नेप्से केही दिनदेखि सीमित दायरामै उतारचढाव गरिरहेको छ।
प्राविधिक सूचकहरूले सेयर बजार अझै बुलिस प्रवृत्तिलाई निरन्तरता दिने वा पुनः करेक्सनतर्फ मोडिने निर्णायक चरणमा रहेको संकेत गरिरहेका छन्।
यस्तो अवस्थामा बजारमा सक्रिय लगानीकर्ताको चासो कुन क्षेत्रतर्फ केन्द्रित छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ।
गत साता बिहीबारदेखि बुधबारसम्मको दैनिक कारोबारको संरचना हेर्दा सबभन्दा बढी कारोबार जलविद्युत समूहमा भएको देखिन्छ।
बजारमा सबभन्दा धेरै सूचीकृत कम्पनी यही समूहमा रहेकाले यसको कारोबार स्वाभाविक रूपमा बढी हुने भए पनि पछिल्ला दिनमा कुल कारोबारमा यसको हिस्सा तुलनात्मक रूपमा अझै बढेको देखिन्छ।
तथ्यांक अनुसार गत बिहीबार कुल कारोबारको करिब ४९ प्रतिशत हिस्सा जलविद्युत समूहले ओगटेको थियो। यस सोमबार भने यो हिस्सा घटेर ३४ प्रतिशतमा सीमित रह्यो।
त्यस दिन वाणिज्य बैंक समूहको कारोबार हिस्सा उल्लेख्य रूपमा बढ्यो। बैंकिङ समूहको हिस्सा सोमबार एकै दिन १६ प्रतिशतबाट २२ प्रतिशत पुगेको थियो।
मंगलबार वित्त कम्पनी समूहमा पनि लगानीकर्ताको चासो बढेको देखियो। यस समूहको कारोबार हिस्सा मंगलबार ७ प्रतिशतबाट बढेर १० प्रतिशत पुगेको थियो।
बुधबार भने पुनः जलविद्युत र विकास बैंक समूहतर्फ कारोबार केन्द्रित भएको देखिन्छ। जलविद्युत समूहको हिस्सा बुधबार ४३ प्रतिशतबाट बढेर ४६ प्रतिशत पुगेको छ। विकास बैंक समूहको हिस्सा पनि ५.६३ प्रतिशतबाट बढेर ९.११ प्रतिशत पुगेको छ।
यसले पछिल्ला केही कारोबार दिनमा जलविद्युत, बैंकिङ र विकास बैंक समूहप्रति लगानीकर्ताको चासो बढ्दै गएको संकेत गर्छ।
तर कारोबारको हिस्सा मात्र हेरेर यी क्षेत्रमा नयाँ खरिद बढेको वा बिक्री दबाब रहेको निष्कर्ष निकाल्न सकिँदैन। त्यसका लागि एकुमुलेसन–डिस्ट्रिब्युसन (एडी) अनुपात उपयोगी मानिन्छ।
पछिल्ला पाँच कारोबार दिनमा जलविद्युत समूहको एडी मान २१ लाखले सकारात्मक छ। बुधबार भने ६ लाखले ऋणात्मक देखिएको छ।
विकास बैंक समूहको पाँच कारोबार दिनको एडी मान ४ लाखले सकारात्मक छ। बुधबार ३ लाखले ऋणात्मक छ। त्यस्तै, बैंकिङ समूहको पाँच दिनको एडी मान ३२ लाखले सकारात्मक रहँदा बुधबार ८ लाखले ऋणात्मक देखिएको छ।
यसले बुधबार केही नाफा बुकिङ बढेको संकेत गरे पनि पछिल्ला पाँच कारोबार दिनको समग्र प्रवाह अझै सकारात्मक रहेको देखाउँछ।
अर्थात् यी क्षेत्रबाट ठूलो मात्रामा पुँजी बाहिरिएको संकेत अहिलेसम्म देखिएको छैन।
बुधबार सबभन्दा बढी कारोबार हुने कम्पनीमध्ये जलविद्युत क्षेत्रकै दुई कम्पनी परेका छन्। यी दुवै कम्पनी मूल्य बढ्ने प्रमुख १० कम्पनीको सूचीमा समेत रहे।
हिमालयन पावर पार्टनरको सेयर मूल्य ३.३५ प्रतिशतले बढेर ३९४ रुपैयाँ पुगेको छ। कम्पनीको २२ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, खानी खोला हाइड्रोपावरको सेयर मूल्य ३.६२ प्रतिशतले बढेर २९५ रूपैयाँ पुगेको छ। यस कम्पनीको २१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
समग्रमा पछिल्ला केही कारोबार दिनको तथ्यांकले जलविद्युत समूहमा अझै सबभन्दा बढी चहलपहल रहेको देखाएको छ।
साथै बैंकिङ, विकास बैंक र वित्त समूहमा पनि कारोबारको हिस्सा बिस्तारै बढ्न थालेकाले लगानीकर्ताले विभिन्न क्षेत्रबीच अवसर खोज्दै पुँजी स्थानान्तरण गरिरहेको संकेत देखिएको छ।
आगामी दिनमा यो प्रवृत्ति टिक्ने वा फेरि जलविद्युतमै केन्द्रित हुने भन्ने कुरा कम्पनीहरूको वित्तीय विवरण, बजारको मनोविज्ञान र समग्र बजार सूचक नेप्से दिशाले निर्धारण गर्नेछ।