दोलखाका पशुपति प्रसाद भण्डारी नर्वे बसेको १० वर्ष भइसकेको छ। ओस्लो सहरमा बस्दै आएका उनको दैनिकी अहिले बालबालिकाको सिकाइ र हेरचाहमा बित्छ।
उनी त्यहाँ पेडागोजिकल (किन्डरगार्टेन) शिक्षकका रूपमा कार्यरत छन्।
नर्वेमा औपचारिक विद्यालय शिक्षा सुरू हुनुअघि ६ वर्षमुनिका बालबालिका किन्डरगार्टेन जान्छन्। त्यहाँ बालबालिकालाई खेल, गतिविधि र दैनिक सिकाइमार्फत उनीहरूको बौद्धिक, सामाजिक र भावनात्मक विकासमा सहयोग गरिन्छ।
'अनिवार्य त होइन तर ९० प्रतिशत बालबालिकालाई किन्डरगार्टेनमा राखेका हुन्छन्,' पशुपतिले भने, 'बच्चाहरूको शारीरिक र मानसिक विकासका कार्यहरू गराइन्छ।'
उनले यहाँ काम गरेको पाँच वर्ष भयो।
त्यसअघि उनी रेस्टुरेन्टमा काम गर्थे। उनकी श्रीमती स्कुलमा पढाउँथिन्। पशुपतिलाई पनि शिक्षा क्षेत्रमा काम गर्ने इच्छा जाग्यो। रेस्टुरेन्टको काम गाह्रो थियो। बिहानदेखि बेलुकासम्म खटिनुपर्ने भएकाले उनले त्यो काम छाडे र किन्डरगार्टेन शिक्षक बन्ने निधो गरे।
'खासमा हाम्रो सोच नर्वेमा थोरै समय बस्ने, पैसा जम्मा गर्ने अनि फर्किएर नेपालमै केही व्यवसाय गर्ने थियो,' उनले भने, 'तर श्रीमतीले सरकारी स्कुलमा जागिर पाइन्। त्यसपछि यहीँ बस्ने निधो गर्यौं। मैले पनि जागिर परिवर्तन गरेँ।'

पशुपतिले रेस्टुरेन्टको काम छाडेर किन्डरगार्टेन शिक्षकका लागि स्नातक तह तीन वर्षे पढाइ पूरा गरे।
उनका अनुसार त्यो बेला किन्डरगार्टेन शिक्षकको जागिर खानेहरू कम थिए। त्यसैले जागिर अवसर थियो। अहिले काम गरिरहेको ठाउँमा आवेदन माग गरेका बेला उनले भरे। अन्तर्वार्ता दिए र छानिए।
पशुपतिको परिवारको पुर्ख्यौली घर दोलखा हो। २०४४ सालमा परिवारै काठमाडौं आयो। त्यति बेला पशुपति तीन–चार वर्षका थिए। उनले काठमाडौंकै एक निजी स्कुलमा कक्षा ४ सम्म पढे।
त्यसपछि परिवारले बर्दियाको गुलरियामा घर किन्यो। त्यहाँ गएर पशुपति सामुदायिक स्कुलमा सोझै कक्षा ६ मा भर्ना भए। त्यहाँ दुई वर्ष पढेर उनी परिवारसँग फेरि काठमाडौं आए।
काठमाडौंमा दरबार हाइस्कुलमा कक्षा ८ मा भर्ना भए। त्यहीँबाट एसएलसी (एसइई सरह) पास गरे। अनि सरस्वती क्याम्पसमा व्यवस्थापन संकायमा भर्ना भए।
त्यहाँ उनको राजनीति यात्रा पनि सुरू भयो।
त्यति बेला आन्दोलनमा सहभागी हुँदा र क्रान्तिकारी गीतहरूले राजनीतिप्रति आकर्षित गरेको उनको भनाइ छ।
'कम्युनिस्ट पार्टी गरिबहरूको पार्टी भनेको भन्ने लाग्थ्यो,' उनले भने, 'त्यसैले हाम्रो आवाज बोलिदिने पार्टी भनेर त्यसैमा लागियो।'
राजनीतिमा लागेपछि उनी आन्दोलनमा पनि सक्रिय भए। आन्दोलन क्रममा पटक पटक पक्राउ पनि परे।
'राजा (ज्ञानेन्द्र शाह) को शासनको विरोध गरेको भन्दै एक पटक मलाई क्याम्पस हाताबाटै पक्राउ गरिएको थियो। त्यतिबेला एक महिनासम्म हिरासतमा बसेँ,' उनले भने।
पशुपतिले त्यही क्याम्पसबाट बिबिएस पनि पूरा गरे।
उनलाई घरमा भने 'ढुंगा हानेर पुग्दैन, जागिर गरेर खानुपर्छ' भन्थे। तर उनी विकास संस्थाका प्रोजेक्टका काम गर्थे। एक महिना काम गरेर त्यही कमाइले दुई–तीन महिना खर्च चलाउँथे।

'घरको किचकिच सुन्न मन नलागेर म कोठा लिएर एक्लै समेत बसेँ,' उनले भने।
बीचमा उनले एउटा बिस्कुट कम्पनीको डिलरसीप पनि लिए र दुई वर्ष चलाए।
२०७० सालमा उनले प्रेम विवाह गरे। त्यसको दुई वर्षपछि, २०७२ सालमा उनकी श्रीमती विद्यार्थी भिसामा नर्वे पुगिन्। श्रीमतीसँगै पशुपति पनि पुगे।
नर्वेका सुरूआती दिन सहज थिएनन्। काम र बसाइको संघर्ष चलिरह्यो।
'अहिले भने नर्वेमा टिक्न सक्ने आधार बनेको महसुस हुन्छ,' पशुपतिले भने।
उनका अनुसार नर्वेमा करिब ५ देखि ६ हजार नेपाली छन्। तीमध्ये पोर्चुगलबाट नर्वे आउने नेपालीको संख्या धेरै छ। विद्यार्थी भिसामा आएर पढेकै विषयसँग सम्बन्धित क्षेत्रमा काम गरे मात्रै स्थायी रूपमा बस्न सकिने अवस्था रहेको उनी बताउँछन्।
त्यस्तै नर्वेमा आम्दानी राम्रो छ। तर खर्च पनि उत्तिकै हुन्छ।
आगामी दिनमा पशुपति नेपाल फर्किएर किन्डरगार्टेन खोल्न चाहन्छन्।
'नेपालमा पनि अहिले आमाबुबा नै जागिरे भएकाले बच्चा हुर्काउन गाह्रो छ। यस्तो किन्डरगार्टेन हुँदा धेरै सजिलो हुन्छ,' उनले भने।