जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा २३ अर्ब २० करोड ९१ लाख रूपैयाँ दाबी परेको छ।
यससध्ये निर्जीवन बीमा कम्पनीहरूबाट नेपाल पुनर्बीमा कम्पनीमा कूल २ हजार ७३३ वटा दाबी परेको छ।
नेपाल पुनर्बीमा कम्पनीमा कुल १५ अर्ब ७६ करोड ४३ लाख रूपैयाँको दाबी परेको हो।
नेपालमा हुलदंगा तथा तोडफोडको लागि गरिने बीमा शतप्रतिशत नेपाल पुनर्बीमा कम्पनीमा मात्रै गर्नुपर्ने व्यवस्था गरिएको छ।
यहीकारण प्रत्यक्ष रूपमा हिमालयन रि इन्सुरेन्समा भने कुनै दाबी परेको छैन।
तर, नेपाल पुनर्बीमा कम्पनीले पनि केही बीमाको दायित्व हिमालयन रिमा समेत सारेको हुनसक्ने प्राधिकरणका अधिकारीहरूको अनुमान छ।
‘नेपाल पुनर्बीमा कम्पनीले केही बीमा दायित्व आफुले राखेर केही विदेशी पुनर्बीमा कम्पनीमा र केही हिमालयन रिमा पनि सारेको हुनसक्छ,’ प्राधिकरणका प्रवक्ता तथा कार्यकारी निर्देशक सुशिलदेव सुवेदीले बताए।
अहिले प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीले कति दायित्व आफुले राखेर कति दायित्व अन्यमा सारेको छ भन्ने विवरण भने संकलन गरिसकेको छैन।
पुनर्बीमा कम्पनीले हालसम्म निर्जीवन बीमा कम्पनीहरूलाई करिब १ अर्ब ६३ करोड ३५ लाख रूपैयाँ अग्रिम (पेश्की) भुक्तानी दिइसकेको छ। र ६० वटा दाबीको मूल्याङ्कन तथा अनूगमनका लागि संयुक्त बीमा सर्भेयर खटाएको छ।
हालसम्म विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा ३ हजार १६६ वटा बीमा दाबी परेको हो। कुल २३ अर्ब २० करोड ९१ लाख रूपैयाँको दाबी परेको छ।
निर्जीवन बीमा कम्पनीहरूले पनि ग्राहकहरूलाई कूल दाबी रकममध्ये हालसम्म २ अर्ब १ करोड ९८ लाख रूपैयाँ अग्रिम भुक्तानी समेत गरिसकेको छ।
आगामी एक महिनाभित्रमा सबै दाबी भुक्तानी हुनसक्ने सम्भावना रहेको प्राधिकरणका अधिकारीहरू बताउँछन्।
अहिले परेको कुल २३ अर्ब २० करोड ९१ लाख रूपैयाँको दाबी पनि घट्ने अनुमान गरिएको छ।
यसअघि कुल २३ अर्ब ३९ करोड रूपैयाँसम्म दाबी परेकोमा यस्तो दाबी रकम घट्दै गएको हो।
कतिपय दाबी परेपनि नलाग्ने देखिएको र केही दाबीमा अनुमान गरिएको क्षतिभन्दा सर्वेयरहरूले तयार पारेको प्रतिवेदनमा क्षति कम देखिएकोले पनि यस्तो दाबी रकम घटेको हो।
यस्तो कुल दाबी १५/१६ अर्ब रूपैयाँ हाराहारीमा सीमित हुने अनुमान प्राधिकरणका अधिकारीहरूले गरेका छन्।
निर्जीवन बीमा कम्पनीहरूले यस्तो दाबीको ५/६ अर्ब बराबरको बीमा आफुले सकारेको र बाँकी ९/१० अर्ब रूपैयाँ पुनर्बीमा कम्पनीहरूमा सारेको अनुमान गरिएको छ।
नेपाल पुनर्बीमा कम्पनीले पनि ५६ अर्ब रूपैयाँ बराबर दाबीको दायित्व अन्य नेपाली तथा विदेशी पुनर्बीमा कम्पनीमा सारेको अनुमान छ।