लगातार सात दिनको गिरावटपछि बुधबार नेप्से परिसूचकमा ४४.५९ अंकको वृद्धि भयो।
बढ्ने प्रयास गर्दै गर्दा अहिले पनि बजारमा प्रतिकित्ता दुई सय रूपैयाँभन्दा कम भाउमा सेयर पाइने कम्पनीहरू छन्।
हाल ६ वटा कम्पनीको सेयर मूल्य दुई सय रूपैयाँ पनि छैन। यिनमा चार बैंकहरू— हिमालयन, सिटिजन्स, प्रभु र नेपाल इन्भेस्टमेन्ट मेगा छन्। अरू दुइटा कम्पनीमा अप्पर तामाकोशी र शिवश्री हाइड्रोपावर हुन्।
यहाँ भने हामीले दुई बैंकको मात्र कुरा गरेका छौं।
सिटिजन्स बैंक
बुधबार सिटिजन्स बैंकको सेयर भाउ प्रतिकित्ता २ रूपैयाँ १० पैसा बढेर १९६ रूपैयाँ १० पैसामा कारोबार भएको छ। यसको मूल्य विगत लामो समयदेखि १८३ देखि २८५ रूपैयाँबीच रहेर तलमाथि गरिरहेको छ।
ठूलो पुँजी भएको सिटिजन्सको सेयर आपूर्ति पनि धेरै हुने भएकाले लामो समयदेखि मूल्य सीमित रेन्जमा तलमाथि भइरहेको छ।
अहिले यसको चुक्ता पुँजी १५ अर्ब ५० करोड रूपैयाँ छ। यसमध्ये सात करोड कित्ता (सात अर्ब रूपैयाँ) भन्दा धेरै सर्वसाधारण सेयर हुन्।
विगत पाँच वर्षमा यसले वार्षिक औसत ८.०५ प्रतिशत लाभांश दिएको छ। यो अवधिमा अधिकतम १६ प्रतिशत र न्यूनतम ४.२१ प्रतिशत लाभांश दिएको हो।
चैतसम्मको वित्तीय विवरण अनुसार यसको लाभांश क्षमता नै देखिँदैन। यसको ५० करोड रूपैयाँले सञ्चित नोक्सान छ।
सिटिजन्स सो अवधिको नाफा अघिल्लो चैतको भन्दा घटेर ९४ करोड रूपैयाँ भएको छ। अघिल्लो चैतमा यस्तो नाफा ९६ करोड रूपैयाँ थियो।
खुद ब्याज आम्दानी ४ अर्ब ७४ करोड रूपैयाँबाट घटेर ४ अर्ब ६७ करोड रूपैयाँमा सीमित भएपछि नाफा केही घटेको हो। अन्य सञ्चालन आम्दानी बढे पनि नाफामा सुधार पुग्ने स्तरमा भएको देखिएन।
यसको खराब कर्जा ५.७१ प्रतिशतबाट बढेर ६.६२ प्रतिशत पुगेको छ।
अहिले धेरै बैंकलाई पुँजी कोषमा दबाब छ। यस बैंकलाई पनि दबाब देखिएको छ। यसको प्राथमिक पुँजीको आधारमा जोखिम भारित सम्पत्ति ८.९३ प्रतिशत छ। यस्तो अनुपात न्यूनतम ८.५ प्रतिशत हुनुपर्छ।
यसको प्रतिसेयर आम्दानी ११ रूपैयाँ २३ पैसा र प्रतिसेयर नेटवर्थ १५५ रूपैयाँ छ।
यसको सेयर मूल्य केही समयदेखि घट्दो प्रवृत्तिमा छ। मंगलबार यसको मूल्यले दुवैतर्फ लामा धागा भएको दोजी बनाएको थियो। मूल्य बढ्नुपर्छ वा घट्नुपर्छ भन्ने बीच उत्तिकै शक्ति संघर्ष भएको देखिन्छ।
बुधबार भने मूल्य बढे पनि तल्लो लामो धागो भएको कालो मैनबत्ती आकृति बनेको छ। यसले लगानीकर्तामा अझै अन्योल रहेको संकेत गर्छ।
पछिल्लो २० दिनायता यसको सेयरमा बिक्री प्रवृत्ति नै धेरै देखिन्छ। २० दिनमा एकुमुलेसन र डिस्ट्रिब्युसन (एडी) मान एक लाखले ऋणात्मक छ। तीन दिनदेखि नै यस्तो मान ऋणात्मक थियो।
