नयाँ सरकार आएयता नेप्से परिसूचक १७३ अंकले घटेको छ। २०८२ चैत १२ गते १४ अंकले बढेर २९५० मा पुगेको नेप्से नवगठित सरकारले सत्ता सम्हालेपछि एकोहोरो घट्न थाल्यो।
सो दुई दिनमा नेप्सेले ११८ अंक गुमायो।
तेस्रो दिन मंगलबार भने बजारमा सुधार भयो। १४ अंकले नेप्से बढ्यो।
यो वृद्धि भने 'डेड क्याट बाउन्स' को जस्तो संकेत देखियो। बुधबार बजार एकै दिन ७४.७३ अंकले घट्यो र २७७६ विन्दुमा आयो। बजार उच्चले घटेपछि सुधार हुने प्रयासमा केही बढ्छ तर त्यो वृद्धि टिकाउ हुँदैन भने त्यसलाई 'डेड क्याट बाउन्स' भनिन्छ। जसरी मरेको बिरालालाई केही माथिबाट फाल्दा शरीर भुक्क भएर सामान्य उफ्रिन्छ र अन्ततः जमिनमै पछारिन्छ।
यही अर्थ दिने अंग्रेजी वाक्यांशलाई सेयर बजारमा पनि प्रयोग गरिन्छ।
आइतबार र सोमबार दुई दिनमा २९५० बाट बजार घटेर २८३१ सम्म आयो। त्यसपछि सामान्य बढेर २८५० मा पुग्यो। तर बुधबार फेरि घट्यो।
नयाँ सरकार आएसँगै नेता, व्यवसायीहरू पक्राउ परेका कारण बजार घटेको ब्रोकरहरू बताउँछन्।
'पहिले राजनीतिक व्यक्तिहरू पक्राउका कारण घटेको बजार पछिल्लो समय व्यवसायीहरू समेत पक्राउ पर्ने भएपछि थप ओरालो लागेको हो,' एक ब्रोकरले भने, 'व्यवसायीहरूले गलत गरेकै कारण पक्राउ परेका भए पनि तत्काललाई त्यसको प्रभाव पर्ने नै थियो। यही भएको हो।'
कतिपय ठूला व्यवसायीहरूको कारोबार बैंक, सेयर बजार, बीमा कम्पनीहरूसँग पनि जोडिएको हुनाले यस्ता घटनाको प्रभाव बजारमा पर्ने अनुमानमा लगानीकर्ताहरू डराइरहेको ब्रोकरहरू बताउँछन्।
उनले थपे, 'गलत प्रवृत्तिहरू सफा हुँदै जान्छन् भने भविष्यमा यसको सकारात्मक नै प्रभाव पर्ने हो। अहिलेलाई भने नकारात्मक प्रभाव परेको हो।'
प्राविधिक विश्लेषण अनुसार मैनबत्ती चित्रमा स्पष्ट प्रवृत्ति देखिएको छैन। तर अन्तिम दिन बनेको लामो रातो मैनबत्ती आकृतिले बियरिस प्रवृत्तिले केही समय निरन्तरता पाउनसक्ने संकेत गरिरहेको छ।
रेखाचित्रले भने नेप्सेले २७७२ आसपास पहिलो टेवा पाउन सक्ने सम्भावना देखाउँछ।
अहिले नेप्सेमा बनाइएको ५० दिने र २०० दिने मुभिङ एभरेजले भने बुलिस प्रवृत्ति कायमै रहेको देखाइरहेको छ। यी दुई रेखा अझै दुरी कायम गरेर समानान्तर रूपमा अगाडि बढिरहेका छन्।