नेपाली दूतावास डेनमार्क र नेपलिज बिजनेस एसोसियसन डेनमार्कले संयुक्त रूपमा नेपाली व्यवसाय प्रवर्द्धन तथा आर्थिक कुटनीति सुदृढीकरणमा केन्द्रित रहेर अन्तरक्रिया कार्यक्रम गरेका छन्।
कार्यक्रममा डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले नेपाली समुदाय र व्यवसायीलाई प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्न दूतावास सदैव तत्पर रहेको बताइन्।
उनले नेपाल फेस्टिबलमार्फत नेपाललाई डेनमार्कमा अझ प्रभावकारी रूपमा चिनाउने प्रतिवद्धता व्यक्त गरिन्।
कार्यक्रमका सहभागीहरूले डेनमार्कमा नेपाली उद्यमीहरूले सामना गर्ने अवसर र चुनौतीबारे उल्लेख गर्दै आइटी सेवा, स्टार्ट-अप, क्षमता विकास तथा सांस्कृतिक पहिचानमार्फत आर्थिक कूटनीति अघि बढाउन दूतावास र व्यवसायीबीचका सम्भावित सहकार्यका क्षेत्रहरू पहिचान गर्नुपर्ने बताए।
नेपलीज बिजनेस एसोसियसन डेनमार्कका संस्थापक अध्यक्ष मिलन श्रेष्ठले कार्यक्रमले डेनमार्कभर छरिएका नेपाली व्यवसायीहरूलाई एक ठाउमा ल्याएर सामूहिक पहिचानलाई बलियो बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताए।