मानिसको जीवनमा केही यस्ता यात्रा हुँदा रहेछन्, जसले नयाँ ठाउँको परिचय मात्र गराउँदैनन्, जीवनभर सम्झनलायक अनुभव र महत्त्वपूर्ण पाठसमेत सिकाउँछन्।
म आठ कक्षामा अध्ययनरत १३ वर्षे विद्यार्थी हुँ। आज म प्रकृतिसँग साक्षात्कार गर्दै हिमालको काखसम्म पुगेको एउटा अविस्मरणीय पदयात्राको रोमाञ्चक अनुभव सुनाउन चाहन्छु।
तीन वर्षअघि गोसाइँकुण्ड पुगी लेक लागेर बिरामी भई फर्कँदै गर्दा मामा र बाबालाई भनेको थिएँ- यसपालि हिउँसँग खेल्न र हिमालहरू धित मरून्जेल हेर्न पाइनँ। अब मलाई नजिकबाट देखिने गरी हिमाल हेर्न कहिले लैजानु हुन्छ? अब त हिमालले मलाई पनि चिन्छ होला नि? मलाई सम्झना छ, बाबाको उत्तर थियो।
'सही समय आएपछि।'
हजुरबा र हजुरआमाको अनुमति पश्चात ३ वर्ष अगाडि बाबाले भन्नुभएको सही समय आइपुगेको थियो।
नजिकबाट हिमालहरू नियाल्ने, आफ्नै साहसको परीक्षा लिने र प्रकृतिको अनुपम सुन्दरता आत्मसात् गर्ने रहर त छँदै थियो। त्यससँगै मेरो मनमा एउटा विशेष सपना थियो— समुद्री सतहबाट ४,१३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा आफ्नो विद्यालयको झण्डा फहराउने।
मिति २०८३ कात्तिक ६ गते बिहान ५:०० बजे बाबा र बाबाका साथीहरू सहित ११ जना गोरखाबाट पोखराको लागि निस्कियौं।
पोखराबाट ९:०० बजे हेम्जा, लुम्ले, नयाँ पुल, बिरे ठाँटी हुँदै अगाडि बढ्दा मनले सोच्दै थियो ती देखिएका हिमालहरूले मलाई नै बोलाइरहेको हो कि!
सोच्दा सोच्दै झपक्कै निदाएछु। एक्कासि खाना खान उठ भनेपछि ब्युँझिएँ।
लामाखेतस्थित सुवेदी खाजा घरमा खाना खाएपछि मोदी नदीको किनारैकिनार अगाडि बढ्दै गर्दा कतै साँघुरो, कच्ची त कतै छङ्गाछुर भीर पार गर्दै १२:३० बजे सामरोङ भन्ने स्थानमा पुग्यौं जहाँबाट हाम्रो पदयात्रा सुरू हुँदै थियो।
झिनु खोलामाथिको झोलुङ्गे पुलको प्रवेशद्वारमा छोम्रोङ पर्यटन व्यवस्थापन समितिले पदयात्रीहरूले पालना गर्नुपर्ने नियम र सावधानीबारे जानकारीमूलक सूचनापाटी राखेको रहेछ जुन पदयात्रीहरुका लागि महत्वपूर्ण सुझाव रहेछ।
पुल तर्ने बित्तिकै सुरू भएको झिनु डाडाँको ठाडो उकालो चढ्दै जाँदा सास फुल्न थाल्यो र पाइला चाल्न पनि कठिन महसुस हुँदा, मलाई लाग्यो अहो! सुरूआत नै यस्तो छ! भोलि कस्तो होला! जे होस् बेलुकीको ४:३० बजे समुन्द्री सतहबाट २१७० मिटर उचाइमा रहेको छोम्रोङमा पुगी पानोरोमा गेस्ट हाउसमा बस्यौं।
कात्तिक ७ गते बिहानको खाजा खाएर ०७:०० बजे उकालो लागेको केहीबेरपछि ANNAPURNA COSERVATION AREA PROJECT (ACAP) को CHECKPOST & INFORMATION CENTER पुग्यौं। जहाँ हरेक पदयात्रीले आफ्नो विवरण र तोकिएको निश्चित प्रवेश शुल्क जसमा नेपालीहरूलाई रु १००, सार्क राष्ट्रका नागरिकहरुलाई रु १००० र अन्य विदेशी नागरिकहरूले रु ३००० रकम तिर्नुपर्ने रहेछ।
माछापुच्छ्रे हिमालको नाम किन माछापुच्छ्रे रहन गएको होला? भन्ने जिज्ञासा मलाई सानैदेखि थियो।
माछापुच्छ्रे हिमालको माछाको पुच्छरजस्तो देखिने अनौठो र मनमोहक विशेष आकृति छोम्रोङबाट नियाल्न पाउँदा निकै रोमाञ्चित भएँ।
अब यहीँबाट सुरू हुने रहेछ, आँखैअगाडि देखिएझैँ लाग्ने तर अझै टाढा रहेका हिमालहरूसँगको लुकामारी। कहिले ती हिमालहरू बादलको घुम्टोभित्र लुक्थे त कहिले मुस्कुराउँदै सामुन्ने प्रकट हुन्थे। अनेकौं उकाली ओराली त कतै अग्ला भिरपाखाले मेरो गोडा र साहसको परीक्षा लिइरहेका महसुस हुन्थ्यो। यात्राको हरेक मोडमा नयाँ दृश्य र अनुभूतिलाई संगाल्दै सिनुवा, ब्याम्बो हुँदै ०२:३० बजे समुन्द्री सतहबाट २५०० मिटर उचाइमा रहेको दोभान पुगेको हामी करिब ०४:३० बजे २९०० मिटर उचाइमा रहेको आजको गन्तव्य हिमालय भन्ने स्थानमा पुग्यौं।
ओहो! थकाइ र भोकको कुरा नगरूम्!
