लामो समयदेखि रोकिएको गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समितिलाई पूर्णता दिएसँगै प्रक्रिया अगाडि बढेको हो।
मन्त्रिपरिषद् बैठकले समितिको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
यसअघि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्वउपाध्यक्ष विश्वनाथ पौडेल रहेको समिति बनाएको थियो।
तर एक महिनासम्म कुनै पनि बैठक बस्न नसकेको भन्दै भट्टराई वैशाख ९ गते समितिबाट बाहिरिएका थिए। उनी बाहिरिएपछि गभर्नर सिफारिस समितिको बैठक नै बस्न सकेको थिएन।
सिफारिस समितिले पूर्णता पाएसँगै समितिले आगामी गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ।
गभर्नर बन्ने चर्चाका बीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले राजीनामा दिएका छन्। उनले राजीनामा दिएसँगै उनी गभर्नर बन्न अयोग्य भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो।
बुधबार सर्वोच्च अदालतले उनीविरूद्ध परेको रिटमा कुनै आदेश नगरेपछि बाटो खुलेको हो।
सत्तारूढ दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सहमति नजुट्दा गभर्नर नियुक्तिको विषय अन्योलमा परेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता सहयात्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको पछिल्लो भेटवार्तामा भट्टलाई गभर्नर बनाउन सहमति भइसकेको छ।
दुई ठूला दलहरूबीचको सहमति र सिफारिस समितिले पूर्णता पाएसँगै गभर्नर नियुक्तिको प्रक्रिया अगाडि बढ्ने भएको हो।