ग्लोबल नेपाली
ललितपुरका सुरज ज्ञवाली सन् २००७ मा अमेरिका जाने योजनामा थिए। त्यही बेला बेलायतमा 'सफ्टवेयर इञ्जिनियरिङ' पढाइका लागि पूर्ण छात्रवृत्ति पाए।
उनले बंगलादेशमा बेलायती मान्यताप्राप्त अन्डर–ग्र्याजुएट डिग्री हासिल गरेका थिए। त्यसो हुनाले उनलाई बेलायत जान सजिलो भयो।
पूर्ण छात्रवृत्ति पाएकाले उनलाई कामको दबाब थिएन। कमाइ गर्नु अनिवार्य थिएन। उनी बेलायतमा पढाइमै केन्द्रित भए।
'बंगलादेशको पढाइका आधारमा छात्रवृत्ति पाएको थिएँ। कामको दबाब थिएन,' उनले भने।
सुरजले सन् २००० मै नेपालमा आइटी कम्पनी सुरू गरेका थिए। त्यसैबाट नेपाली शब्दकोश डिजिटलाइजेसनको काम गरेका थिए।
नेपालमा छँदा केही समय बेलायतमा कफी निर्यातको काम पनि गरेका थिए।
सफ्टवेयर इञ्जिनियरिङमा मास्टर्स तहको पढाइ पूरा गरेपछि उनले बेलायतकै 'लजी ग्रुप' मा काम सुरू गरे। त्यो कम्पनी पेमेन्ट (भुक्तानी) सम्बन्धी काम गर्थ्यो।
'बेलायतमा आर्थिक मन्दीको समय थियो। त्यस्तो बेला पेमेन्ट कम्पनीमा काम पाउनु मेरा लागि ठूलो अवसर थियो,' सुरजले भने।
सन् २०११ मा उनी बेलायतकै नेसनल क्यास रजिस्टर (एनसिआर) कर्पोरेसनमा पुगे।
उनका अनुसार विश्वका १६५ देशमा फैलिएको त्यो कम्पनीमा ४० हजारभन्दा धेरै कामदार थिए। उनको काम पेमेन्ट एप्लिकेसन सम्बन्धी थियो, विश्वका प्रमुख बैंकहरूले प्रयोग गर्ने सफ्टवेयर सञ्चालन गर्ने जिम्मेवारीमा थिए। उनी मातहत तीन सय कर्मचारी थिए।
त्यहीँ काम गरेर उनले कम्पनी व्यवस्थापन सिके, नेतृत्व सीप हासिल गरे।
'पेमेन्ट सफ्टवेरको काम गर्दा अलिक कठिन पनि भयो। तर ११ वर्ष काम गर्दा मैले धेरै सिकेँ,' उनले भने, 'सबै देशमा एउटै प्रणालीले काम गर्दैन; मैले युरोप, अमेरिका, अस्ट्रेलिया, भारत र पकिस्तानमा पनि काम गरेँ।'
उनी सन् २०११ देखि लगातार उही प्रकृतिको काममा छन्। उनले गर्ने अधिकांश काम पश्चिमा देशहरूको हुन्छ। एसियातिरको काम निकै कम हुन्छ।
'कहिलेकाहीँ काममा निकै ठूलो चुनौती हुन्छ तर पश्चिमाहरू एसियालीको प्राविधिक ज्ञानमा शंका गर्दैनन्,' उनले भने।
एनसिआर कर्पोरेसनमा ११ वर्ष काम गरेपछि सुरजले 'ग्लोबल पेमेन्ट्स' मा साढे दुई वर्ष बिताए।
अहिले उनी पूर्ण रूपमा 'सिम्प्लिफाइड सोलुसन' मा आबद्ध छन्। यो उनको आफ्नै कम्पनी हो जुन उनले सन् २०१० मा दर्ता गरेका थिए।
'म राम्रो कम्पनीमा उच्चस्तरको जिम्मेवारीमा थिएँ। सबै राम्रो थियो,' उनले भने, 'तैपनि मैले आफ्नै काम सुरू गरेँ। कामको लामो अनुभव भएपछि पनि आफ्नै काम गरिनँ भने, आफ्नै कम्पनी चलाइनँ भने बुढेसकालमा पछुतो हुने हो कि जस्तो लाग्यो।'
उनका अनुसार एनसिआर १५० वर्ष पुरानो कम्पनी हो।
'सिम्प्लिफाइड सोलुसन' पेमेन्ट र साइबर सेक्युरिटीका लागि काम गर्छ। यो कम्पनीले बेलायत, अमेरिका र मध्यपूर्वका देशहरूमा काम गरिरहेको छ। जापानका र ब्राजिलका स्टार्टअप कम्पनीहरूसँग काम गर्ने तयारी भइरहेको सुरजको भनाइ छ।
उनले विश्वका विकसित देशका बैंकहरूसँग मिलेर डिजिटल भुक्तानीमा काम गरेका छन्। नेपाल पनि यो क्षेत्रमा धेरै अगाडि बढेको उनले देखेका छन्। यद्यपि दीर्घकालीन नीति बन्न सकेको छैन भन्ने उनलाई लागेको छ।
'नेपालमा त तरकारी बजारमै पनि डिजिटल भुक्तानी गर्न सकिन्छ। यस्तो सुविधा कतिपय युरोपेली देशमा समेत छैन,' सुरजले भने, 'डिजिटल भुक्तानीमा नेपालमा जुन सुविधा छ, त्यस स्तरको सुरक्षा छैन जस्तो लाग्छ। डिजिटल भुक्तानी निकै संवेदनशील विषय हो।'
डिजिटल भुक्तानी प्रणाली सुरक्षित बनाउन पाँच वर्षको, १० वर्षको, २० वर्षको योजना चाहिन्छ।
सुरज आफ्नो व्यवसायसँगै बेलायतको स्थानीय राजनीतिमा पनि सक्रिय छन्। उनी 'सनबरी कमन वार्ड' बाट निर्वाचित काउन्सिलर हुन्। काउन्सिलरका रूपमा उनको भूमिका स्थानीयवासीको दैनिक जीवन सहज बनाउने सम्बन्धमा छ।
'हाउजिङ लगायत स्थानीय क्षेत्रका यस्तै अन्य कामको योजना हुन्छ। म स्थानीय स्तरमा साइबर सेक्युरिटी र स्टार्टअप हबका लागि पनि काम गर्छु,' उनले भने।
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com