भदौ १० गते बुधबार घडीले ८ बजेर ५० मिनेट गएको संकेत गरिसकेको थियो।
भोटेकोशी खोलाभन्दा करिब ५०-६० मिटरमाथि स्याफ्रुबेसी बजारमा आफ्नो बैंक एनआइसी एसियाको शाखामा सबै कर्मचारी आइसकेका थिए। खोला नजिक बजारको तल्लो छेउमा छ यो बैंकको शाखा।
शाखामा तीन जना बैंक कर्मचारी, एक जना सुरक्षा गार्ड र एक जना सरसफाइ कर्मचारी काममा तल्लीन थिए।
शाखा प्रबन्धक नवराज न्यौपाने सिटमा बसेर कम्प्युटर खोलेर नियमित काम गर्दै थिए।
बैंकमा हुने दैनिक लेनदेनको लागि केही रकम क्यास काउन्टरमा राखिँदै थियो।
तर, ८ बजेर ५५ मिनेट जाँदा केही पड्किएको जस्तो ठूलो आवाज आयो। त्यतिखेर सरकारले पठाएको भनिएको ११ लाख वटा एसएमएस उनीहरूकोमा आइपुगिसकेकै थिएन।
निकै कम समयमै उर्लिँदो भेल एसएमएसभन्दा पहिले नै आइपुग्न लागेको थियो।
उनलाई विनाशकारी बाढी आयो भन्ने कल्पना नै भएन। किनभने त्यो दिन घाम लागिरहेको थियो, पानी परेको थिएन।
भूकम्प आयो भन्ने लागेर उनी बाहिर निस्किए। भूकम्पको अनुमानमा उनी हतारिएर निस्किए। उनीभन्दा अघि नै गार्ड र एक जना स्टाफ निस्किएर खुला ठाउँमा आइसकेका थिए।
त्यहाँ सानो पहिरो सुख्खायाममा पनि गइरहन्छ। ढुंगा खसिरहन्छ। ठूलो होइन कि भन्ने उनलाई लाग्दै थियो, आकाशमा एक्कासि ठूलो मुस्लो उडेको देखियो।
उनी यति हतास र विचलित भए कि सबैलाई जाऔं ज्यान बचाउन पनि भन्न सकेनन्।
हातमा बाइकको चाबी पनि थियो। अन्य समयमा बाइकमै पनि रसुवा कालिकास्थानमा रहेको घर पुग्न सकिन्थ्यो।
तर, उनलाई त्यो दिन बाइक लिएर बाटैबाटो भाग्ने कुनै सोच नै आएन। सायद, उनको नियतिले उनलाई आफूले देखेको यो त्रास सुनाउने कथा वाचक बनाउनु थियो।
उनी भन्छन्, 'बाइकमा घरतिर लागेको भए त बाढीले बगाउने रहेछ।'
खोलाको विपरीत रोड छेउको भित्तापट्टि सानो गल्छेडो छ, उकालो चढ्न सकिने। त्यहीँबाट सबै जना माथितिर ज्यान जोगाउन भागे। त्यहाँ गल्छेडो नजिकै ढल बग्ने भएकोले सुरक्षाको लागि धेरै अघि तार जारी लगाइएको थियो।
मानिसहरू त्यो तार जाली च्यातेर ज्यान जोगाउन उकालोतिर दौडिन संघर्ष गर्न थाले र जति त्यहाँसम्म आए, सफल पनि भए।
बतास बेगले ज्यान जोगाउन दौडिएका उनी छड्के नजरले तल हेर्दै थिए। कहालीलाग्दो भेल आकाशको बाटो आइरहेझैं देखिन्थ्यो। भेल २ सय देखि २५० मिटर माथिसम्म आइरहेथ्यो।
उनी तब मात्रै रोकिए, जति खेर उनी ७–८ सय मिटर माथि पुगे। उनलाई लाग्यो, अब भने बाँचियो। फोन चल्दै थियो।
