एनएमबी बैंकका अध्यक्ष मनोज गोयलले बैंकिङ क्षेत्र अहिले केही अप्ठ्यारो परिस्थितिमा पुगेको भए पनि यसबाट तंग्रिन नसक्ने अवस्था नरहेको बताएका छन्।
अर्थतन्त्रमा सुधार हुँदै गए बैंकिङ क्षेत्र पनि क्रमशः सुधार हुन सक्ने उनको भनाइ छ।
बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनका अनुसार कर्जा जानुपर्ने क्षेत्रमा पर्याप्त रूपमा जान नसक्नु, आर्थिक झट्का र बढ्दो वैदेशिक पलायनले बैंकिङ क्षेत्रमा समस्या थपिएको हो।
यद्यपि बैंक कुनै एउटा क्षेत्रमा मात्रै अत्यधिक केन्द्रित नभएकाले अहिले नै डराउनुपर्ने अवस्था नरहेको उनले बताए।
हालै रसुवामा आएको बाढीको उदाहरण दिँदै उनले बैंकमा राखिएको निक्षेप पूर्ण रूपमा सुरक्षित रहे पनि लगानीकर्ताले भने क्षति व्यहोर्नुपरेको बताए।
त्यसैले बैंकलाई केवल निक्षेपकर्ताको संस्थाका रूपमा मात्र हेर्न नहुने उनको भनाइ छ।
'निक्षेपकर्ताको पैसा सुरक्षित भयो भनेर मात्रै बैंकको भूमिका पूरा भएको मान्नु हुँदैन,' उनले भने, 'लगानीकर्ताको जोखिम र क्षतिलाई पनि हेर्नुपर्छ।'
सरकारी स्वामित्वमा जाने आयोजना तथा पूर्वाधार क्षेत्रमा बैंकहरूले गरेको लगानीको अवस्थाबारे पनि स्पष्टता आवश्यक रहेको उनले बताए।
यस्ता आयोजना तथा पूर्वाधारमा बैंकको लगानीसम्बन्धी आगामी व्यवस्था के हुने भन्ने विषय स्पष्ट गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ।