सेयर बजारमा सूचीकृत कम्पनीहरूलाई विश्लेषण गर्ने विभिन्न वित्तीय सूचकहरू हुन्छन्। यसैमध्येको एक हो, प्रतिसेयर नेटवर्थ।
कुनै पनि कम्पनीको सबै सम्पत्तिबाट त्यसले तिर्नुपर्ने दायित्व कटाएर बाँकी रहने सम्पत्तिलाई हरेक कित्ता सेयरमा भाग लगाउँदा प्रतिसेयर नेटवर्थ निस्किन्छ।
अहिले बजारमा रहेका कम्पनीमध्ये तथ्यांक उपलब्ध भएका २६० कम्पनीको चैत मसान्तसम्मको प्रतिसेयर नेटवर्थ हेर्दा सबभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको छ।
राष्ट्रिय बीमा कम्पनीको प्रतिसेयर नेटवर्थ ६ हजार ५३४ रूपैयाँ छ।
यसले के संकेत गर्छ त?
आजको दिनमा कुनै कम्पनी खारेज वा बन्द भयो भने त्यसको दायित्व कटाएर लगानीकर्ताले एक कित्तामा कति रकम पाउँछन् भनेर यसले देखाउँछ। राष्ट्रिय बीमा कम्पनीकै उदाहरण हेर्ने हो भने लगानीकर्ताले एक कित्ता बराबर ६ हजार ५३४ रूपैयाँ पाउँछन् भन्ने यसले देखाउँछ।
अहिले बजारमा सबभन्दा कम प्रतिसेयर नेटवर्थ हुनेमा दिश्यश्वरी हाइड्रोपावर कम्पनी छ। यसको प्रतिसेयर नेटवर्थ पाँच रूपैयाँ ५९ पैसा छ।
२६० वटामध्ये दुई कम्पनीको यस्तो सूचक नकारात्मक नै छ। मेन्छियाम हाइड्रोपावर कम्पनीको प्रतिसेयर नेटवर्थ २३ रूपैयाँ र जानकी फाइनान्सको ६ रूपैयाँ ४६ पैसाले ऋणात्मक छ।
यी कम्पनी आजैको दिनमा खारेज वा बन्द हुन्छन् भन्ने चाहिँ होइन। यो एउटा सूचक हो।
यो सूचकले लगानीकर्तालाई सेयरमा लगानी गर्न सुझाउने समेत गर्छ।
अहिले पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बजारमा सूचीकृत हुने कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थकै आधारमा मूल्य दिन्छ।
नेप्सेले कुनै कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य दिन्छ।
जस्तै, कुनै कम्पनीको नेटवर्थ प्रतिसेयर १५० रूपैयाँ छ भने लगानीकर्ताले पहिलो कारोबार १५० रूपैयाँदेखि ४५० रूपैयाँसम्ममा कारोबार गर्न पाउँछन्।
सामान्यतया बजारमा रहेका कम्पनीको सेयर मूल्य प्रतिसेयर नेटवर्थभन्दा कम छ भने त्यसले सेयरको मूल्य अधिमूल्यन भएको संकेत गर्छ। अहिले वाणिज्य बैंकहरूमा भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको यो सूचक बजार मूल्यभन्दा कम छ।
बजारमा नेपाल इन्भेष्टमेन्टको प्रतिकित्ता सेयर १९५ रूपैयाँ ५० पैसामा कारोबार भइरहेको छ। यसको प्रतिसेयर नेटवर्थ १९९ रूपैयाँ ७२ पैसा छ।
बजारमा ५९ वटा कम्पनीको यस्तो नेटवर्थ १०० रूपैयाँभन्दा कम छ। केहीको प्रतिकित्ता सेयर मूल्य १२०० रूपैयाँभन्दा माथि छ। सयमुनि नेटवर्थ हुने कम्पनीको प्रतिकित्ता सेयर मूल्य १३ गुणाभन्दा बढी हो।
त्यसो त उच्च नेटवर्थ भएका कम्पनीको पनि मूल्य नेटवर्थभन्दा धेरै गुणा देखिन्छ। राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य नेटवर्थको तुलनामा २.२९ गुणा धेरै छ। यसको सेयर प्रतिकित्ता १५ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, अर्को कम्पनी युनिलिभर नेपालको सेयर प्रतिकित्ता ४६ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ। ५ हजार ११७ रूपैयाँ प्रतिसेयर नेटवर्थ रहेको युनिलिभरको सेयर मूल्य ९ गुणा धेरै हो।
