नयाँ सरकार गठनपछि सेयर बजार लगातार उच्चले घटिरहेको छ। नयाँ सरकार बनेपछि दुई दिन खुलेको बजार दुवै दिन घट्यो।
यो दुई दिनमा नेप्सेले ११८ अंक गुमाएको छ।
लगानीकर्ता छोटेलाल रौनियार यो अवस्थालाई बजारले सरकारलाई नरूचाएको अर्थमा लिन नहुने बताउँछन्।
'निर्वाचनको परिणामपछि पनि सेयर बजार वृद्धिको बाटोमा गएको थियो। त्यसैले सरकारलाई बजारले नरूचाएको भन्ने अर्थमा यसलाई लिनु हुँदैन,' उनले भने।
सेयर बजार निकै संवेदनशील हुने भएकाले सरकारले पछिल्लो समय गरेको पक्राउ लगायतका कारबाहीको असर भने बजारमा परेको उनको भनाइ छ।
'नयाँ बनेको सरकारले यसअघि नै यी कारबाही प्रक्रिया अगाडि बढाउने, भष्ट्राचार अन्त्य गर्ने भनेर आएको थियो,' उनले थपे, 'यस्ता पक्राउपछि आन्तरिक द्वन्द्व बढ्छ कि भनेर लगानीकर्ताहरू डराएका हुन्।'
केही दिनमा यो प्रभाव कम हुन सक्ने उनको अनुमान छ।
लगानीकर्ता अत्तालिँदा दुई दिनमा सेयर लगानीकर्ताको सम्पत्तिको मूल्य करिब दुई खर्ब रूपैयाँ घटिसकेको छ।
गत बिहीबार कुल बजार पुँजीकरण ५० खर्ब रूपैयाँ थियो। सोमबार ४८ खर्ब १३ अर्ब रूपैयाँ भएको छ।
नेप्सेले २०७८ भदौमा बनाएको ३१९८ को उच्च विन्दुलाई लामो समयदेखि गतिलो प्रतिरोध बनाइरहेको छ। त्यसपछि हालसम्म पाँच पटकसम्म ३००० सम्म पुग्दै नेप्से घट्दै आएको छ।
अहिले पनि यो विन्दुमा देखिएको प्रतिरोध नेप्सेले तोड्न नसकिरहेको हो। त्यसैले यो विन्दु पार गर्न कुनै 'ठूलै कारण' आवश्यक पर्छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल सरकार बनेपछि राजनीतिक स्थिरता आउने विश्वासमा पनि यस पटक बजारले ३००० को प्रतिरोध सजिलै तोड्ने अनुमानमा धेरै लगानीकर्ताहरू थिए।
बहुमतको सरकार बन्ने उत्साहले अन्तर्राष्ट्रिय स्तरमा भइरहेको इरान–इसराइल–अमेरिका द्वन्द्वबाट पर्न सक्ने प्रभाव पनि छायामा पारिरहेको थियो।
तर इरान–इसराइल–अमेरिका द्वन्द्व ३१ दिन कटिसक्दा पनि रोकिने छाँटकाँट छैन। मुलुकभित्र पनि प्रमुख नेताहरू पक्राउपछि राजनीतिक दलहरूले प्रदर्शन गर्नु लगायत कारण बजारले स्पष्ट संकेत गर्न सकिरहेको छैन।
सेयर बजारले यस्ता घटनामा छिटो प्रतिक्रिया जनाउने भएकाले पनि केही दिन बजारको प्रवृत्ति ध्यान दिनुपर्ने देखिएको छ।
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषणमा प्रयोग गरिने मैनबत्ती विश्लेषणले अहिले सेयर बजार बियरिस प्रवृत्तिमा जान सक्ने देखाएको छ।
यसले बिहीबार, आइतबार र सोमबार गरेर 'थ्री आउटसाइड डाउन' आकृति बनाएको छ।
बिहीबार बनेको मैनबत्तीको आकृतिलाई आइतबार बनेको मैनबत्तीको शरीरले पूरै ढाकेको छ। यो दुई दिनमा इनगल्फिङ बियरिस आकृति बनाएको छ। यसले बजार थप घट्न सक्ने संकेत गर्छ। तर दरिलो संकेत होइन
सोमबार पनि बजार घटेर रातो मैनबत्ती आकृति बन्यो। सोमबार नेप्से आइतबारकोभन्दा तलसम्म ओर्लियो। यसरी 'थ्री आउटसाइड डाउन' आकृति बन्यो। यसले बजार केही समय घट्न सक्ने दरिलो संकेत गरेको छ।
मैनबत्ती विश्लेणले लगानीकर्ताको मनोभाव देखाउने र यो छोटो अवधिको विश्लेषणका लागि बढी प्रभावकारी हुने भएकोले लगानीकर्ताहरूले यसै अनुसार आफ्नो रणनीति बनाउनु सही हुन्छ।
बजारले पहिलो चरणमा २८ सय विन्दुमा टेको पाउन सक्ने सम्भावना छ। हालै मात्र पनि नेप्सेले २७९६ देखि २७९८ मा दुई पटक टेवा परीक्षण गरेर बजार केही बढेको थियो। त्यसैले यो विन्दुमा नेप्सेले टेवा परीक्षण गर्ने सम्भावना कायमै छ।
बजारको केही लामो अवधिको प्रवृत्ति विश्लेषणमा प्रयोग हुने ५० दिने र २०० सय दिने मुभिङ एभरेजले बजार बियरिस प्रवृत्तिमै आइनसकेको देखाइरहेको छ।
अहिलेको बजार प्रवृत्ति हेर्दा भने, स्पष्ट संकेत नदेखिँदासम्म लगानीकर्ताले संयमित भएर 'पर्ख र हेर' को रणनीतिमा बस्नुपर्ने देखिन्छ।