सेयर बजार परिसूचक लगातार घटिरहेको छ। बिहीबार नेप्से चार महिनायताकै न्यून विन्दुमा आएको छ।
गत फागुन १३ गते नेप्से २६४८ विन्दुमा थियो। बिहीबार त्यसयता पहिलो पटक नेप्से २६५१ विन्दुमा आएको छ। यसबीच नेप्से २९६९ विन्दुमा पुगेको थियो। यस आधारमा नेप्सेले ३१७ अंक गुमाइसकेको छ।
अहिले बजारमा चरम निराशा देखिएको छ। बजार मात्रै होइन कारोबार लगातार घट्दो छ। बिहीबार बजारमा दुई अर्ब ८३ करोड रूपैयाँको कारोबार भएको छ। बुधबार चार अर्ब ४१ करोड रूपैयाँको कारोबार भएको थियो। यो जेठ ४ गतेयताकै न्यून हो। त्यसयता दैनिक करोबार ३ अर्ब रूपैयाँमुनि आएको थिएन।
तर यसबीच पनि बजारमा कारोबारमा आएर मूल्य बढ्ने कम्पनीहरूको संख्यामा केही सुधार हुँदै गएको छ।
मंगलबार २३ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको थियो, बुधबार ६२ वटा कम्पनीको मूल्य बढ्यो। बिहीबार मूल्य बढ्ने कम्पनीको संख्या ८३ वटा पुग्यो।
यसले के देखाउँछ भने, अहिले बजारमा बिस्तारै खरिद गर्ने प्रवृत्ति देखिन थालेको छ। बजारमा आक्रामक रूपमा लगानी त भइरहेको छैन। कम्पनी छानेर लगानी गर्ने प्रवृत्ति बढेको छ।
अहिले कारोबार रकममा पनि शिथिलता आइरहेको छ। बजारमा बिक्री दबाब घटेको यसले देखाइरहेको छ। अहिले बिक्री गर्नेहरू थप मूल्य घटेर बिक्री गर्न चाहिरहेका छैनन् जस्तो देखिन्छ। यही कारण बिक्री गर्ने र किन्ने दुवै सही समयको पर्खाइमा छन्।
तर पनि अहिले मूल्य घट्ने कम्पनीको संख्या उच्च नै रहेकाले बजार अहिले नै बढिहाल्छ भन्न सकिँदैन।
त्यस्तै, अहिले बजारमा रहेका केही ठूला कम्पनीको मूल्यमा सुधार हुन नसकेकाले पनि बजार घटिरहेको देखिन्छ। बिहीबार नै पनि विशाल बजार, नबिल बैंक, नागरिक लगानी कोष जस्ता धेरै बजार पुँजीकरण हुने कम्पनीहरूको मूल्य घटेको छ।
उदाहरणका लागि विशाल बजारलाई हेरौं। यसको सेयर मूल्य ९८ रूपैयाँले घट्यो र ४२ सय रूपैयाँमा कारोबार भयो।
एकै दिनमा यो कम्पनीको बजार पुँजीकरण (कम्पनीको कुल सेयरको मूल्य) करिब चार अर्ब रूपैयाँले घट्यो। बुधबार यसको बजार पुँजीकरण एक खर्ब ७१ अर्ब ९२ करोड रहेकामा यो रकम घटेर एक खर्ब ६८ अर्बमा सीमित भयो।
अर्थात् बिहीबार ८ अंकले नेप्से घट्दा विशाल बजार एउटैले बजारलाई घटाउन २.२९ अंक बराबर योगदान गर्यो।
त्यसैले बजार अहिले नै सुधारमा गइसकेको मान्न मिल्दैन। तर बिक्री दबाब कम भएको र लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ।
नेप्सेको मैनबत्ती चित्रहरूले पनि यही संकेत गरिरहेको छ। विगत तीन दिनमा नेप्से दैनिक घटिरहेको छ। तर घट्ने दर कम भइरहेको छ। मंगलबार २६ अंक, बुधबार १४ अंक र बिहीबार ८ अंकले नेप्से घटेको छ।
यी तीन नै दिन अन्तरदिनको कारोबारमा बजारमा ठूलो उतारचढाव देखियो। बुधबार र बिहीबार बजारको सुरू र बन्द विन्दुबीचको अन्तर साँघुरियो।
फलतः यी दुवै दिन दुवैतर्फ लामो धागो भएका तर निकै सानो शरीरको आकार भएका मैनबत्ती आकृति बने। मैनबत्ती चित्रमा यी आकृतिलाई दोजी आकृति भनिन्छ। यसले बजारमा अन्योल रहेको संकेत गर्छ।
यो घट्दो प्रवृत्तिको अन्तिमतिर देखिएकाले बजारमा सुधार हुन सक्ने समेत मानिन्छ। यो संकेत दरिलो भने होइन।
मुख्यतः अब केही सातामा सार्वजनिक हुन सक्ने मौद्रिक नीति र सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको प्रभाव अनुसार नै बजारले आफ्नो प्रवृत्ति देखाउँदै जानेछ।