नेपाल स्टक एक्सचेन्जले बनाएर दिएको सेयर कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) नचलाउने करिब १८ ब्रोकरमार्फत भए पनि मंगलबार सेयर कारोबार खुला गर्ने सम्भावना देखिएको छ।
आफ्नै टिएमएस चलाइरहेका १८ वटा ब्रोकर कम्पनीलाई कारोबार गर्न दिएर मंगलबार सेयर बजार खुला गर्ने सम्भावना रहेको नेप्से स्रोतले बतायो।
स्रोतका अनुसार अहिले नेप्सेले विकास गरेको टिएमएस चलाइरहेका ७२ ब्रोकर कम्पनीको कारोबार के हुने भन्नेबारे मंगलबार बिहानसम्म मात्रै थाहा लाग्ने भएको छ।
'उनीहरूले पूरै प्रणाली सफा (क्लिन) गरिरहेका छन्। यदि बिहानसम्म पूरै क्लिन भएको निश्चित भएमा उनीहरूलाई कारोबार गर्न दिइनेछ,' स्रोतले भन्यो।
यी ७२ वटा ब्रोकर कम्पनीको कारोबार व्यवस्थापन प्रणालीको विकास वाइको कम्पनीले गरेको हो। वाइकोले विकास गरेको यो प्रणालीको ब्याकअप डेटा हब प्रालिले गरिरहेको छ।
वाइकोले यी ७२ वटा ब्रोकर कम्पनीका सेयर लगानीकर्तालाई टिएमएसमा लगइन नगर्न सोमबार नै भनेको छ।
मंगलबार यदि यी ब्रोकर कम्पनीले कारोबार गर्न नपाए लगानीकर्तालाई टिएमएसमा लगइन गर्न नमिल्ने बनाइनेछ। ब्रोकर कम्पनीले टिएमएसको स्विच नै बन्द गर्नुपर्ने हुन सक्छ।
आइतबार बिहान डेटा हब प्रालिले ५ बजेर ३० मिनेट जाँदा टिएमएस होस्ट गरिरहेको पूर्वाधारमा र्यान्समवेयर अट्याक (साइबर अट्याक) भएकाले बजारका कारोबार नै रोक्नुपर्ने भन्दै वाइकोलाई पत्राचार गर्यो।
वाइकोले त्यसै अनुसार ब्रोकर कम्पनी र नेप्सेलाई पत्राचार गर्यो।
डेटा हबले वाइको प्रालिलाई पठाएको पत्रमा आक्रमण हुनुअघि आइतबार बिहान करिब ४ बजे लिइएको सम्पूर्ण पूर्वाधारको ब्याकअप सुरक्षित गरी अलग राखिएको जनाएको छ।
यस्तो र्यान्समवेयर अन्य जोडिएका सञ्जालमा फैलिएको हुनसक्ने आशंकामा प्रभावित प्रणालीहरूलाई तत्काल सञ्चालनमा नल्याइएको डेटा हबले जनाएको थियो।
डेटा हबका अनुसार प्रभावित प्रणालीको पूर्ण अवस्था पत्ता लगाउन अनुसन्धान तथा सुरक्षा परीक्षण भइरहेको छ।
र्यान्समवेयरले सामान्यतया प्रणाली वा फाइलमा पहुँच अवरूद्ध गरेर फिरौती माग्ने गर्छ। वित्तीय बजारमा यसको असर एउटा कम्प्युटर वा एउटा कम्पनीमा मात्र सीमित नहुन सक्छ।
वाइकोले ब्रोकर कम्पनीहरूलाई पठाएको पत्रमा डेटा सेन्टरबाट टिएमएस, सिडिएस एण्ड क्लियरिङ (सिडिएससी) सम्बन्धी प्रणाली र भुक्तानी प्रणाली र अन्य परस्पर जोडिएका सेवा प्रभावित भएको हुनसक्ने उल्लेख गरेको छ।
डेटा हबले यसको लागि फरेन्सिक विश्लेषणको लागि केही समय दिन वाइकोलाई गरेको पत्राचारमा उल्लेख गरेको छ।
डेटा हबले आक्रमणअघि लिइएको पूर्ण ब्याकअप अलग राखिएको जनाएको छ। उक्त ब्याकअप सुरक्षित र प्रयोगयोग्य रहेको प्रमाणित भयो भने प्रणाली पुनः स्थापनामा महत्त्वपूर्ण सहयोग पुग्न सक्छ।
तर आक्रमण कति फैलियो भन्ने, कुन प्रणालीमा पहुँच पुगेको थियो, कुनै तथ्यांक चोरी भयो कि भएन र आक्रमणकारीको पहुँच पूर्ण रूपमा हटाइयो कि हटाइएन भन्ने कुरा अझै बाहिर आएको छैन।
यो फरेन्सिक अनुसन्धानबाट स्पष्ट हुनुपर्नेछ। डेटा हबले पनि फरेन्सिक विश्लेषण र आवश्यक सुधारात्मक उपायपछि मात्र प्रणाली पुनः सञ्चालन गर्ने जनाएको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का अनुसार भुक्तानी, धितोपत्र राफसाफ तथा अन्य वित्तीय पूर्वाधारमा साइबर आक्रमणले महत्वपूर्ण सेवा अवरूद्ध गर्न र अन्य संस्थामा समेत असर फैलाउन सक्छ।
यहाँ वाइको नेपाल सेयर कारोबारमा तेस्रो पक्ष हो। नेप्सेले कारोबार प्रणाली निर्माण गर्न वाइकोलाई जिम्मा दिएको थियो।
इसेयर सोलुसनका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले आफूहरू समस्या समाधानमै लागिरहेकोले अहिले केही भन्न नसक्ने जानकारी दिए।
वाइको प्रालि इसेयर सोलुसनको शतप्रतिशत सेयर रहेको कम्पनी हो।
नेप्सेबाट सो घटनाबारे जानकारी प्राप्त हुनासाथ धितोपत्र बोर्डले प्राविधिक लगायतका समस्या पहिचान गरी कारोबार स्थगन गर्नुपर्ने कारण पत्ता लगाउन उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली खटाएको छ।
त्यस्तै, नेप्सेलाई समेत यस्ता घटना दोहोरिन नदिन भन्दै असोज १२ गतेभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।
यी हुन् १८ वटा ब्रोकर कम्पनी:
- नासा सेक्युरिटिज– ब्रोकर नम्बर ५८
- अरूण सेक्युरिटिज– ब्रोकर नम्बर ३
- ओपल सेक्युरिटिज इन्भेस्टमेन्ट– ब्रोकर नम्बर ४
- प्रज्ञान सेक्युरिटिज– ब्रोकर नम्बर १०
- नेपाल स्टक हाउस– ब्रोकर नम्बर १४
- स्वेता सेक्युरिटिज– ब्रोकर नम्बर २५
- भिजन सेक्युरिटिज– ब्रोकर नम्बर ३४
- सेक्युअर्ड सेक्युरिटिज– ब्रोकर नम्बर ३६
- शुभलक्ष्मी सेक्युरिटिज– ब्रोकर नम्बर ३७
- डायनामिक मनी म्यानेजर– ब्रोकर नम्बर ४४
- कालिका सेक्युरिटिज– ब्रोकर नम्बर ४६
- हिमालयन ब्रोकेज कम्पनी– ब्रोकर नम्बर ६३
- सन सेक्युरिटिज– ब्रोकर नम्बर ६४
- एनआइएमबी स्टक मार्केट्स– ब्रोकर नम्बर ७५
- गरिमा सेक्युरिटिज– ब्रोकर नम्बर ७८
- ब्लु चिप सेक्युरिटिज– ब्रोकर नम्बर ८८
- रोड शो सेक्युरिटिज– ब्रोकर नम्बर ९२
- ट्रेडमो सेक्युरिटिज– ब्रोकर नम्बर ९८