नेपालमा विपदले ठूलो क्षति पुर्याएपछि सरकारका लागि ठूलो चुनौतीमध्ये एउटा हो— क्षतिको यकिन तथ्यांक निकाल्नु।
जर्मनीमा रहेर प्रविधि क्षेत्रमा काम गरिरहेका स्याङ्जाका नवीन राज गैह्रे र उनको टोलीले उपग्रह तस्बिर तथा भू–स्थानिक तथ्यांकको विश्लेषणमार्फत क्षति आकलन गर्न सरकारलाई सहयोग गरिरहेका छन्।
नवीनले जर्मनीमा 'भिडा प्लेस' नामक आफ्नै कम्पनी खोलेका छन्। सो कम्पनीले विभिन्न देशमा भौतिक पूर्वाधार विकास सम्बन्धी काम गर्छ।
'पूर्वाधारको काम गर्न हामीले पहिल्यैदेखि ग्लोबल डेटा संकलन गरेर राखेका हुन्छौं,' कम्पनीका सह–संस्थापक नवीनले भने, 'सोही डेटामार्फत रसुवा बाढीबाट भएको क्षति विवरण निकाल्न सहयोग गरेका हौं।'
यो कम्पनीले कृत्रिम बुद्धिमत्ता, उपग्रह तस्बिर र तथ्यांक प्रयोग गरेर पूर्वाधार योजना, जोखिम मूल्यांकन तथा अनुगमन गर्छ।
बाढी आएका बेला नवीन नेपालमै थिए। क्षतिपछि उनले के सहयोग गर्न सकिन्छ भनेर अर्थमन्त्री स्वर्णिम वाग्लेसँग सम्पर्क गरे।
'अर्थमन्त्रीज्यूसँग एक वर्षअघि अस्ट्रेलियामा भएको एक सम्मेलनमा मेरो प्रत्यक्ष भेटघाट भएको थियो। मैले उहाँलाई हाम्रो कम्पनीको बारेमा बताएको थिएँ,' नवीनले सुनाए।
नवीनका अनुसार बाढीपछि उनले अर्थमन्त्रीलाई म्यासेज गरे। केही समयमै वाग्लेले उनलाई मन्त्रालयमै बोलाए।

जर्मनीमा भएका आफ्ना साथीहरूसँग डेटा मागेर नवीनले अर्थ मन्त्रालयलाई दिए। भदौ १७ गतेदेखि उनका साथी ऋषि पौडेलले मन्त्रालयमै गएर सहयोग गरे।
अरू काम भने जर्मनीस्थित कम्पनीबाटै हुने उनले बताए।
'त्यसरी उपग्रहबाट प्राप्त तस्बिर र अन्य तथ्यांक विश्लेषण गरेर कहाँ कस्तो परिवर्तन आएको छ भन्ने पहिचान गर्न सकिन्छ,' उनले भने, 'अहिले यही प्रविधि प्रयोग गरेर भवन, सडक, पुल, सार्वजनिक पूर्वाधार, दूरसञ्चार र विद्युत संरचना लगायतमा भएको क्षति आकलन तथा दृश्यांकन गर्ने काम भइरहेको छ।'
जर्मनीमा रहेको उनको टिमले प्रारम्भिक विश्लेषण समेत तयार पारिसकेको छ। अहिले त्यसलाई थप तथ्यांकसँग मिलाएर परिष्कृत गर्ने काम भइरहेको छ।
'मन्त्रालयको टोलीलाई तथ्यांक हेर्न केही समयका लागि सफ्टवेयरमा पहुँच दिइएको छ। त्यसबाट क्षतिको भौगोलिक अवस्था हेर्न, कुन ठाउँमा पुनर्निर्माणलाई प्राथमिकता दिने भन्ने योजना बनाउन तथा आवश्यक तथ्यांक दाता र सहायता निकायसमक्ष प्रस्तुत गर्न सहयोग पुग्छ,' उनले भने।
नवीनको घर स्याङ्जाको वालिङ हो। उनका बुबा निजी स्कुल चलाउँथे भने आमा समाजसेवामा सक्रिय थिइन्। परिवारले डेरी पनि चलाउँथ्यो।
नवीनकी एक बहिनी छन्।
कक्षा १२ सम्म नवीन बुबाकै स्कुलमा पढे। त्यसपछि मेकानिकल इन्जिनियरिङ पढ्न भारत गए। चार वर्षको पढाइ पूरा गरेपछि बैंगलुरूको एउटा कम्पनीमा काम गरे।
केही समयपछि कम्पनीले उनलाई भारतका लागि बिजनेस प्रमुखको जिम्मेवारी दियो।
भारतमा केही समय काम गरेपछि नवीन थप पढ्न जर्मनी पुगे। जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिखमा पावर इन्जिनियरिङ पढ्न थाले। तीन वर्षको पढाइ अवधिमा उनले काम पनि गरे।
'जर्मनीमा सुरूमा एक स्थानीय कम्पनीमा काम गरेँ। पछि साथीसँग मिलेर परामर्श सम्बन्धी काम गर्न थालेँ। हामी विशेषगरी विद्युत क्षेत्रको योजना निर्माण सम्बन्धी काम गर्थ्यौं,' उनले भने।
त्यही क्रममा विद्युत क्षेत्रको योजना बनाउन आवश्यक प्रविधि पर्याप्त नभएकाले काम गर्न कठिन भइरहेको थियो। त्यसको विकल्पमा स्याटलाइट तस्बिर प्रयोग गरेर पूर्वाधार योजना बनाउन सकिने अवधारणा उनीहरूको समूहले अघि सार्यो।

यसका लागि उनीहरूले युरोपियन स्पेस एजेन्सीलाई प्रस्ताव पठाए। सुरूमा एजेन्सीले लगानी गर्यो। नवीन र अरू दुई जनाले मिलेर 'भिडा' सफ्टवेयर विकास गरे। पछि कम्पनी नै स्थापना गरे।
सुरूदेखि नै विभिन्न स्रोतबाट प्राप्त लगानी र सहयोगमा कम्पनी अघि बढेको नवीन बताउँछन्। सन् २०२३ देखि कम्पनीमा बाह्य लगानीकर्ता पनि जोडिएका छन्।
'हामीले सफ्टवेयर बनायौं जुन राम्रो चल्यो। त्यसपछि त्यसैलाई व्यवसाय बनायौं,' उनले भने।
नवीनका प्रमुख दुई साझेदारहरू एक जना जर्मनीका र अर्का स्विट्जरल्यान्डका नागरिक हुन्। कामकै सिलसिलामा उनीहरुको भेट भएको थियो। जर्मन साथीले अन्तर्राष्ट्रिय विकासमा विद्यावारिधि गरेका छन् भने स्विसले भौतिकशास्त्र पढेका छन्।
'अहिले नेपाललाई विपत्तिका बेला सहयोग गर्न पाउँदा मेरा विदेशी साथी धेरै खुसी छन्,' नवीनले भने, 'विदेशमा हामीले विकास गरेको ज्ञान, प्रविधि र तथ्यांक विश्लेषणको क्षमता सरकारलाई उपलब्ध गराउन पाउँदा मलाई पनि धेरै खुसी लागेको छ।'