ललितपुरका मनोज दुलाल अस्ट्रेलियामा जहाज उडाउँछन्। तर उनले गर्ने उडान फरक खालको छ।
उनी थम्सन एयरबोर्न जियोफिजिकल सर्भे नामक कम्पनीमा कार्यरत छन्। यो कम्पनीले खानी तथा खनिज अन्वेषणका लागि सर्भे गर्छ। उनले यसकै लागि जहाज उडाउँछन्। जहाजमा मनोज मात्र हुन्छन्।
'मैले गर्ने भनेको जियोफिजिकल सर्भे हो। यो भनेको जमिनको सतहदेखि डेढ किलोमिटरसम्म तल के छ भनेर हेर्ने हो। जहाजमा म्याग्नेटोमिटर जडान गरिन्छ,' उनले भने, 'त्यसले एउटा वेभ तयार पार्छ, जसले जमिनमुनि डेढ किलोमिटरसम्म कुन खालको खनिज छ भन्ने पत्ता लगाउँछ। अहिले हामी युरेनियमको खोजी गरिरहेका छौं।'

जहाज जम्मा २०० फिट मात्रै माथिबाट उड्ने दुलालले बताए। एउटा निश्चित तोकिएको ठाउँमा एकोहोरो जहाज उडाइरहनु उनको मुख्य काम हो।
मनोज कसरी यस्तो उडानका पाइलट बन्न पुगे?
उनी सन् २०१५ अगस्टमा ब्याचलर इन कमर्स पढ्न सिड्नी पुगेका थिए। सिड्नीमा एक वर्ष पनि नबसी उनी ब्रिसबेन पुगे। अनि सन् २०१९ मा सो पढाइ सके।
त्यसपछि उनी सनसाइन कोस्टमा गए र क्लिनिङ कम्पनी सुरू गरे।
'हुन त मैले नगरेको काम केही छैन होला। सायद यो अनुभव सबैको हुन्छ। मैले पनि भाँडा माझ्ने, खाना डेलिभरी गर्ने सबै गरेँ,' उनले भने, 'क्लिनिङ कम्पनीबाट भने मलाई राम्रै आम्दानी भयो। म र श्रीमती (रेखा) दुवै काममा खट्थ्यौं। यता काम गर्दै जाँदा मलाई पाइलट पढ्ने सोच आयो।'
पाइलट पढ्न मन लाग्नुको कारण पनि रमाइलो रहेको उनले बताए।
काम गर्दै जाँदा उनीहरू दुई जना एक ठाउँ भेट भएर खाजा खान्थे। खाजा खाने ठाउँ नजिकै जहाज आउजाउ गर्थ्यो।
'सधैं जहाज देख्दा म पाइलट बन्न सक्छु कि सक्दिनँ होला भन्ने मनमा आयो,' उनले भने, 'त्यसपछि मैले एक दिन पाइलट सिकाउने ठाउँमा बुझेँ। साइन्स नपढेकाले पनि पाइलट पढ्न पाउने रहेछन्। सन् २०१८ अन्त्यतिर मैले पाइलट ट्रेनिङ सुरू गरेँ।'

तर एक पटक सिकेर उनले बीचमै छोडे। फेरि क्लिनिङ कम्पनीमै सक्रिय भए।
सन् २०२० मा मनोज तास्मानियाको होबार्ट गए। त्यहाँ गएर उनले एक वर्षको कमर्सियल पाइलट लाइसेन्सको कोर्स गरे।
पाइलटको लाइसेन्स लिए, तर काम पाउन सकेनन्। झन्डै ९० हजार अस्ट्रेलियन डलर खर्च गरेर पढे पनि केही समय आफूले उबर चलाएको र अन्य काम गरेको उनी बताउँछन्।
सन् २०२२ मा उनले जहाजमा युरिया मल र विषादी लोड गर्ने काम पाए। ठूला कृषि फर्महरूमा जहाजबाटै विषादी र मल छरिने भएकाले उनले यो काम पाएका थिए।
'पाइलटसँग हिमचिम भयो, तर जहाज उडाउन पाएको थिइनँ। यति महँगो लाइसेन्स भएर के गर्नु जस्तो लागिरहेको थियो,' मनोजले भने।
उनले सन् २०२४ मा पश्चिम अस्ट्रेलियाको कोरल बेमा काम पाए। त्यहाँ यात्रु बोक्नेभन्दा पनि जहाजमा उडेर ह्वेल, सार्क, म्यान्टा रे जस्ता समुद्री जनावर खोज्नुपर्थ्यो। उनले माछा देखेपछि पानीजहाजका क्याप्टेनलाई खबर गर्थे। अनि त्यहाँ मानिसहरू खेल्न आउँथे।
उनका अनुसार पश्चिम अस्ट्रेलियाको राजधानी पर्थबाट यो ठाउँ पुग्न १५ घन्टा गाडी यात्रा गर्नुपर्थ्यो। त्यहाँ उनले ३०० घन्टा जहाज उडाए।
त्यसपछि उनले सार्क बे भन्ने ठाउँमा काम गरे। त्यहाँ भने उनले मानिस ओसार्ने काम पाए। आफूबाहेक ५ जना यात्रु रहने जहाज उनी उडाउँथे।
कहिले कुन ठाउँ, कहिले कुन ठाउँ गर्दै समुद्री तथा खानी क्षेत्रहरूमा उनले जहाज उडाए। उनको मुख्य काम पर्यटक घुमाउने र खानीका कामदार बोक्ने थियो। यसरी नै उनले ७०० घन्टा जहाज उडाए।

'अब भने मलाई कमाउने ठाउँ पनि चाहिएको थियो। त्यसपछि मैले खानी क्षेत्रमा सर्भे गर्ने काम पाएँ। विगत दुई महिनादेखि म यसमै कार्यरत छु,' मनोजले भने।
अहिले गरिरहेको कामबाट सन्तुष्ट रहेको र कमाइ पनि राम्रै भएको उनले बताए।
काम गर्दै नयाँ नयाँ ठाउँ घुम्न पाउने भएकाले केही समय यसमै रहने उनको सोच छ।
उनी कार्यरत कम्पनी थम्सन एयरबोर्न जियोफिजिकल सर्भेले अस्ट्रेलिया, न्युजिल्यान्डसँगै अफ्रिकी देशहरू तथा एसियाका चीन र मंगोलियामा काम गरिरहेको छ। अर्को वर्षदेखि भारतमा समेत कम्पनीले काम गर्ने तयारी रहेको मनोजले बताए।
'पाइलट हुन्छु भनेर मैले कहिल्यै पनि सोचेको थिइनँ। ललितपुरमा भए पनि आमाबुबाले दुई दिदी र मलाई दुःख गरेर हुर्काउनुभएको हो। अहिले पनि हाँडीगाउँमा सबभन्दा सानो घर हाम्रै छ,' उनले भने, 'जे भए पनि आफूले सोचे अनुसारको काम गर्दा मजा बेग्लै छ। तर पनि कहिलेकाहीँ क्याप्टेनको ड्रेस लगाएर लगेज बोकेर हिँडेको सम्झिन्छु। हेरौं, काम गर्दै जाँदा पुगिन्छ कि!'