बुधबार नेप्से परिसूचक फेरि घटेको छ।
लगातार घट्ने क्रममा रहेको सेयर बजार मंगलबार भने ११.९६ अंकले बढेको थियो।
तर, बुधबार नेप्से फेरि ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा बन्द भएको छ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
मंगलबार ३ अर्ब १३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब ७४ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५९ वटा धितोपत्रको एक करोड तीन लाख ६८८ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १०० कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्।
घलेम्दी हाइड्रोको मूल्य सर्वाधिक ६.२५ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रति कित्ता मूल्य २९६ रूपैयाँ पुगेको छ।
यस्तै, एनआइसी एसिया ब्यालेन्सड् फण्डको मूल्य ५.८३ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ९ रूपैयाँ २६ पैसा कायम भएको छ।
यसदिन ग्लोबल आइएमई सम्मुनत योजना-२ को मूल्य सर्वाधिक ५.२६ प्रतिशतले घटेको छ।
उक्त इकाइको मूल्य ९ रूपैयाँ पुगेको छ।
यसैगरी, एसबिएल डिबेन्चर २०८९ को मूल्य ४.४१ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार तीन सय रूपैयाँमा सीमित भएको छ।
बुधबार घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको २९६ रूपैयाँमा ३२ करोड २१ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५.८५ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ। उक्त कम्पनीको दुई हजार ६८६ रूपैयाँमा २९ करोड ३६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक बढेको छ भने बाँकी १२ समूहको घटेको छ।
यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशतले घटेको छ।