बाबाले सोध्नुभयो, 'के खान्छौ?'
'हिँड्ने शक्ति जे बाट आउँछ, त्यही खान्छु।'
बाबाले भन्नुभयो, 'त्यसो भए “Daal Bhat Power 24 hour”।
बिहान ०५:३० बजे बाहिर निस्किएको त। ओहो! कस्तो चिसो!! बिहानको नास्ता पश्चात बाबाले हिमालय गेष्ट हाउसका सञ्चालकसँग मेरो परिचय गराइदिँदै यस पदयात्राको अनुभवलाई संस्मरणका रूपमा उतारिरहेको हुँदा आवश्यक जानकारी गराइदिनुहुन अनुरोध गर्नुभयो र उहाँकै भनाइ अनुसार प्रायजसो अहिले होटल भएको ठाउँहरू पहिला उहाँहरूको जिजुहजुरबाहरूले भेडी गोठको लागि प्रयोग गर्नु हुन्थ्यो रे पछि मानिसहरूको चहलपहल हुन थालेपछि होटल खोलेको यस ठाउँमा ३ वटा होटल रहेको जहाँ सिजनको बेला कोठा पाउनै मुस्किल पर्ने रहेछ।
मलाई कात्तिक ८ गते बिहानको उकालो यात्रा अघिल्ला दिनहरूजस्तो सहज भइरहेको थिएन।
आज गोडामा एक किसिमको थकान र भारीपन थपिँदै गएको थियो। जब–जब म थकित भएर रोकिन्थेँ, मसँगै रहनुभएका काकाले भन्नुहुन्थ्यो- 'बाबु, जीवनमा राम्रा कुराहरू सजिलै प्राप्त हुँदैन, त्यसका लागि मेहनत र धैर्य गर्नैपर्छ' भन्दै हौसला दिनुहुन्थ्यो।
उहाँका प्रेरणादायी शब्दले नयाँ ऊर्जा र उत्साह थपिदिन्थ्यो।
यसरी शरीरको भार लौरोमा अड्याउँदै, थकानलाई पछाडि छाड्दै उत्साहका साथ अगाडि बढ्दै गर्दा वनजङ्गलमा चराचुरुङ्गीको चिरविर चिरविर आवाजले मेरो हिँडाइलाई सङ्गीतमय बनाइरहेको थियो।
यसरी ०९:३० बजे समुन्द्री सतहबाट ३२३० मिटरको उचाइमा रहेको देउराली भन्ने स्थानमा पुग्यौ जहाँ बाटोको छेउमा नेपाल टेलिकमको ठूलो सञ्चार टावर रहेछ जसले गर्दा पदयात्रीहरूलाई निकै सहज बनाएको रहेछ।
मसँगै हिँडिरहनु भएको बाबाले भन्नुभयो – 'हाम्रो गन्तव्य अब जम्मा एक स्टेसन अगाडि हो तर उचाइ बढ्दै जाँदा हावाको चाप र अक्सिजनको उपलब्धता कम हुँदै जान्छ, जसले गर्दा सास फेर्न गाह्रो हुने, टाउको दुख्ने जस्ता समस्या हुन सक्छ। त्यसैले बिस्तारै आराम गर्दै मेरै साथमा अगाडि बढ्नू। अलिकति पनि असहज महसुस भयो भने तुरून्तै भन्नू।'
बाबाका मायालु र सचेतनामूलक कुराले मलाई पदयात्रामा आफ्नो स्वास्थ्यको ख्याल राख्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेछ भन्ने कुरा सिकायो।
ओहो!! आँखैअगाडि ठिङ्ग उभिएको माछापुच्छ्रे हिमालको सौन्दर्य देखेर मन्त्रमुग्ध भएँ।
हिजोसम्म टाढाबाट आकाशै छोएजस्तो लाग्ने समुन्द्री सतहबाट ३७०० मिटरको उचाइमा रहेको त्यो विशाल हिमालको फेदैमा १२:०५ बजे आजको विश्रामस्थल माछापुच्छ्रे बेशक्याम्प अवस्थित FISH TAIL GUEST HOUSE पुग्यौं। अन्नपूर्ण आधार शिविरको बेलुकाको दृश्य पनि अवलोकन गर्ने बाबा र काकाहरूको योजना अनुरूप दिनको ०१:३० बजे उकालो लाग्यौं।
