बुधबार नेप्से परिसूचक २०.५६ अंकले घटेको छ। बजार बन्द हुँदा नेप्से २५४४ मा आएको छ।
यसदिन कारोबार रकममा सामान्य सुधार देखिएको छ। मंगलबार बजारमा तीन अर्ब ६२ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार तीन अर्ब ८४ करोडको कारोबार भएको हो।
बजारमा कारोबारमा आएकामध्ये उत्पादनमुलक बाहेक सबै समूहगत परिसूचक घटेका छन्।
उत्पादनमुलक समूहको परिसूचक १६.९६ अंकले बढेर ७२८७ विन्दुमा आएको छ। व्यापारमुलक र अन्य समूहमा सबैभन्दा धेरै गिरावट देखिएको छ। यी समूहमा क्रमशः २.३५ र १.३३ प्रतिशतले कमी आएको हो।
यसदिन तीन सय २१ लगानी उपकरण कारोबारमा आउँदा ७२ वटाको मूल्य बढेको छ। दुई सय २९ वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ।
हालै सूचीकरण भएका सागर डिष्टिलरी, बुंगल हाइड्रो, बन्दिपुर केवलकारको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ। त्यस्तै, भुगोल हाइड्रोको पनि सेयर मूल्य १० प्रतिशतले बढेको हो।
हालै सूचीकरण भएको दरमखोला हाइड्रो, माबिलुङ इनर्जीको सेयर मूल्य आठ प्रतिशतभन्दा धेरैले घटेका छन्।
यी कम्पनीको प्रतिकित्ता पाँच सय रूपैयाँभन्दा केही बढी मूल्यमा कारोबार भएको छ।
एनआरएन इन्फ्रास्ट्रकचरको सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको छ। कम्पनीको ४० करोड ३४ लाख रूपैयाँको सेयर किनबेच भएको हो।
कम्पनीको ५० रूपैयाँले मूल्य घटेर कारोबार भएको छ। कम्पनीले हालै ४० प्रतिशत बोनस सहित ४२ प्रतिशत लाभांश र एक बराबर एक हकप्रद दिने घोषणा गरेको छ।