नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंक तथा वित्तीय संस्थामाथि भएको लगातारको आक्रमणले बैंकिङ वातावरण असहज बनाएको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राखेको 'बैंकिङ क्षेत्रमा बढेका चुनौती र गर्नुपर्ने काम' विषयक कार्यक्रममा उनले राजनीतिक स्वार्थ पूर्ति गर्ने नाममा बैंक तथा वित्तीय संस्थामाथि आक्रमण हुनु दुःखद भएको बताए।
बैंकका कर्मचारीमाथि भएको आक्रमणले यस क्षेत्रमा चुनौती बढेको उनको भनाइ छ।
'ऋण दिने र लिने विषय कानुनमा स्पष्टसँग उल्लेख गरिएको छ, सोहीअनुसार प्रक्रिया अगाडि बढाइएको हुन्छ, तर यसरी भौतिक रूपमा आक्रमण हुनु दुःखद छ,' उनले भने।
अध्यक्ष कोइरालाले कतिपय राजनीतिज्ञहरूले बिना कुनै आधार ऋण मिनाहालगायतको कुरा पनि गरेको बताए।
त्यस प्रकारका अतिरञ्जित विषयमा नफस्न ऋणीहरूलाई उनको आग्रह छ।
बैंकिङ क्षेत्र अन्य क्षेत्रको तुलनामा बढी पारदर्शी भएको समेत उल्लेख गर्दै उनले बैंकमा समस्या हुँदा अन्य क्षेत्रमा पनि असर पर्ने बताए।
५० हजारभन्दा बढीलाई रोजगारी दिने यो क्षेत्रमा असर पर्दा अन्य क्षेत्र पनि प्रभावित हुने भएकाले संयमता अपनाउन जरुरी रहेको उनको भनाइ थियो।
वर्तमान समयमा बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहे पनि सोअनुसार माग भने नभएको उनले बताए।
पछिल्लो समय मुलुकमा देखिएको राजनीतिक उतारचढावले पनि कर्जा प्रवाह कम भएको हुनसक्ने उल्लेख गर्दै उनले लगानीकर्ताको मनोबल पनि कमजोर भएको बताए।
यद्यपि कर्जा प्रवाहका सम्बन्धमा केन्द्रीय बैंकले पनि केही प्रयास भने गरेको उनको भनाइ थियो।