तीन महिनापछि ग्लोबल आइएमई बैंकको सेयर कारोबार उच्चले बढेको छ। सोमबार बजारमा सबभन्दा धेरै कारोबार हुने कम्पनीमा यो शीर्ष स्थानमा रह्यो।
सोमबार बजारमा कुल दुई अर्ब ६७ करोड रूपैयाँको सेयर कारोबार हुँदा ग्लोबलको मात्रै आठ करोड ८३ लाख रूपैयाँको सेयर कारोबार भयो। यो कुल कारोबार रकमको ३.३० प्रतिशत हो।
ग्लोबलको यसअघि गत चैत १८ गते ९ करोड ३३ लाख रूपैयाँको कारोबार भएको थियो। सोमबार त्यसपछिको धेरै रकमको कारोबार हो।
सोमबार कारोबार मात्रै होइन ग्लोबलको मूल्य पनि केही बढेको छ। सोमबार २७५ वटा कम्पनीको सेयर कारोबार भएकामा २९ कम्पनीको मात्रै मूल्य बढ्यो। यसमा ग्लोबल पनि पर्न सफल भयो।
सोमबार ग्लोबलको सेयर प्रतिकित्ता २ रूपैयाँ ६० पैसाले मूल्य बढेर २३९ रूपैयाँ ३० पैसामा कारोबार भएको छ। यसको मूल्य विगत लामो समयदेखि २०० रूपैयाँदेखि ३०० रूपैयाँ मूल्य रेन्जमा रहेर तलमाथि गरिरहेको छ।
ठूलो पुँजी भएको यस बैंकको सेयरको आपूर्ति पनि धेरै हुने भएकाले लामो समयदेखि मूल्य सीमित रेन्जमा रहेर तलमाथि गर्ने गरिरहेको छ।
अहिले यसको चुक्ता पुँजी ३८ अर्ब ११ करोड रूपैयाँ छ। यसमध्ये १८ करोड कित्ता (१८ अर्ब) भन्दा धेरै सेयर सर्वसाधारण सेयर हुन्। त्यसैले पनि यसको सेयर आपूर्ति उच्च हुने गरेको छ।
विगत पाँच वर्षमा यसले वार्षिक औसत ९.९२ प्रतिशत लाभांश दिएको छ। यो अवधिमा अधिकतम १३.६ प्रतिशत र न्युनतम ५.५ प्रतिशत लाभांश दिएको हो।
चैतसम्मको वित्तीय विवरण अनुसार यसको वार्षिकीकरण गरिएको लाभांश क्षमता १०.५० प्रतिशत छ। यसको सो अवधिको नाफा अघिल्लो चैतको भन्दा घटेर चार अर्ब ४० करोडमा सीमित भएको छ। अघिल्लो चैतमा यस्तो नाफा चार अर्ब ७१ करोड रूपैयाँ थियो।
खुद ब्याज आम्दानी १२ अर्ब ३१ करोड रूपैयाँबाट घटेर ११ अर्ब ८८ करोड रूपैयाँमा सीमित भएपछि नाफा केही घटेको हो।
यसको खराब कर्जा ४.९७ प्रतिशत छ। यसअघि यो दर ४.९८ प्रतिशत थियो।
चालु आर्थिक वर्षमा कर्जा विस्तार गर्न सक्ने पाँच बैंकभित्र यो पनि परेको छ। ग्लोबललाई कर्जाको माग भएका कर्जा विस्तार गर्न कुनै दबाब छैन।
अहिले धेरै बैंकलाई पुँजी कोषमा दबाब छ। यसको प्राथमिक पुँजीको आधारमा जोखिम भारित सम्पत्ति ९.७१ प्रतिशत छ। यो पर्याप्त हो।
ग्लोबलको प्रतिसेयर आम्दानी १५ रूपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ १७८ रूपैयाँ छ।
यसको सेयर मूल्य केही समयदेखि साइडवेज मुभमेन्टमा छ। त्यसैले स्पष्ट प्रवृत्ति संकेत गरिरहेको छैन। पछिल्लो २० दिनयता यसको सेयरमा बिक्री प्रवृत्ति नै धेरै देखिन्छ। २० दिनमा एकुमुलेसन र डिस्ट्रिब्युसन (एडी) मान १३ लाखले सकारात्मक छ।
