अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि डलरको बिक्रीदर मूल्य १२२ रुपैयाँ ३४ पैसा तोकेको छ भने खरिददर मूल्य १२१ रुपैयाँ ७४ पैसा तोकेको छ।
अघिल्लो दिनको तुलनामा यस दिन १ रुपैयाँ ७४ पैसाले डलर महँगिएको छ।
भारतीय मुद्रा कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामा परेको छ। भारतसहित विश्वका सेयर बजारमा आएको गिरावटपछि डलरको माग बढेको छ।
जसले गर्दा भारु हालसम्मकै कमजोर भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
कोरोनाभाइरसको प्रभावले अधिकांश मुलुकको अर्थतन्त्र खस्किने भएपछि सेयर बजारमा तीव्र गिरावट आएको छ। यसले गर्दा डलरप्रति लगानीकर्ताको आकर्षण बढेको छ।