पोखरास्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालयको बगैँचामा बाँदरको एउटा हुल बसिरहेको छ।
कफीलाई छहारी दिन रोपिएका अग्ला रूख उनीहरूका खेलमैदान बनेका छन्। रूखमुनि लटरम्म फलेका कफीका बोटतिर भने बाँदरको ध्यान छैन।
नेपालको मध्यपहाडमा बाँदर किसानका लागि सबैभन्दा ठूलो समस्या मानिन्छ। मकै, कोदो, गहुँ, फलफूल र तरकारी खाइदिने वा नष्ट गरिदिने बाँदरले कफी भने प्रायः छुँदैन।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय निर्देशक चन्द्र पुरीले वर्षौंदेखि यही दृश्य देखिरहेका छन्।
‘हाम्रो बगैँचामा बाँदरको हुल नै छ,’ उनले भने, ‘हाँगा भाँच्नेबाहेक कफीमा खासै क्षति गर्दैन। सायद राम्ररी पाकेपछि मात्र चेरी गुलियो हुन्छ, नत्र टर्रो स्वाद भएकाले बाँदरले रूचाउँदैन होला।’
यही अनुभव पोखराको कृष्तीमा २२ वर्षदेखि कफी खेती गर्दै आएका नवराज पोखरेलको पनि छ।
‘फलफूल र अन्नबालीमा बाँदर लाग्छ,’ उनले भने, ‘कफीमा लागेको छैन। कहिलेकाहीँ हाँगा भाँचिदिन्छ, तर बोट नै मार्ने वा कफी खाएर सखाप पार्ने गरेको छैन।’
यही एउटा अनुभवले अहिले मध्यपहाडका किसानलाई नयाँ सम्भावना देखाउन थालेको छ।
नेपालको मध्यपहाडमा बाँदर आतंक रोक्ने विषय वर्षौंदेखि सडकदेखि संसदसम्म बहसको विषय बनेको छ। धेरै गाउँमा किसानले लगाएको मकै, कोदो, आलु, तरकारी र फलफूल बाँदरले नष्ट गरिदिँदा खेतीयोग्य जमिन बाँझिन थालेको छ। कतिपय किसान खेती नै छाडेर विस्थापित भएका छन्।
स्थानीय तहदेखि संघीय सरकारसम्म विभिन्न उपायबारे छलफल भए पनि भरपर्दो समाधान अझै भेटिएको छैन।
पोखरामा बाँदर नियन्त्रणको नाममा रूख काट्ने अभियान चलाइयो, तर त्यसले पनि समस्या हटाउन सकेन।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले समेत बाँदर नियन्त्रणका दीर्घकालीन उपाय खोज्न धेरै प्रयास भए पनि प्रभावकारी समाधान अझै फेला नपरेको सार्वजनिक रूपमा बताउँदै आएका छन्।
यस्तो अवस्थामा कफी किसानले भने फरक अनुभव सुनाइरहेका छन्। बाँदरले अन्य बालीमा जस्तो कफीमा क्षति नगर्ने भएकाले उनीहरूका लागि यो आर्थिक मात्र होइन, व्यावहारिक विकल्प पनि बनेको छ।
नवराजका बुबाले २२ वर्षअघि गाउँको जग्गामा कफीको व्यावसायिक खेती सुरू गरेका थिए। अहिले त्यो सानो बगैँचा प्रशोधन, ब्रान्डिङ र निर्यातसम्म फैलिएको व्यवसाय बनेको छ।
नवराजले पोखराको कृष्तीमा २० रोपनी र स्याङ्जाको हरिनासमा ३० रोपनी जमिनमा कफी खेती गर्छन्। वार्षिक करिब २,२०० किलो कफी उत्पादन हुन्छ। आफ्नै उत्पादनसँगै अन्य किसानको कफी खरिद गरी वर्षमा झन्डै ७ हजार किलो प्रशोधन गर्छन्।
पोखरामा सञ्चालन गरेको बयेली क्याफेूमा ग्राहकले आफ्नै बारीमा फलेको कफीको स्वाद लिन पाउँछन्। त्यहाँबाट प्रशोधन गरिएको कफी काठमाडौं, चितवन, काभ्रे र कोहलपुरका क्याफेसम्म पुग्छ। अमेरिका, जापान र युरोपका बजारमा पनि नेपाली कफी निर्यात भइरहेको छ।
तर नेपाली उपभोक्ताले भने अझै आफ्नै देशको कफी पर्याप्त चिन्न नसकेको उनी बताउँछन्।