हिमालयन बैंक
बुधबार हिमालयनको सेयर भाउ प्रतिकित्ता २ रूपैयाँ ९० पैसा बढेर १९४ रूपैयाँमा कारोबार भएको छ। विगत लामो समयदेखि यसको मूल्य १८४ देखि ३१२ रूपैयाँबीच रहेर तलमाथि गरिरहेको छ।
यसको पनि ठूलो पुँजी भएकाले सेयर आपूर्ति पनि धेरै छ। त्यसैले लामो समयदेखि मूल्य सीमित रेन्जमा रहेर तलमाथि गरिरहेको छ।
अहिले यसको चुक्ता पुँजी २२ अर्ब ५८ करोड रूपैयाँ छ। यसमध्ये ६ करोड ७७ लाख कित्ता (६ अर्ब ७७ करोड रूपैयाँ) भन्दा धेरै सर्वसाधारण सेयर हुन्।
हिमालयनले आर्थिक वर्ष २०७८/७९ पछि लाभांश दिएको छैन। सो वर्ष यसले १९.११ प्रतिशत लाभांश दिएको थियो।
चैतसम्मको वित्तीय विवरण अनुसार यसको लाभांश क्षमता देखिँदैन। यसको आठ अर्ब २४ करोड रूपैयाँ सञ्चित नोक्सान छ।
हिमालयनको सो अवधिको नाफा अघिल्लो चैतको भन्दा ५२ प्रतिशतले बढेको छ। अघिल्लो चैतमा यस्तो नाफा ५० करोड रूपैयाँ थियो। यो चैतमा ७६ करोड रूपैयाँ छ।
खुद ब्याज आम्दानी ७ अर्ब ७५ करोड रूपैयाँबाट घटेर ६ अर्ब ८३ करोड रूपैयाँ भएपछि नाफा केही घटेको हो।
यसअघि कर्जा जोखिमवापत एक अर्ब प्रावधान राखेकामा हिमालयनले यस पटक ३ अर्ब रूपैयाँ राखेको छ।
हिमालयनको खराब कर्जा थप केही बढेर ७.९८ प्रतिशत पुगेको छ। यसअघि यो अनुपात ७.६८ प्रतिशत थियो।
अहिले धेरै बैंकलाई पुँजी कोषमा दबाब छ। हिमालयनलाई पनि धेरै नै दबाब देखिएको छ। यसको प्राथमिक पुँजीको आधारमा जोखिम भारित सम्पत्ति ७.७० प्रतिशत छ। यस्तो अनुपात न्युनतम ८.५ प्रतिशत हुनुपर्छ।
कुनै एक त्रैमासमा मात्रै यो अनुपात भनिएभन्दा कम भएमा बैंकहरूले लाभांश दिन सक्ने अवस्थामा पनि नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
हिमालयनको प्रतिसेयर आम्दानी ४ रूपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १७१ रूपैयाँ छ।
यसको सेयर मूल्य केही समयदेखि घट्दो प्रवृत्तिमा छ। मंगलबार यसको मूल्यले करिब करिब इन्भर्टेड ह्यामर आकृति बनाएको थियो। यसले मूल्य बढ्न सक्ने मध्यम संकेत गर्छ।
बुधबार भने सेतो लामो मैनबत्ती आकृति बनेको छ। बिहीबार पनि मूल्य बढ्यो र बुधबारभन्दा माथि नै रहेर बजार बन्द भयो भने मूल्य थप बढ्न सक्ने संकेत गर्छ।
तीन दिनमा थ्री आउटसाइड बुलिस आकृति बन्नेछ। यसलाई दरिलो संकेत मानिन्छ।
पछिल्लो २० दिनयता यसको सेयरमा बिक्री प्रवृत्ति नै धेरै देखिन्छ। २० दिनमा एकुमुलेसन र डिस्ट्रिब्युसन (एडी) मान ८४ लाखले ऋणात्मक छ।
बुधबार यस्तो मान ८ हजारले सकारात्मक छ। यो प्रवृत्ति बढ्दै गएमा खरिददारी बढ्दै गएको मान्न सकिन्छ।