नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन ब्रान्च मेनेजर्स कन्फरेन्स गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न गरेको छ।
'रेजिङ द बार, रिडिफाइनिङ सक्सेस' नाराका साथ आयोजना गरिएको सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती तथा कर्मचारीको क्षमता अभिवृद्धि लगायतका विषयमा व्यापक छलफल तथा प्रशिक्षण गरिएको थियो।
कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा औपचारिक कार्यक्रम पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गरियो।
उक्त समारोहलाई सम्बोधन गर्दै अध्यक्षले जीवन बीमा ब्यवसाय दिन प्रति दिन प्रतिष्पर्धात्मक हुँदै गइरहेको हुँदा यसमा हामी सबैले सोही अनुसार आफूलाई तयार गरी व्यवसाय प्रवर्द्धन गर्नुपर्ने चुनौती रहेको र यसका लागि आवश्यक तालिम प्रशिक्षण प्रदान गर्न कम्पनी सधै अग्रसर रहेको र यसै सम्बन्धमा अहिले विश्व भर चर्चित रहेको र खास गरी जीवन बीमामा ठूलो योगदान पुऱ्याउने संभावना रहेको आर्टिफिसियल इण्टिलिजेन्स सम्बन्धमा कर्मचारीहरूलाई प्रशिक्षण प्रदान गरी कम्पनीको डिजिटल मार्केटिङलाई प्रवर्द्धन गर्ने तर्फ प्रयासरत रहनु पर्ने विचार व्यक्त गरिन्।
कम्पनीले निरन्तर रूपमा आफ्नो कर्मचारीका लागि मानव संसाधनमा यथासंभव लगानी गरेर उनीहरुको वृत्ति विकासमा योगदान पुऱ्याइ रहेको र आउने दिनहरुमा पनि यो कायम रहने जानकारी गराइन्।
आगामी दिनमा पनि कर्मचारीहरुको अधिकतम प्रयास र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक उचाई थप वृद्धि हुने विश्वास उनले व्यक्त गरिन्।