गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि युरोप क्षेत्रीय महिला संयोजक पदमा बाबा राजेश्वरी थापाले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
लामो समयदेखि डायस्पोराका विभिन्न मुद्दाहरूमा सक्रिय रहँदै आएकी थापाले विशेष गरी महिलाहरूको हक, अधिकार, समानता र सशक्तीकरणलाई आफ्नो मुख्य एजेन्डा बनाएकी छन्।
उम्मेदवारी घोषणा गर्दै उनले युरोपमा रहेका नेपाली श्रमिक महिलाहरूको हकहितको रक्षा गर्ने र आवाजविहीन दिदीबहिनीहरूका लागि आफू एउटा सशक्त आवाज बन्ने प्रतिबद्धता व्यक्त गरिन्।
विभिन्न सामाजिक प्लेटफर्ममार्फत् नेपाली समुदायको हितमा निरन्तर काम गर्दै आएकी थापाले एनआरएनएलाई थप प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी रहेको प्रस्ट पारेकी छन्।
'युरोपमा टुटेका मनहरू जोड्ने, आपसी समझदारी र सहकार्य बढाउने तथा सम्पूर्ण डायस्पोरालाई एकताबद्ध, सशक्त र संगठित बनाउने मेरो स्पष्ट प्रतिबद्धता छ,' थापाले भनिन्।
त्यसैगरी, महिलाहरूको सम्मान, सहभागिता र नेतृत्व सुनिश्चित गर्दै न्यायपूर्ण, समावेशी र उत्तरदायी संगठन निर्माणतर्फ आफू पूर्ण रूपमा समर्पित रहने उनको भनाइ छ।
आफ्नो उम्मेदवारीलाई दृढतापूर्वक अघि बढाउँदै थापाले यस अभियानलाई सफल बनाउन सम्पूर्ण युरोपवासी गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग अमूल्य साथ, सुझाव र विश्वासको अपेक्षासमेत राखेकी छन्।