ग्लोबल नेपाली
सन् २००४ मा बेलायत जाँदै गर्दा ललितपुरका अन्जन बगाले १९ वर्षका मात्र थिए।
होटल म्यानेजमेन्टमा स्नातक पास गरेर बेलायत गएपछि उनले उतै थप अध्ययन, तालिम गरे।
नाइट रिसेप्सनिष्टबाट काम सुरू गरेका अन्जनसँग बेलायतका स्तरीय होटलहरूमा अपरेसन सम्हालेको अनुभव छ। तर उनलाई बेलायतमा बस्न मन लागेन अनि सन् २०२० अर्थात् १६ वर्षपछि नेपाल फर्किए।
'हामी विदेश जाने भनेको उपयुक्त अवसर र कमाइको लागि हो। तर एउटा समय भएपछि यो महत्वपूर्ण नहुने रहेछ। नेपालमा पनि प्रशस्त अवसर छ भन्ने लाग्यो अनि म सन् २०२० को सुरूआतमा नेपाल फर्किएँ,' उनले भने, 'नेपाल आउनसाथ कोभिडको महामारी सुरू भयो। २ वर्ष यतिकै बित्यो। तर मैले त्यही समयमा मेरा जुम्ल्याहा बच्चालाई समय दिन पाएँ अनि नेपाललाई थप बुझ्ने अवसर पनि मिल्यो।'
बेलायतमा रहँदा उनले एभिएसन पनि पढेका थिए। तर यसलाई निरन्तरता दिएनन्। होटल क्षेत्रमै केही गर्न सक्ने भएरै आफ्नो मन अन्त अडिन नसकेको उनको बुझाइ छ।
कोभिड सकिएसँगै उनको पहिलो काम होटल मिस्टिक माउन्टेनबाट सुरू भयो। त्यहाँ उनले कार्यवाहक जनरल म्यानेजर भएर काम गरे। त्यसपछि हिमालयन होटल कुपण्डोलमा अपरेसन डाइरेक्टर भए। त्यहाँ पनि छोडेर होटल अन्नपूर्णको ग्रुप जिएम भएका अन्जन अहिले बेस्ट वेस्टर्न नेपालको नेपालको चिफ अपरेटिङ अफिसर छन्।
बेस्ट वेस्टर्न अमेरिकन चेन होटल हो। विश्वभर यसका ४५ सय होटल रहेको र २०२६/०२७ सम्म अरू २ सय खुल्ने तयारीमा रहेको उनले बताए।
नेपालमा यसको पहिलो होटल एक वर्षअघि चाबहिलको पिङ्गलास्थानमा खुलेको हो। गोदावरीमा पनि यो होटल खुलेको छ भने भैरहवामा ४/५ महिनाभित्र सञ्चालनमा आउँदैछ।
'अहिले मैले बेस्ट वेस्टर्नका तीन वटा होटल हेरिरहेको छु। हामीले नेपालका १० ठाउँमा होटलका लागि हेरिरहेका छौं,' उनले भने, '२०२६ मा ३ देखि ६ वटा बनाउने र सन् २०२९ सम्म १० देखि १२ वटा होटल पुर्याउने हाम्रो लक्ष्य छ।'
योसँगै व्यवसायी आर्यन बास्तोलाको नेतृत्वमा रहेको ट्रावलिटीले डाँफे होटललाई ब्राण्डको रूपमा अगाडि बढाउने योजना बनाइरहेको उनले बताए।
नेपालमा काम गर्दैगर्दा ट्रेड युनियन लगायत विभिन्न खालका समस्या आफूले व्यहोरे पनि त्यसलाई समाधान गर्दै अघि बढेको उनले बताए।
नेपालमा पर्यटन क्षेत्रमा अथाह सम्भावना भए पनि स्पष्ट नीतिको अभावमा यसको लाभ लिन नसकिएको उनको बुझाइ छ।
'एकातिर हामी भौतिक पूर्वाधारमा कमजोर छौं। हाम्रो हवाई क्षमता निकै कमजोर छ। आफ्नै जहाज धेरै ठाउँमा जान सके मात्र यसको प्रचार प्रसार पनि हुने हो,' उनले भने, '८ हजारभन्दा माथिका ६ वटा हिमाल हुँदा पनि यसलाई देखाएर पर्यटन ल्याउन सकिएको छैन। धार्मिक र सांस्कृतिक अनि साहसिक पर्यटनको पनि उत्तिकै सम्भावना छ।'
पर्यटकलाई लक्षित गरेर होटल खुले पनि यसको गुणस्तरमा समेत सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ।
बेलायतजस्तो व्यवस्थित अनि अति विकसित देशको होटल क्षेत्रमा काम गरेर नेपाल आए पनि आफू यतै रमाएको उनले बताए।
'नेपालमा केही समस्या भए पनि अवसरहरू उत्तिकै छन्। मुख्य कुरा त यो आफ्नो माटो हो। त्यही भएर होला मैले बेलायत हुँदा नेपाल खुब सम्झिन्थेँ, यता आएर बेलायत कम सम्झिन्छु,' उनले भने, 'एक्लैले गरेर केही हुँदैन। कसैको जादुको छडीले देश बन्ने होइन। देश बन्ने सामूहिक प्रयासले हो। यसका लागि मैले पनि थोरै योगदान गर्न सक्छु भन्ने सोच राखेको छु।'
काम गर्दा इमोसनल नभई प्राक्टिकल हुनुपर्ने भन्दै उनले नेपालीमा अझै पनि कामको गति सुस्त रहेको उनको बुझाइ छ। योसँगै नेपालमा काम गरिरहेकाहरूलाई विदेश जानबाट रोक्नको लागि हौसला बढाउन जरूरी रहेको उनको तर्क छ।
'होटलमा काम गरिरहेको एउटा कर्मचारीले मेरो भविष्य नेपालमै छ भनेर विश्वस्त हुने वातावरण बनाउन जरूरी छ। यसको लागि होटल व्यवस्थापनले कर्मचारीलाई दायित्वको रूपमा नभई सम्पत्ति ठान्नुपर्छ,' उनले भने, 'कर्मचारीलाई घर परिवार अनि काम गर्ने वातावरण र आर्थिक सुरक्षा सबैको चासो हुन्छ। यसको लागि एकातिर पर्यटनका लागि उपयुक्त वातावरण बनाउनुपर्छ भने लगानीकर्ताले पनि आफ्ना कर्मचारीलाई विश्वस्त बनाउनु पर्छ।'