका साथीहरू मलाई पर्खिरहेका रहेछन्।
उनीहरूसँग बसेँ, खाजा खाएँ र केही समय आराम गरेँ। बिस्तारै स्वास्थ्यमा सुधार आउन थाल्यो।
केही समयपछि पछाडि छुटेका साथीहरू पनि आइपुगे। त्यसपछि बल्ल मन केही शान्त भयो।
फर्किने निर्णय र तातोपानीको यात्रा
तर समयले हामीलाई पर्खिरहेको थिएन। साँझ पर्न थालिसकेको थियो। बाटो चिप्लो र अप्ठ्यारो थियो। मोटरसाइकलबाट झर्न सम्भव नदेखिएपछि हामी चार जना गाडीमा फर्कियौं।
त्यसपछि हामी छागाम आइपुग्यौँ। त्यहीँ दुई दिन बस्यौँ। शरीरलाई आराम दिनु पनि आवश्यक थियो। त्यसपछि सबैको सल्लाहमा तातोपानी जाने निर्णय गर्यौँ।
भोलिपल्ट एकाबिहानै तातोपानीतर्फ लाग्यौँ। छागामबाट ओरालो झर्न करिब तीन घण्टा लाग्यो। तातोपानी पुग्यौँ। त्यहाँ स्नान गर्यौँ। नेपाल–चीन सीमावर्ती नाकासम्म पुग्यौँ। केही तस्बिर खिच्यौँ र त्यहीँ खाना खायौँ।
समयले दिउँसोको १२ बजाइसकेको थियो। त्यसपछि काठमाडौं फर्किने यात्रा सुरू गर्यौँ। दिउँसो करिब तीन बजे दोलालघाट आइपुग्यौँ। त्यहाँ खाजा खायौँ र साथीहरूसँग छुट्टिने निर्णय गर्यौँ। खाजा खाइसकेपछि सबै आ–आफ्नो गन्तव्यतर्फ लाग्यौँ। म पनि काठमाडौंको यात्रामा निस्किएँ। राति करिब आठ बजेतिर काठमाडौं आइपुगेँ।
एउटा यात्रा, अनेकौँ अनुभूति
भैरवकुण्डको त्यो यात्रा सकियो। तर त्यसले दिएका अनुभूति अझै सकिएका छैनन्।
आज पनि भैरवकुण्डको नाम सुन्दा आँखाअगाडि सेताम्मे हिमाल, हिउँले ढाकिएका डाँडाकाँडा र त्यो कठिन उकालो आउँछ। अनि सम्झना आउँछ—लेक लागेर बाटोमै पल्टिएको त्यो क्षण, साथीहरूलाई पर्खँदाको बेचैनी र मुना–मदनको कथाले मनमा पारेको प्रभाव।
त्यो दिन मैले प्रकृतिको सुन्दरता नजिकबाट देखेँ, तर त्यसैसँगै मानिसको असहायपन पनि महसुस गरेँ। गन्तव्यमा पुग्नु मात्रै यात्रा होइन रहेछ। यात्राले मानिसलाई आफ्नो सामर्थ्य, कमजोरी, धैर्य र सम्बन्धहरूको वास्तविक अर्थ पनि चिनाउँदो रहेछ।
मुना–मदनको कथा पढ्दा मदनको पीडा एउटा साहित्यिक कथा लाग्थ्यो। तर भैरवकुण्डको त्यो यात्रामा लेक लागेर बीच बाटोमा एक्लिँदा मैले आफै मदनको पीडा महसुस गरेँ।
साँच्चै, त्यो दिन भैरवकुण्डको उचाइभन्दा मेरो पीडा अग्लो थियो। र त्यो यात्राको सबैभन्दा गहिरो सम्झना हिमालको सुन्दरता होइन, मदनझैँ विचल्लीमा परेको आफ्नै अवस्था बनेर रह्यो।
