कामना सेवा विकास बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच सातै प्रदेशमा साना तथा मझौला व्यवसायीहरूलाई व्यवसायिक क्षमता अभिवृद्धि गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहकाबीच बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट महानिर्देशक डा.गोपाल तिवारीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य लगायत अन्य पदाधिकारी तथा नेपाल उद्योग वाणिज्य संघका परिषद् सदस्यहरूको समुपस्थितिमा भएको उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले उक्त हस्ताक्षर पश्चात सातै प्रदेश र क्रमिक रुपमा अन्य क्षेत्रमा समेत क्षमता अभिवृद्धि कार्यक्रम गर्ने जसले गर्दा उद्योगी व्यवसायीहरूको वित्तीय ज्ञान बढ्नुका साथै वित्तीय अनुपालना समेतमा क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै बैंकलाई धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा बोल्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले उद्योगी व्यवसायीहरूले आफ्नो वित्तीय विवरण तयार गर्न तथा सो सँग सम्बन्धित वित्तीय अनुपालना कायम गर्न सरोकारवालाहरूको उपस्थिीतीमा तालिम सञ्चालन गरिने र सोको लागि आवश्यक पर्ने प्राविधिक सहयोग बैंकले गर्ने जसले गर्दा उद्योगी व्यवसायीहरूको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे।