नयाँ सरकार गठनपछि आइतबार खुलेको बजार उच्च अंकले घट्यो। आइतबार नेप्से ७१.०५ अंकले घट्यो र २८७९ विन्दुमा आइपुग्यो।
नयाँ शक्तिशाली सरकार बनेका कारण सेयर बजार बढ्ने अपेक्षा गरिएको थियो। तर त्यस विपरीत बजार घटेको छ।
बजार उच्चले घट्दा कारोबार रकम पनि उच्च नै छ। यसले बजारमा सेयर आपूर्ति बढेको संकेत गर्छ।
पुराना दलका नेताहरू पक्राउ पर्नु र यसविरूद्ध भइरहेको विरोधले आन्तरिक राजनीतिमा तनाव बढेको छ। यही कारण सेयर लगानीकर्ताहरूको मनोविज्ञान त्रसित भएको हो।
यसले गर्दा आइतबार बजारमा सेयर बिक्री आपूर्ति वृद्धि भयो र बजार पनि घट्यो।
'आइतबार पनि बजार यत्तिको घट्नुपर्ने त थिएन, तर चाँडै बजार सुधार हुन सक्छ,' एक ब्रोकरले भने, 'बजार वा अर्थतन्त्र सम्बन्धी नीतिगत कारणले नभई राजनीतिक कारणले बजार घटेकाले क्षणिक प्रभाव हुनेछ।'
बजारमा राजनीतिक कारणको प्रभाव छोटो हुन्छ। तर राजनीतिक दलले नीतिले भने बजारलाई लामो समय प्रभाव पार्छ।
नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले पनि कठोर नीति ल्याएको छैन। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पद बहाली गरेकै दिन निजी क्षेत्रलाई 'दुःख दिइरहेको' राजस्व अनुसन्धान विभाग खारेज गर्ने, निजी क्षेत्रको विस्तारमा बाधक बनेका १५ वटा ऐन खारेज गर्ने बताएका थिए।
सरकारले सार्वजनिक गरेको एक सय कार्यतालिकाले पनि निजी क्षेत्रको मनोविज्ञान उकास्ने औद्योगिक संगठनहरूले प्रतिक्रिया दिइरहेका छन्। सरकारले निजी क्षेत्र संरक्षण एवम प्रवर्द्धन रणनीति बनाउने लगायतका नीति सार्वजनिक गरेको छ।
त्यस्तै, विद्युत खरिद सम्झौता गर्न बाँकी रहेका आयोजनाहरूसँग तत्काल यस्तो सम्झौता गर्ने उल्लेख गरिएको छ।
हाल सेयर बजारमा सबभन्दा ठूलो क्षेत्र जलविद्युत क्षेत्र भएकाले यसको लाभ यो क्षेत्रमा पर्नसक्ने सम्भावना पनि छ।
आइतबारको बजारले घट्ने दरिलो संकेत भने गरेको छैन। आइतबार बजार उच्चले घट्दा लामो शरीर भएको रातो मैनबत्ती आकृति बनेको छ। कतिपयले यो मैनबत्ती 'मास्टर क्यान्डल' हो कि भन्ने आशंका गरिरहेका छन्।
यो आकृति बन्नुअघिका पाँच दिनमा बनेका सबै मनबत्तीलाई आइतबारको मैनबत्तीको शरीरले ढाकेको छैन। त्यसैले यसलाई मास्टर क्यान्डल नै मान्न भने मिल्दैन।

आइतबार २९५८ मा बजार खुल्यो र २८७८ मा बन्द भयो। गत मंगलबार बजार २९६० मा बजार बन्द भएको थियो भने बुधबार २९६४ मा बजार खुलेको थियो। यी दुवै दिनको बनेको मैनबत्तीको शरीरलाई आइतबार बनेको मैनबत्तीले ढाकेन। त्यसैले पनि यसलाई मास्टर क्यान्डल नै भने भन्न मिल्दैन।
बिहीबार बनेको मैनबत्ती आकृतिलाई भने आइतबार बनेको मैनबत्तीको शरीरले पूरै ढाकेको छ। यो दुई दिनमा भने इनगल्फिङ बियरिस आकृति बनाएको छ। यसले बजार थप घट्न सक्ने संकेत गर्छ।
यो दरिलो संकेत भने होइन। सोमबार पनि बजार घटेर कालो मैनबत्ती बन्यो र आइतबारको बन्द विन्दु २८७९ भन्दा तल नै रहेर सोमबार बजार बन्द भयो भने नेप्से थप केही समय घट्न सक्छ।
सोमबार पनि यसरी कालो मैनबत्ती बनेमा बिहीबार, आइतबार र सोमबार गरेर 'थ्री आउटसाइड डाउन' आकृति बन्छ। यसले भने बजार केही समय घट्न सक्ने दरिलो संकेत गर्छ।
मैनबत्ती विश्लेषणले लगानीकर्ताको मनोभाव देखाउने र यो छोटो अवधिको विश्लेषणका लागि बढी प्रभावकारी हुने भएकाले लगानीकर्ताहरूले यसै अनुसार आफ्नो रणनीति बनाउनु सही हुन्छ।