त्यस्तै सोमबार मूल्य बढ्ने २९ कम्पनीमा लक्ष्मी सनराइज बैंक पनि पर्न सफल भयो।
सोमबार लक्ष्मी सनराइजको सेयर प्रतिकित्ता ५ रूपैयाँ ७० पैसाले मूल्य बढेर २२२ रूपैयाँमा कारोबार भएको छ। यसको मूल्य पनि विगत लामो समयदेखि २०० रूपैयाँदेखि ३०० रूपैयाँ मूल्य रेन्जमा रहेर तलमाथि गरिरहेको छ।
२६ अर्ब चुक्ता पुँजी रहेको लक्ष्मी सनराइजको सेयर आपूर्ति पनि धेरै हुने भएकाले लामो समयदेखि मूल्य सीमित रेन्जमा रहेर तलमाथि गगरिरहेको छ।
यसको १३ करोड कित्ता (१३ अर्ब) भन्दा धेरै सेयर सर्वसाधारण सेयर हुन्। त्यसैले पनि यसको सेयर आपूर्ति उच्च छ।
लक्ष्मी र सनराइज बैंक मर्जर भएर बनेको यो बैंकले विगत तीन वर्षमा वार्षिक औसत ७.७२ प्रतिशत लाभांश दिएको छ। यो अवधिमा अधिकतम १०.५३ प्रतिशत र न्यूनतम ५.२६ प्रतिशत लाभांश दिएको हो।
चैतसम्मको वित्तीय विवरण अनुसार यसको वार्षिकीकरण गरिएको लाभांश क्षमता मात्रै १.९३ प्रतिशत छ। यसको सो अवधिको नाफा अघिल्लो चैतको भन्दा २३ प्रतिशतले बढेर २ अर्ब ३ करोड रूपैयाँ पुगेको छ।
अघिल्लो चैतमा यस्तो नाफा १ अर्ब ६२ करोड रूपैयाँ थियो।
खुद ब्याज आम्दानी ७ अर्ब ८९ करोड रूपैयाँबाट घटेर ७ अर्ब ८७ करोड रूपैयाँ भएको छ। यसअघिको तुलनामा यो बैंकले जोखिमका लागि कम प्रावधान रकम राखेकाले नाफा बढेको हो।
यसअघि ३ अर्ब १९ करोड प्रावधान राखेकामा यस पटक ३ अर्ब एक करोड राखेको छ।
शुल्क, कमिसन आम्दानी समेत बढेपछि नाफा बढ्न सहयोग पुगेको हो।
लक्ष्मी सनराइजको खराब कर्जा ५.८६ प्रतिशतबाट घटेर ५.२९ प्रतिशत भएको छ।
कर्जाको माग भएकाले विस्तार गर्न दबाब देखिँदैन। यसको प्राथमिक पुँजीको आधारमा जोखिम भारित सम्पत्ति ९.५९ प्रतिशत छ। यो पर्याप्त हो।
यसको प्रतिसेयर आम्दानी १० रूपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १७५ रूपैयाँ छ।
गत शुक्रबार र यस सोमबारको कारोबारमा लक्ष्मीको सेयर मूल्यमा इनगल्फिङ बुलिस आकृति बनेको छ।
पहिलो दिन बनेको रातो मैनबत्तीको पूरै शरीरलाई दोस्रो दिनको हरियो मैनबत्तीको शरीरले पूरै ढाकेको छ।
यो मूल्य बढ्न सक्ने मध्यम संकेत हो। तर, यसले तीन दिनअघिको उच्च विन्दु २२७ लाई पार गर्न सकिरहेको छैन।
प्रवृत्ति परिर्वतनको सुनिश्चितताका लागि मंगलबारको कारोबार हेर्नु राम्रो हुन्छ।
पछिल्लो २० दिनयता यसको सेयरमा बिक्री प्रवृत्ति नै धेरै देखिन्छ। २० दिनमा एकुमुलेसन र डिस्ट्रिब्युसन (एडी) मान ६ लाखले सकारात्मक छ।
यसले बैंकको सेयरमा लगानी सामान्य दरमा भित्रिरहेकै संकेत गर्छ।