सेयर बजारमा केही समयदेखि जलविद्युत कम्पनीहरूमा लगानीकर्ताको आकर्षण बढ्दै गइरहेको छ। बजारमा यो क्षेत्रको उपस्थिति बढ्दो छ र लगानीकर्ताको आकर्षण पनि।
अहिले बजारमा सूचीकृत २८६ कम्पनीमध्ये १०२ वटा जलविद्युत क्षेत्रबाट छन्।
बजार घट्दा उच्चले घट्ने र बढ्दा उच्चले बढ्नेमा यिनै कम्पनी हुन थालेका छन्।
सोमबार बजार बढ्दा सबभन्दा धेरैले बढ्नेमा पनि यही समूह रह्यो।
जलविद्युत समूहगत परिसूचक ४.५९ प्रतिशतले बढेर ३८०१ विन्दुमा पुग्यो।
कतिपय यी कम्पनीमा थोरै सेयर सूचीकृत भएकाले कम आपूर्ति हुँदा मूल्य अस्वाभाविक बढ्ने पनि भइरहेका छन्। तर अहिले धेरैजसो लगानीकर्ताहरूले यस्ता कम्पनी रूचाइरहेका छन् जुन 'इन्भेस्टमेन्ट मोडल' बाट अगाडि बढिरहेका छन्।
यस्ता केही कम्पनी हुन्, राधी विद्युत, ङादी ग्रुप पावर र साहास ऊर्जा।
राधी विद्युतको हाल ४.४ मेगावाटको राधी साना जलविद्युत आयोजना सञ्चालनमा छ। यसले ६९ प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा मंसिर २ गते आवेदन दिएको छ।
हकप्रद प्रस्तावले समेत राधीको सेयरमा आकर्षण देखिएको हुन सक्छ। तर कम्पनी लगानी मोडलबाट अगाडि बढिरहेकाले पनि लगानीकर्ता आकर्षित देखिएको ब्रोकरहरू बताउँछन्।
'अहिले राधी जस्ता धेरै कम्पनी लगानी मोडलबाट सञ्चालन भइरहेका छन्,' एक ब्रोकरले भने, 'यस्ता कम्पनीले लगानीबाट पनि राम्रै आम्दानी गर्ने सम्भावना रहन्छ। यही कारण लगानीकर्ता यस्ता कम्पनीमा आकर्षित भइरहेका हुन्।'
राधीले आफ्नो सहायक कम्पनी कसुवा खोला हाइड्रोपावरले बनाउने भएको ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सोच सहित हकप्रद सेयर जारी गर्न लागेको हो।
सोमबार नै राधीको मूल्य ३३ रूपैयाँले बढेर ८०९ रूपैयाँ पुगेको छ।
सेयर मूल्य घटेको समयमा यसलाई आफ्नो 'पोर्टफोलियो' मा राख्न ब्रोकरहरू सुझाव दिन्छन्।
त्यस्तै पछिल्लो समय धेरै रकमको कारोबार हुनेमा पर्दै आएको अर्को कम्पनी हो, ङादी ग्रुप पावर।
ङादीले पनि अन्य विभिन्न कम्पनीमा लगानी गर्दै आएको छ। बेला बेला यसले लगानी बिक्री गर्ने गरेकाले आफ्नो नाफा वृद्धि गर्न र प्रतिफल दिन सक्ने अवस्था बन्ने ब्रोकरहरू बताउँछन्।
ङादीले चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमासमा तीन कम्पनीमा गरेको लगानी सो समयको बजार मूल्य अनुसार तीन अर्ब ९८ करोड रूपैयाँ बराबर पुगेको उल्लेख गरेको छ।
ङादीले सगरमाथा जलविद्युत, माइखोला हाइड्रो, स्युरी न्यादी पावरमा गरेको लगानी तीन अर्ब ७९ करोड रूपैयाँ पुगेको उल्लेख गरेको छ। सोमबार यसको सेयर मूल्य २३ रूपैयाँले बढेर ४६० पुगेको छ।
त्यस्तै, अर्को कम्पनी साहास ऊर्जा लिमिटेडको सोमबार प्रतिकित्ता सेयर मूल्य ११ रूपैयाँ बढेर ६१५ रूपैयाँमा कारोबार भइरहेको छ।
साहास ऊर्जाले ८६ मेगावाटको सोलु खोला हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट सञ्चालन गरिरहेको छ।
त्यस्तै टाइम्स इनर्जीमा ५६.६७ प्रतिशत लगानी गरेको छ। टाइम्सले ३४१ मेगावाटको बुढिगण्डकी आयोजनामा लगानी गर्नेछ।