हामी उकालो चढ्दै गर्दा माछापुच्छ्रे हिमाल त तल तल आएको हो कि जस्तो लाग्ने मनमोहक दृश्य मनभरी राख्दै हिँड्दै गर्दा बाबाले मेरो काँधमा हात राख्दै भन्नुभयो, 'हामी धेरै उचाइमा आइसकेको छौ, हिँड्न तथा सास फेर्न गाह्रो हुने, टाउको दुख्ने, वान्ता हुने हुन सक्छ यी सबै लेकको लक्षणहरू हुन्। अब धेरै टाढा छैन तर गाह्रो भयो भने हामी फर्किन सकिन्छ। उचाइमा कुनै जबरजस्ती गर्नु हुन्न' भन्दै बाबाले सम्झाउँदै अगाडि बढ्दै गर्दा समुन्द्री सतहबाट ३९८० मिटरको उचाइमा रहेको ANNAPURNA SANCTUARY MIRROR LAKE (TOLYONG) लाई पछाडि छाड्दै केहीबेर अगाडि बढेपछि अब भने मेरो अन्तिम गन्तव्य “अन्नपूर्ण बेस क्याम्प” आँखै अगाडि देखिरहेको थिएँ।
आफै दंग परिरहेको थिएँ। चारै तर्फ हिमाल, मैले किताबमा पढेको, टिभी, मोबाइलमा हेरेको हिमाल!!!
आज मलाई तिनै हिमालको काखमा बसेको जस्तो आभाष भइरहेको थियो। सबै हिमालले मलाई नै हेरेर, तिमी आइपुग्यौ ? भनेर सोधिरहेको जस्तो लागिरहेको थियो।
बाबाले फोटो खिच्न बोलाएपछि पो झसङ्ग भएँ। जुन विशेष उद्देश्यका साथ यात्रामा निस्किएको म आफ्नो विद्यालयको झण्डा बोकेर ANNAPURNA BASE CAMP (4130 mt.) लेखिएको बोर्डमुनि बसेर तस्बिरहरू खिचे र भिडिओहरू पनि बनाएँ।
आफ्नो विद्यालयको झण्डा संसारकै साहसी हिमाली गन्तव्यहरूमध्ये एक अन्नपूर्ण आधार शिविरमा फहराउन पाउँदा मनमा छुट्टै गर्व र खुसीको अनुभूति भइरहेको थियो।
म त्यही बसेर चारैतिर फैलिएका हिमालहरूको दृश्यलाई आँखाभरि सजाउँदै धित मरून्जेल नियाल्न थालेँ।
ओहो! प्रकृति आफैले सजाएको त्यो अनुपम र मनमोहक दृश्य देख्दा म त मन्त्रमुग्ध नै भएँ।
बाबाले चारैतिर देखाउँदै अन्नपूर्ण दक्षिण/प्रथम/तृतीय, माछापुच्छ्रे, हिउँचुली, गन्धर्व-चुली र गंगापूर्ण जस्ता विशाल हिमालहरूको परिचय गराइदिनु भयो।
म जति हेर्थेँ, त्यति नै हेरिरहुँजस्तो लाग्थ्यो। तर प्रकृतिको त्यो अनुपम दृश्यसँग रमाइरहेकै बेला बिस्तारै सेता बादलका झुण्डहरू हिमालका चुचुराहरू वरिपरि मडारिन थाले। केही बेरमै बादलले एकपछि अर्को गर्दै हिमालहरूलाई आफ्नो सेतो घुम्टोभित्र लुकाउन थाल्यो।
एक्कासि मेरो टाउको दुख्न थाल्यो। मैले तुरून्तै बाबालाई समस्या सुनाएँ। हामी एकछिन पनि ढिलो नगरी तलतर्फ झर्न थाल्यौ। तर मलाई झन् झन् गाह्रो हुँदै गयो। उकालो चढ्नुभन्दा ओरालो झर्न पो कठिन भइरहेको थियो। टाउको फुट्लाझै दुख्न थालेपछि म प्रत्येक पाँच–पाँच पाइला हिँड्दै बस्न थालेँ। तर कुनै पनि ठाउँमा बाबाले मलाई दश/पन्ध्र सेकेन्डभन्दा बढी आराम गर्न दिनुभएन। त्यस्तो अवस्थामा पनि बस्न नदिँदा मलाई बाबासँग निकै रिस उठिरहेको थियो।
बाबा भने सम्झाउँदै हुनुहुन्थ्यो, 'तिमीलाई लेक लागेको हो, तर नआत्तिनू, म छु! यसको मुख्य उपचार भनेकै उचाइबाट तल झर्नु हो। त्यसैले जसरी भए पनि हामी तल पुग्नैपर्छ।'
उफ्! बाटोमै मलाई दुई पटक बान्ता भयो। तैपनि बाबाले, यहाँ बाटोमा आराम गर्ने अवस्था छैन। सक्दैनौ भने म बोक्छु, तर हामी तल झर्नैपर्छ भन्दै बेलुकी ०६:०० बजे माछापुच्छ्रे आधार शिविर (MBC) आइपुग्यौं।
MBC आएपछि पनि मलाई ३ पटकसम्म बान्ता भएको केही समयपछि बिस्तारै सहज भयो। दाल र भात खाएर औषधि खाएर सुतेको भुसुक्कै निदाएछु।
भोलिपल्ट बिहान ०४:०० बजे बाबाले सोध्नुभयो 'तिमिलाई कस्तो छ?'
