बुधबारसहित लगातार तेस्रो दिन नेप्से परिसूचक बढेको छ।
नेप्से ५.७० अंकले बढेर २६२५.७० विन्दुमा पुगेको हो।
बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।
बुधबार बजारमा चार अर्ब पाँच करोड रूपैयाँको कारोबार भएको हो। मंगलबार भने बजारमा ३ अर्ब २९ करोड रूपैयाँको कारोबार भएको हो।
यस दिन ३३२ वटा लगानी उपकरण कारोबारमा आएकोमा १७८ कम्पनीको सेयरमूल्य बढेको छ भने एक सय ३१ वटाको घटेको छ। अन्यको स्थिर छ।
यसदिन सबैभन्दा धेरै वृद्धि वित्त कम्पनी समूहमा भएको छ।
यो समूहमा १.७५ प्रतिशतले बढेर २३३९ विन्दुमा पुगेको छ।
यो समूहका मन्जुश्री फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको उल्लेख्य कारोबार भएको छ। यी कम्पनीको क्रमशः १३ करोड र सात करोड रूपैयाँको कारोबार भएको हो।
बुधबार स्वस्तीक लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
कम्पनीको मूल्य दुई हजार ८१५ रूपैयाँ ६० पैसा पुगेको छ।
जम्मा पाँच करोड ७७ लाख रूपैयाँ चुक्ता पुँजी भएको यस कम्पनीको सेयर आपूर्ति कम छ। त्यसैले पनि यसको मूल्य बढिरहेको हो।
यसदिन बाराही हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले मूल्य घटेर प्रति कित्ता ५६० रूपैयाँमा कारोबार भएको छ।
बुधबार युनियन पावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ५०४ रूपैयाँको दरमा अन्तिम कारोबार भएको छ।
यस कम्पनीको २२ करोड ७८ लाख बराबरको सेयर कारोबार भएको हो। कम्पनीको मूल्य अघिल्लो दिनको तुलनामा ३.४८ प्रतिशतले बढेको छ।