सबैभन्दा पहिले उनले घरमा खबर गरे। फोनको अर्कोपट्टि कालिकास्थानमा रहेका बुबा बोल्दै थिए। रसुवामै रहेर पनि उनीहरूले यो घटना भएको खबर छोराबाटै थाहा पाए।
उनले आफ्नो तलतिर रहेका दुवै शाखामा खबर गरे। बैंकको केन्द्रीय कार्यालयमा खबर गरे।
त्यहाँबाट केही मिटर परको कोमिन गाउँ पुगेर सुस्ताएका उनी सहित अन्य बैंक साथी जति एकै ठाँउमा जम्मा भए।
डिप्रोक्स लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, प्रभु बैंक सहित उनको बैंकका कर्मचारीहरू त्यहाँभन्दा थप केही परको गाउँ गोल्जुङ जाने निर्णय गरे।
त्यहाँ कुमारी बैंकका एक कर्मचारीको घर थियो। पहिले पनि त्यहाँ घुमफिर गर्न गइरहने भएकोले त्यहीँ बास बसे।
भोलिपल्टै सबैजना धुन्चे झरे, सरकारले हेलिकप्टरबाट सर्वसाधारणको उद्धार गर्दै गरेको थाहा पाए।
सो दिन उद्धार हुने दुई सय जनामा उनी र उनका साथीहरूलाई पनि रहे।
बाढी आएकै दिन पनि सरकारले हेलिकप्टरबाट उद्धारको प्रयास गरेको आफूले पछि थाहा पाएको उनी बताउँछन्।
उनले भने, 'बाढी आएको दिन करिब १५ जना जतिलाई उद्धार गर्न सकिएको भए पनि पानी पर्न लागेपछि सो दिनको उद्धार कार्य स्थगित भएको थियो।'
कोमिनका केही मानिसहरू पनि गाउँ बस्दा भोक र शोकले समस्यामा पर्ने देखेपछि केही उद्धारको क्रममा तल आए।
उनलाई लाग्दैन, अब बर्बाद स्याफ्रुबेसी फेरि पहिले जस्तै आवाद हुनेछ।
स्याफ्रुबेसी बजारमा धेरै मानिसहरू परिवारसहित बस्दैनन्। व्यवसाय गर्न चाहिने परिवार सदस्य र अन्य स्थानका मानिसहरू राखेर स्थानीयहरू व्यापार व्यवसाय गर्छन्।
त्यहाँका कतिपय स्थानीय काठमाडौंमा र केही विदेशमा बस्छन्।
अस्तित्व नै नामेट भएको स्याफ्रुबेसी बजार फेरि उठ्नसक्ने सम्भावना न्यौपाने देख्दैनन्।
'गाउँ नै उजाडिएको छ, पहिले पनि कम जनघनत्व भएको ठाउँ हो, भेलको कहालीलाग्दो रूप देखेका जो कोहीलाई त्यहाँ फेरि बस्ती जगाउने आँट आउँदैन कि?' उनी भन्छन्।
यो घटनामा एनआइसी एसिया बैंकको सो शाखाका सबै कर्मचारी सुरक्षित भए।
बजारसँगै त्यहाँको सो शाखा पनि नामेट भएको छ। शाखाको एटिएम भल्टमा करिब १३ लाख ९३ हजार रूपैयाँ थियो।
शाखाभित्रको भल्टमा ६० लाख २७ हजार बराबर रकम रहेको बैंकले नेपाल बैंकर्स एसोसिएनसनलाई उपलब्ध गराएको तथ्यांकले देखाउँछ।
पैसा, धनको क्षति भए पनि शाखाका सबै सकुशल हुन सके। एनआइसी एसियाका रसुवा र नुवाकोटका सबै शाखाका कर्मचारी सुरक्षित छन्।
तर, सबैको यस्तो नियति हुन सकेन। रसुवा भोटेकोशी र त्रिशूली बाढीले ७ वाणिज्य बैंकका २६ कर्मचारी अहिले पनि सम्पर्कविहीन छन्।