सेयर बजारमा मूल्यको उतारचढाव र बजारको अवस्था बुझ्न प्रयोग हुने बोलिंगर ब्यान्डले पछिल्लो समय नेप्सेमा उतारचढाव केही साँघुरिँदै गएको देखाएको छ।
चार्ट अनुसार नेप्से बोलिंगर ब्यान्डको मध्य ब्यान्ड अर्थात् २० दिनको मुभिङ एभरेज रेखा वरपर छ। माथिल्लो र तल्लो ब्यान्डबीचको दुरी पनि विगतका तुलनामा कम हुँदै गएको देखिन्छ।
केही दिन अघिसम्म २० दिनको मुभिङ एभरेज रेखामा टेवा पाउने प्रयास यस सोमबार आउँदा कमजोर देखिएको छ। अहिले नेप्से यो रेखामुनि आएको छ।
बोलिंगर ब्यान्ड अमेरिकी प्राविधिक विश्लेषक जोन बोलिंगरले सन १९८० को दशकमा विकास गरेका हुन्। यो सेयर बजारमा मूल्यको उतारचढाव, बजारको अवस्था तथा सम्भावित खरिद–बिक्री अवसर पहिचान गर्न प्रयोग गरिने प्राविधिक सूचक हो।
यसमा २० दिनको औसत मूल्यलाई बीचको रेखाका रूपमा लिइन्छ भने त्यसको आधारमा माथिल्लो र तल्लो ब्यान्ड निर्धारण गरिन्छ। यी रेखाबीचको दूरीले बजारमा मूल्यको उतारचढाव कति छ भन्ने बुझ्न सहयोग गर्छ।
चार्ट अनुसार २०८१ साउन, २०८२ असार र २०८२ फागुनतिर नेप्से तीव्र रूपमा बढ्दा माथिल्लो ब्यान्ड नजिक पुगेको देखिन्छ। त्यसपछि बजारमा करेक्सन आउँदा नेप्से मध्य ब्यान्डभन्दा तल झर्दै तल्लो ब्यान्डतर्फ पुगेको थियो। यसले बजार तीव्र रूपमा चल्दा बोलिंगर ब्यान्ड फराकिलो हुने र उतारचढाव घट्दा साँघुरिने अवस्था देखाउँछ।
पछिल्लो समय भने नेप्से मध्य ब्यान्ड आसपास छ। माथिल्लो र तल्लो ब्यान्डबीचको दुरी पनि तुलनात्मक रूपमा साँघुरिएको छ। यस्तो अवस्थालाई बजारमा उतारचढाव कम भएको संकेतका रूपमा हेर्न सकिन्छ।
ब्यान्ड लामो समय साँघुरिँदै गएपछि बजारमा ठूलो उतारचढाव आउन सक्ने सम्भावना रहन्छ। तर बजार माथितिर जान्छ वा तलतिर भन्ने कुरा बोलिंगर ब्यान्डले मात्रै बताउँदैन।

मध्य ब्यान्डभन्दा माथि गएर नेप्सेले माथिल्लो ब्यान्डतर्फ गति लिएमा बजारमा खरिद चाप बढेको संकेतको रूपमा मान्न सकिन्छ। त्यस विपरीत मध्य ब्यान्डभन्दा तल झरेर तल्लो ब्यान्डतर्फ लागेमा दबाब बढेको मान्न सकिन्छ।
बोलिंगर ब्यान्ड अग्रिम संकेत दिने सूचक भने होइन। यो विगतको मूल्य र उतारचढावका आधारमा तयार हुने भएकाले भविष्यको दिशा निश्चित रूपमा बताउँदैन। त्यसैले यसलाई कारोबार रकम, नेप्सेको मूल्य प्रवृत्ति र अन्य सूचकसँगै हेर्नु उपयुक्त हुन्छ।
जस्तै— नेप्से मध्य ब्यान्डभन्दा तल रहँदा कारोबार रकम पनि घट्दै गए बजारमा खरिद चाप कमजोर रहेको संकेत गर्छ।
त्यस्तै, नेप्से मध्य ब्यान्डभन्दा माथि उक्लिँदै जाँदा कारोबार रकम बढेमा बढ्दो चाललाई थप समर्थन मिलेको मान्न सकिन्छ।
पछिल्ला तीन कारोबार दिनमा कारोबार रकम समेत घटिरहेको छ। बिहीबार चार अर्ब शुक्रबार तीन अर्ब ८९ करोड र सोमबार तीन अर्ब १६ करोड रूपैयाँको कारोबार भएको छ।
बोलिंगर ब्यान्डसँगै प्रयोग हुने अर्को सूचक 'प्रतिशत बी' हो।
यसले माथिल्लो र तल्लो ब्यान्डको बीचमा सूचक कुन स्थानमा छ भन्ने देखाउँछ।
यो शून्य हुँदा मूल्य तल्लो ब्यान्डमा, एक हुँदा माथिल्लो ब्यान्डमा र ०.५ हुँदा बीचको रेखामा रहेको बुझिन्छ।
अहिले नेप्सेको 'प्रतिशत बी' ०.३२ छ। अर्थात् नेप्से बोलिंगर ब्यान्डको मध्य रेखाभन्दा तल, तल्लो ब्यान्डतर्फको क्षेत्रमा आएको छ।