मलाई धेरै सहज भइसकेको थियो।
'तिमी र रविन्द्र काका सुतिराख हामी माथि पुगेर आउँछौं।'
कात्तिक ९ गते बिहान ५:३० बजे उठेर चिया–नास्ता गरेपछि मनभरी माछापुच्छ्रे बेसक्याम्प र अन्नपूर्ण आधार शिविरमा बिताएका अविस्मरणीय पलहरू, हिमालको फेदमा नै बसेर टुप्पोलाई नियाल्दाको अद्भुत अनुभव र बिरामी हुदाँको सम्झना बोकेर म, रविन्द्र काकासँगै ओरालो झर्न थालेँ।
हामीलाई बाबाहरूले करिब १२:०० बजे दोभान भन्ने स्थानमा भेटाउनु भयो र खाना खाएर ओरालो झर्दै गर्दा संयोगबस Bamboo र Upper Sinuwa बीचको जंगलमा सानो बुवासँग जम्काभेट भयो। उहाँ बिदेशी पदयात्री लिएर ANNAPURNA BASE CAMP तर्फ नै जाँदै हुनुहुन्थ्यो। यसरी बेलुकी ६:३० बजे तल्लो सिनुवा पुग्यौं र निकै थाकेर होला खाना खाएपछि भुसुक्कै निदाएछु।
कात्तिक १० गते ७:०० बजे ओरालो झरेको करिब १०:३० बजे सामरोङ आइपुगी पोखरा हुँदै गोरखाको लागि हिड्यौं। यसरी मेरो जीवनकै अविस्मरणीय अन्नपूर्ण आधार शिविर पदयात्रा सफलतापूर्वक सम्पन्न भयो।
पदयात्राका क्रममा जति उचाइ बढ्दै गयो, खानेकुराको मूल्य पनि त्यति नै बढ्दै गएको पाएँ। एक प्याकेट चाउचाउको रु.४७० र खानाको रु.१,०५० पर्दा सुरूमा मलाई निकै अचम्म लागेको थियो। तर पछि थाहा पाएँ कि त्यहाँ पुग्ने अधिकांश सामान मानिसहरूले नै बोकेर लैजानुपर्ने रहेछ। त्यसैले सामानको मूल्य बढी हुनुको कारण बुझ्न मलाई गाह्रो भएन। त्यहाँका होटल व्यवसायीहरूले पदयात्रीहरूलाई गर्ने आत्मीय सत्कार, उपलब्ध गराउने सेवा–सुविधा र आइपर्न सक्ने समस्याबारे दिने सल्लाह तथा सुझावले मलाई निकै प्रभावित बनायो। अन्नपूर्ण क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदै गएको र यसबाट स्थानीय बासिन्दाले राम्रो आम्दानीसमेत गरिरहेको पाएँ।
यो यात्राले मलाई केवल हिमाल र प्रकृतिको सुन्दरता मात्र देखाएन, कठिनाइसँग जुध्न, धैर्य गर्न, अनुशासित बन्न र आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर अघि बढ्न पनि सिकायो।
जीवनमा पहिलोपटक यति अग्लो हिमाली क्षेत्रमा पुगेर प्रकृतिको अनुपम सौन्दर्यलाई नजिकबाट नियाल्न पाउनु मेरो लागि ठूलो सौभाग्य हो।
यो यात्राका हरेक पल, देखेका दृश्य र बटुलेका अनुभवहरू मेरो मानसपटलमा सधै ताजा रहनेछन्। धन्यवाद !!!







