सेयर बजारमा प्रविधिको प्रयोगलाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल धितोपत्र बोर्डले सूचना प्रविधिसम्बन्धी निर्देशिका (आइटी गाइडलाइन) ल्याउने तयारी गरेको छ।
केही समयअघि ७२ वटा ब्रोकरको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) को डेटा राखिएको डेटा हबको पूर्वाधारमा र्यान्समवेयर आक्रमण भएपछि एक दिन सेयर कारोबार नै रोकिएको थियो।
आक्रमणपछि सुरक्षित रूपमा राखिएको ब्याकअप डेटाका आधारमा प्रणाली पुनःस्थापना गरेर कारोबार सञ्चालन गरिएको थियो।
यही घटनापछि यस्तो अवस्थामा बजार तत्काल सञ्चालन गर्न सकिने वैकल्पिक व्यवस्था, डिजास्टर रिकभरी, डेटा ब्याकअप तथा साइबर सुरक्षाका थप उपाय अनिवार्य गर्ने गरी निर्देशिका ल्याउन लागिएको हो।
धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टका अनुसार आगामी सञ्चालक समितिको बैठकबाट निर्देशिकाको कार्यविधि स्वीकृत गरी छलफलका लागि सार्वजनिक गरिनेछ।
बोर्डले यसअघि पनि डेटा सेन्टरमा भएको घटनाको अध्ययन गरी भविष्यमा यस्तो अवस्था दोहोरिन नदिन सुधारसहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई निर्देशन दिएको थियो।
यस्तो आक्रमणपछि छुट्टै सुरक्षित राखिएको ब्याकअपमा भने असर नपरेको र त्यसैको आधारमा काठमाडौंको मुख्य सर्भर पुनः तयार पारिएको बताइएको थियो।
यो पनि:
७२ ब्रोकर कम्पनीको डेटा ह्याक : साइबर आक्रमण गर्नेले बिटक्वाइनबाट माग्यो पैसा