मंगलबार बिहानसम्म वाइको प्रालीले विकास गरेको कारोबार व्यवस्थापन प्रणाली टिएमएसमा सुधार नभए यो प्रणाली चलाउने ७२ वटा ब्रोकर कम्पनीको सेयर कारोबार रोक्का रहनेछ।
बाँकी १८ वटाको भने कारोबार खोल्न सकिने सम्भावना रहेको नेप्से स्रोतले बताएको छ।
वाइको प्रालिले विकास गरेको कारोबार व्यवस्थापन प्रणाली टिएमएस होस्ट गरिरहेको पूर्वाधारमा र्यानसम एट्याक (साइबर एट्याक) भएकाले सोमबार पूरै सेयर बजार बन्द गर्नुपरेको थियो।
९० मध्ये ७२ वटाले नेप्सेले वाइकोमार्फत बनाएर दिएको सेयर कारोबार प्रणाली (टिएमएस) चलाइरहेका छन्।
वाइकोले विकास गरेको यो प्रणालीको ब्याकअप डेटा हब प्रालिले गरिरहेको छ।
आइतबार बिहान डेटा हब प्रालीले ५ बजेर ३० मिनेट जाँदा टिएमएस होस्ट गरिरहेको पूर्वाधारमा र्यानसम एट्याक (साइबर एट्याक) भएको थियो। स्रोतका अनुसार अहिले नेप्सेले विकास गरेको टिएमएस चलाइरहेका यी ७२ ब्रोकर कम्पनीको कारोबार के हुने भन्नेबारे मंगलबार बिहानसम्म मात्रै थाहा लाग्ने भएको छ।
यी ७२ वटाको पूरै प्रणाली सफा (क्लिन) गर्ने काम भइरहेको छ। यदि बिहानसम्म पूरै क्लिन भएको निश्चित भएमा उनीहरूलाई कारोबार गर्न दिइनेछ।
मंगलबार यदि यी ब्रोकर कम्पनीले कारोबार गर्न नपाए लगानीकर्तालाई टिएमएसमा लगइन गर्न नमिल्ने बनाइनेछ। ब्रोकर कम्पनीले टिएमएसको स्विच नै बन्द गर्नुपर्ने हुन सक्छ।
तर यस्तो समस्या नभएको र वाइकोले विकास गरेको कारोबार व्यवस्थापन प्रणाली नचलाउने अन्य १८ ब्रोकरमार्फत भने मंगलबार कारोबार खुला गर्ने तयारी भइरहेको नेप्से स्रोतले जनाएको छ।
यी हुन् १८ वटा ब्रोकर कम्पनी:
- नासा सेक्युरिटिज– ब्रोकर नम्बर ५८
- अरूण सेक्युरिटिज– ब्रोकर नम्बर ३
- ओपल सेक्युरिटिज इन्भेस्टमेन्ट– ब्रोकर नम्बर ४
- प्रज्ञान सेक्युरिटिज– ब्रोकर नम्बर १०
- नेपाल स्टक हाउस– ब्रोकर नम्बर १४
- स्वेता सेक्युरिटिज– ब्रोकर नम्बर २५
- भिजन सेक्युरिटिज– ब्रोकर नम्बर ३४
- सेक्युअर्ड सेक्युरिटिज– ब्रोकर नम्बर ३६
- शुभलक्ष्मी सेक्युरिटिज– ब्रोकर नम्बर ३७
- डायनामिक मनी म्यानेजर– ब्रोकर नम्बर ४४
- कालिका सेक्युरिटिज– ब्रोकर नम्बर ४६
- हिमालयन ब्रोकेज कम्पनी– ब्रोकर नम्बर ६३
- सन सेक्युरिटिज– ब्रोकर नम्बर ६४
- एनआइएमबी स्टक मार्केट्स– ब्रोकर नम्बर ७५
- गरिमा सेक्युरिटिज– ब्रोकर नम्बर ७८
- ब्लु चिप सेक्युरिटिज– ब्रोकर नम्बर ८८
- रोड शो सेक्युरिटिज– ब्रोकर नम्बर ९२
- ट्रेडमो सेक्युरिटिज– ब्रोकर नम्बर ९८