भदौ २३ गतेबाट दुई कम्पनीको हकप्रद खुल्ने भएको छ। सिटी होटलले ८० प्रतिशत र रिभर फल्सले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएका हुन्।
सिटी होटलले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर जारी गर्ने छ। कम्पनीले साउन २७ गते बुक क्लोज गरेको थियो। यस अनुसार साउन २६ गतेसम्म सेयर स्वामित्व रहेकाहरूले मात्रै हकप्रदमा आवेदन दिन पाउनेछन्
कम्पनीको हकप्रद सेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ।
प्रभु क्यापिटल लिमिटेड यस कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ। प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट समेत हकप्रद सेयरमा आवेदन दिन सकिनेछ।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी–आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।
हाल १ अर्ब ६७ करोड रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद जारीपछि यस्तो पुँजी ३ अर्ब १ करोड रूपैयाँ पुग्नेछ।
त्यस्तै, रिभर फल्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो। कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो। यस अनुसार साउन २५ गतेसम्म यस कम्पनीको सेयर स्वामित्व रहेकाहरूले मात्रै हकप्रदमा आवेदन दिन पाउनेछन्।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ। प्रभु बैंकका बेसीसहर (लमजुङ), पोखरा, वीरगंज, इलाम, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि कम्पनीको सेयरमा आवेदन दिन सकिनेछ।
त्यस्तै, ‘मेरो सेयर’ अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ।
हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रूपैयाँ छ। हकप्रद निष्कासनपछि यस्तो पुँजी १ अर्ब ४० करोड रूपैयाँ पुग्नेछ।