नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल प्रसाद भट्ट नियुक्त भएका छन्।
असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
कैलालीका भट्ट यसअघि नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकको जिम्मेवारीमा रहिसकेका थिए।
उनको शैक्षिक पृष्ठभूमि पनि पुँजीबजारसँग सम्बन्धित देखिन्छ। उनले सेयर बजार विषयमा विद्यावारिधि गरेको बताइन्छ।
यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले स्वार्थ बाझिन सक्ने सम्भावनालाई उल्लेख गर्दै अध्यक्ष छनोट समितिबाट अलग हुने निर्णय गरेका थिए।
बोर्डमा तत्कालीन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि नेतृत्व रिक्त भएको थियो।
श्रेष्ठ २०८१ मंसिर १० गतेदेखि चार वर्षे कार्यकालका लागि सेबोनको अध्यक्ष नियुक्त भएका थिए। तर उनको कार्यकाल पूरा हुनुअघि नै सो पद रिक्त भएको थियो।