झापाका चेतन धिताल अमेरिका गएको १८ वर्ष भयो। हाल उनी जर्जिया राज्यको एटलान्टा सहरमा बस्छन्।
चेतन केनेसा स्टेट युनिभर्सिटीमा एसोसिएट प्रोफेसरका रूपमा काम गर्छन्।
उनको मुख्य काम अध्यापन र अनुसन्धान हो। उनी भौतिकशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई पढाउँछन्।
'म स्नातक र स्नातकोत्तर तहका विद्यार्थी पढाउँछु। उनीहरूलाई थेसिस गाइड पनि गर्छु,' उनले भने।
युनिभर्सिटीले उनलाई अध्यापनसँगै अनुसन्धानको जिम्मेवारी दिएको छ। अनुसन्धानका काम धेरै हुने भएकाले उनी सातामा दुई दिन कक्षा लिन्छन्, बाँकी समय अनुसन्धान गर्छन्।
उनले यहाँ काम गरेको आठ वर्ष भयो।
चेतनको बाल्यकाल झापा, मेचीनगर नगरपालिका–२ मै बित्यो। उनका आमाबुबा कृषक थिए, परिवारको मुख्य आधार खेतीकिसानी थियो।
गाउँकै सरकारी विद्यालयबाट २०५० सालमा दोस्रो श्रेणीमा एसएलसी (एसइई) उत्तीर्ण गरेपछि उनी विराटनगर मामाघर आए। त्यहीँ महेन्द्र मोरङ क्याम्पसबाट भौतिकशास्त्र विषयमा आइएससी र बिएससी पढे।
चेतन बिएससीको नतिजा पर्खिरहेका थिए। त्यसै बेला उनलाई गाउँकै स्कुलबाट पढाउने अवसर आयो। त्यसपछि उनले एक निजी स्कुलमा विज्ञान र गणित विषय पढाउन थाले।
बिएससीको नतिजा आएपछि उनी थप पढ्न काठमाडौं आए। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभागबाट भौतिकशास्त्र विषयमा स्नातकोत्तर पूरा गरे।
स्नातकोत्तरमा उनको राम्रो नतिजा आयो।
पढाइ सकेपछि उनी गाउँ फर्किए। दमक बहुमुखी क्याम्पसमा आइएससी र बिएससी तहका विद्यार्थीलाई भौतिकशास्त्र पढाउन थाले। यो क्रम तीन वर्ष चल्यो।
त्यसपछि उनी विद्यार्थी भिसामा सन् २००८ मा अमेरिका गएका हुन्। उनले पिएचडी अध्ययनका लागि बस्टन कलेजमा पूर्ण छात्रवृत्ति पाएका थिए।
अध्ययन क्रममा विभिन्न देशका राष्ट्रिय प्रयोगशालामा पनि अनुसन्धान गर्ने अवसर पाएको उनी बताउँछन्।
'अमेरिकाका विभिन्न राज्यका राष्ट्रिय प्रयोगशालासँगै क्यानडा र बेलायतका राष्ट्रिय प्रयोगशालामा पनि अनुसन्धान गरेँ,' चेतनले सुनाए।
उनले करिब ६ वर्ष लगाएर सन् २०१४ मा पिएचडी पूरा गरे।
पिएचडीकै क्रममा उनले १० वटा अनुसन्धानमूलक लेख प्रकाशित गरे। राष्ट्रिय प्रयोगशालामा डेढ वर्ष र लुजियाना स्टेट युनिभर्सिटीमा तीन वर्ष पोस्टडक्टरल अनुसन्धान गरे।

उनले केनेसा युनिभर्सिटीमा असिस्टेन्ट प्रोफेसरका रूपमा जागिर सुरू गरेका थिए।
'खासमा मलाई विज्ञान पढ्ने रूचि थियो। स्कुल पढ्दा विज्ञानका शिक्षक पाइँदैन थिए। त्यो देखेर शिक्षक बन्छु जस्तो लाथ्यो,' उनले सुनाए, 'पछि पढ्दै जाँदा अध्यापनभन्दा अनुसन्धानतर्फ आकर्षित भएँ।'
अहिले उनको मुख्य अनुसन्धान कन्डेन्स्ड म्याटर फिजिक्समा केन्द्रित छ। यस अन्तर्गत कुनै पदार्थ किन चुम्बक (चुम्बकीय गुण भएको) हुन्छ र कुनै किन हुँदैन भन्ने विषयको अध्ययन गरिन्छ। पदार्थभित्र रहेको चुम्बकीय गुणले त्यसबाट हुने विद्युत प्रवाहमा कस्तो असर पार्छ भन्नेबारे पनि उनी अनुसन्धान गर्छन्।
यस अनुसन्धानको उद्देश्य छिटो डेटा ट्रान्सफर गर्ने, कम ऊर्जा खर्च गर्ने तथा कृत्रिम बुद्धिमत्ता (एआई) का लागि अझ प्रभावकारी कम्प्युटिङ प्रविधि विकासमा उपयोगी हुने चुम्बकीय पदार्थको खोजी गर्नु रहेको चेतनले जानकारी दिए।
चेतनका अनुसार त्यहाँ काम गर्ने वातावरण राम्रो छ। अनुसन्धानको नतिजा तुरून्तै नआउने भए पनि वैज्ञानिक अनुसन्धानमा पर्याप्त लगानी गरिएको छ।
साथै, विश्वविद्यालयमा विद्यार्थीलाई पढाउने समय पालना गर्नुपर्ने भए पनि त्यसबाहेक शैक्षिक स्वतन्त्रता (एकेडेमिक फ्रिडम) रहने उनी बताउँछन्।
'पढाउने काम चाहिँ तोकेको समयमा हुन्छ। तर अनुसन्धानको काम आफूले समय मिलाएर गर्न पाइन्छ,' उनले भने।
हाल उनी कार्यरत विभागमा स्थायी र अस्थायी गरी ३० जनाभन्दा बढी प्राध्यापक छन्। उक्त विश्वविद्यालयमा गणित र कन्स्ट्रक्सन म्यानेजमेन्ट पढाउने पनि नेपाली नै रहेको चेतनले जानकारी दिए।
कहिलेकाहीँ नेपाली प्राध्यापकहरूबीच भेट हुँदा विश्वविद्यालयका व्यावसायिक विषयसँगै नेपालको राजनीतिक परिवर्तन र अनुसन्धानका विषयमा पनि छलफल हुन्छ।
चेतन एसोसिएसन अफ नेपाली फिजिसिस्ट इन अमेरिका (एएनपिए) सँग पनि आबद्ध छन्। उक्त संस्थामार्फत भौतिकशास्त्रको प्रवर्द्धन गर्ने, नेपाल र अमेरिकाका भौतिकशास्त्रीलाई एक ठाउँमा जोड्ने तथा अध्यापन र अनुसन्धानका अनुभव आदानप्रदान गर्ने काम हुँदै आएको उनले बताए।
उनी जागिरबाट बिदा मिलाएर आमाबुबा भेट्न नेपाल पनि बेला बेला आइरहन्छन्।
गाउँको विद्यालयमा पढ्दाका दिन सम्झिँदा उनलाई जीवनले निकै लामो यात्रा तय गरेको अनुभूति हुन्छ।
भन्छन्, 'त्यति बेला विद्यालयमा विज्ञान प्रयोगशाला नै थिएन। अहिले विदेशी राष्ट्रिय प्रयोगशालामा अनुसन्धान गर्छु। आफू जन्मेको ठाउँका लागि केही योगदान गर्न पाए हुन्थ्यो भन्ने लाग्छ।'