‘हाम्रो बजारमा कफी संस्कृति त बढेको छ,’ उनले भने, ‘तर धेरै क्याफेमा अझै विदेशी कफी प्रयोग हुन्छ। विश्व बजारले नेपाली कफीको स्वाद चिनेको छ, नेपाली बजारले अझै चिन्न बाँकी छ।’
नवराजको बगैँचामा पनि कफीलाई छहारी दिन रोपिएका अग्ला रूखमा बाँदर मच्चिरहेकै हुन्छन्। तर कफीका बोट भने सुरक्षित छन्।
‘बाँदरले कफीलाई दुःख दिएको छैन,’ उनले भने, ‘बाँदर लाग्ने ठाउँमा कफी उपयुक्त विकल्प हो। अरू खेतीभन्दा आम्दानी पनि धेरै हुन्छ, बजारको समस्या पनि छैन।’
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार अहिले नेपालका ४३ जिल्लामा करिब ३० हजार किसानले कफी खेती गरिरहेका छन्। मध्यपहाडको ८०० देखि १,६०० मिटर उचाइसम्म मुख्यतः अरेबिका जातको कफी उत्पादन हुन्छ।
आर्थिक वर्ष २०८१/८२ मा ५,५०१ हेक्टर क्षेत्रफलबाट ६४२ मेट्रिक टन कफी उत्पादन भएको थियो। तर स्वदेशी उत्पादनले माग धान्न सकेको छैन। सोही वर्ष २३० मेट्रिक टन कफी आयात गर्दा १४ करोड ४१ लाख रुपैयाँ विदेशिएको थियो।
अर्कोतर्फ, ६४ मेट्रिक टन नेपाली कफी निर्यात भएर ११ करोड ४३ लाख रुपैयाँ आम्दानी भएको थियो। बोर्डका अनुसार नेपालमा उत्पादन हुने करिब १० प्रतिशत कफी जर्मनी, जापान, स्विट्जरल्यान्ड, दक्षिण कोरिया, बेलायत र अष्ट्रेलियालगायतका देशमा पुग्छ।
पुरीका अनुसार अन्तर्राष्ट्रिय बजारमा नेपाली अर्गानिक अरेबिका कफीको माग लगातार बढिरहेको छ।
बोर्डले चालु आर्थिक वर्षका लागि फ्रेस चेरीको न्यूनतम मूल्य प्रतिकिलो १०५ रुपैयाँ तोकेको भए पनि बजारमा किसानले १३० देखि २४० रुपैयाँसम्म पाइरहेका छन्। पर्चमेन्ट कफीको मूल्य प्रतिकिलो ८०० देखि १,२०० रुपैयाँसम्म पुगेको छ।
एउटा रोपनीमा करिब १०० बिरूवा रोप्न सकिन्छ। तीनदेखि पाँच वर्षमा उत्पादन सुरू हुने कफीको बोटले करिब ३० वर्षसम्म फल दिन्छ। अन्य धेरै बालीको तुलनामा कफीबाट तीनदेखि चार गुणासम्म बढी आम्दानी लिन सकिने पुरी बताउँछन्।
‘कफी खेतीमा अरू खेतीभन्दा तीन–चार गुणा फाइदा छ,’ उनले भने, ‘बजार पनि सुनिश्चित छ। विशेष गरी बाँदरले हैरान पारेको मध्यपहाडमा कफी सबैभन्दा उपयुक्त विकल्प बन्न सक्छ।’
उनका अनुसार कफी छोटो अवधिको खेती होइन। राम्रो छहारी, बगैँचा व्यवस्थापन, सिँचाइ र मल व्यवस्थापनसँगै कम्तीमा ३० वर्षको योजना बनाएर खेती गर्नुपर्छ।
नेपालमा कफी खेतीको इतिहास भने धेरै पुरानो छैन। गुल्मीको आँपचौरमा हिरा गिरीले बर्माबाट ल्याएका बिरूवाबाट यसको सुरूआत भएको मानिन्छ।
पछिल्ला सात वर्षमा कफी संस्कृति तीव्र रूपमा विस्तार भएको छ। बजार बढेको छ, युवाको आकर्षण बढेको छ, र विदेशी माग पनि उकालो लागिरहेको छ।
मध्यपहाडका किसानका लागि भने कफीको सबैभन्दा ठूलो विशेषता यसको स्वाद वा मूल्य मात्र होइन।
किसानका अन्य बालीमा नियमित आक्रमण गर्ने बाँदरले कफीलाई भने अझैसम्म आफ्नो रोजाइको भोजन बनाएको छैन। जहाँ बाँदरले खेती जोगाउन मुस्किल बनाइदिएको छ, त्यहीँ कफी धेरै किसानका लागि खेती जोगाउने एउटा सम्भावना बनेर उभिएको छ।