अविरल वर्षाका कारण शुक्रबार र शनिबार सरकारले उच्च सतर्कता अपनाउँदै यातायात व्यवस्थापन गर्यो।
केही समय उपत्यका बाहिरिने तथा भित्रिने सवारी रोकेपनि उपत्यकामा तरकारी अभाव नभएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बताएको छ।
दसैंको समय भएकाले लाखौं मानिस उपत्यकाबाट बाहिरिएको र मासुको खपत बढेकाले पनि तरकारी माग नबढेको समितिले उल्लेख गरेको छ।
वर्षाका कारण कालिमाटी तरकारी बजारमा थोरै मात्रामा तरकारी भित्रिरहेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए।
‘वर्षाले बाटो अवरुद्ध छ,’ उनले भने, ‘छिमेकी जिल्लाबा थोरै थोरै भित्रिरहेको छ।’
समितिको तथ्यांक हेर्दा शुक्रबार कालिमाटीमा दुई लाख १६ हजार किलो ताजा तरकारी तथा फलफूल भित्रिएको थियो। त्यस्तै, शनिबार तीन लाख १२ किलो भित्रिएको थियो। आइतबारको तथ्यांक भने समितिले निकालेको छैन।
‘आज कति तरकारी भित्रियो भोलि मात्रै थाहा हुन्छ,’ उनले भने।
बजारमा तरकारी थोरै मात्रामा भित्रिएपनि अभाव भने नभएको उनको भनाइ छ।
‘दसैंले धेरै गाउँमै छन्। वर्षाले बजारमा निस्कन सक्ने अवस्था छैन। व्यापारीहरूले तरकारी बिकेको छैन भन्दै थिए,’ उनले भने।
उनका अनुसार दसैंको समयमा तुलनात्मक रूपमा कालिमाटी बजारमा तरकारी थोरै भित्रने गरेको छ।
कालिमाटी तरकारी बजारमा छिमेकी जिल्ला धादिङ, मकवानपुर लगायतका जिल्लाबाट आउने गरेको छ।