त्यसैले नेटवर्थ हेरेर मात्रै बजारमा लगानी गर्नु सही नहुन सक्छ। प्रतिसेयर आम्दानी, सेयरमा प्रतिफल र लाभांश क्षमता लगायत सूचकसमेत हेरेर लगानी रणनीति बनाउनुपर्छ। किनभने कहिलेकाहीँ नयाँ कम्पनीको नेटवर्थ कम हुन सक्छ।
जलविद्युत कम्पनीहरूकै कुरा गर्नुपर्दा उनीहरूको आयोजना नबनिसकेको हुन सक्छ। जलविद्युत कम्पनीहरूले ७० प्रतिशत ऋणबाट पुँजी जुटाएका हुन्छन्। त्यसैले ऋण दायित्व घटाउँदा पनि नेटवर्थ कम देखिन सक्छ।
जलविद्युत कम्पनीहरूमा याद गर्नुपर्ने अर्को विषय भनेको यिनीहरूको सम्पत्ति दीर्घकालीन होइन। आयोजनाको म्याद सकिएपछि यो सरकारलाई हस्तान्तरण हुन्छ।
साना कम्पनीको पनि नेटवर्थ धेरै हुन सक्छ। मानौं, कुनै कम्पनीको कुल सेयर १० लाख कित्ता छ र कुल नेटवर्थ १० अर्ब रूपैयाँ छ। यसको प्रतिसेयर नेटवर्थ १० हजार रूपैयाँ हुन्छ।
तर कुनै कम्पनीको कुल सेयर ५० करोड कित्ता छ र कुल नेटवर्थ पाँच खर्ब रूपैयाँ छ भने प्रतिसेयर नेटवर्थ एक सय रूपैयाँ मात्रै हुन्छ।
त्यसैले धेरै सेयर संख्या वा चुक्ता पुँजी भएका कम्पनीको प्रतिसेयर नेटवर्थ कम हुन सक्छ।
यस्तै यी कम्पनीसँग सम्पत्ति धेरै भए पनि नाफा कम भएको हुन सक्छ। पैसा निष्क्रिय भएर बसेको वा लगानी थप्ने आधार नभएको कारण पनि नेटवर्थ धेरै भइरहेको हुन सक्छ।
त्यसो भए नेटवर्थको किन महत्व छ त?
नेटवर्थ धेरै हुनु भनेको तपाईंसँग भएको सेयरको समर्थन वा आधार सम्पत्ति (ब्याकिङ एसेस्ट) बलियो छ भन्ने पनि हो।
नेटवर्थ धेरै हुने कम्पनीसँग सञ्चिति वा सम्पत्ति हुन हुन सक्छ। नेटवर्थ धेरै हुने कम्पनी स्थिर प्रतिफल दिने तुलनात्मक रूपमा पुराना कम्पनी पनि हुन सक्छन्।
यो सूचकलाई अन्य सूचकसँगै हेरेर लगानी रणनीति बनाउनु सही हुन्छ।
‘हाइ नेटवर्थ’ भएका बजारका २० कम्पनी—
|
प्रति सेयर अम्दानी रूपैयाँ |
मूल्य आम्दानी अनुपात (गुणा) |
प्रतिसेयर नेटवर्थ रूपैयाँ |
| राष्ट्रिय बीमा कम्पनी |
१०८.३७ |
१४३.४९ |
६५३४.०० |
| युनिलिभर नेपाल |
१८०४ |
२५.८८ |
५११७.०० |
| बोटलर्स नेपाल बालाजु |
१३३ |
११७ |
३२९७.०० |
| बोटलर्स नेपाल तराई |
३०५ |
३९ |
३१३८.०० |
| नेपाल टेलिकम |
४६.४७ |
१८.३४ |
५५०.८८ |
| रिलायन्स स्पिनिङ मिल्छ |
२०.४२ |
|
४९७.३७ |
| आत्मनिर्भर लघुवित्त |
६१.८७ |
९९.१६ |
४२३.२६ |
| साल्ट ट्रेडिङ कर्पोरेशन |
३६.१९ |
१५८.०४ |
३७५.७० |
| ओरियण्टल होटल |
|
|
३२८.१७ |
| उपकार लघुवित्त |
३८.५ |
८५.४५ |
२९८.२० |
| ग्रामिण माईक्रोफाइनान्स |
४० |
१९.४३ |
२९५.०० |
| श्रृजनशील लघुवित्त |
१९.९८ |
७७.३२ |
२७२.९८ |
| नेपाल बैंक |
२५.३४ |
१०.९७ |
२७२.७९ |
| सिवाइसी लघुवित्त |
२६.७४ |
५८.४५ |
२६९.५४ |
| नेशनल लघुवित्त |
५१.५९ |
२२.२१ |
२५९.५१ |
| सिइडिबी होल्डिङ (सिएचडिसी) |
६१.०५ |
४०.४६ |
२५७.३६ |
| जीवन विकास लघुवित्त |
४७.४३ |
२६.३४ |
२५५.२४ |
| सिद्धार्थ प्रिमियर इन्सोरेन्स |
१.९१ |
३९५ |
२५०.०६ |
| एभरेष्ट बैंक |
३२.३५ |
२१.५८ |
२४४.२७ |
| नबिल बैंक |
३३.०२ |
१६.०५ |
२४३.३० |