लगानीकर्ता संघहरूले सेयर बिक्री गर्नुअघि १५ दिन अगावै सूचना दिनुपर्ने व्यवस्था हटाउन माग गरेका छन्।
नेपाल इन्भेष्टर फोरम, नेपाल पुँजीबजार लगानीकर्ता संघ र सेयर लगानीकर्ता संघ नेपालले संयुक्त रूपमा नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई ६ बुँदे सुझाव दिँदै यस्तो माग गरेका हुन्।
दोस्रो बजारबाट कानुनी रूपमा खरिद गरेको सेयर बिक्री गर्न १५ दिनअघि सूचना दिनुपर्ने व्यवस्था व्यवहारिक नभएको उनीहरूको भनाइ छ।
खरिद गर्दा यस्तो पूर्वसूचना आवश्यक नपर्ने तर बिक्री गर्दा मात्रै अनिवार्य गर्नु समान व्यवहारको सिद्धान्त अनुकूल नभएको संघहरूको तर्क छ।
ठूला सेयरधनी वा रणनीतिक लगानीकर्ताले ठूलो परिमाणमा सेयर बिक्री गर्दा भने बजारमा पारदर्शिता कायम गर्न पूर्वसूचना आवश्यक हुन सक्ने उनीहरूले बताएका छन्।
५ प्रतिशतभन्दा बढी सेयर बिक्री गर्दा पूर्वसूचना दिने व्यवस्था राख्न र प्रमोटर सेयर बिक्रीको पूर्वसूचना अवधि १५ दिनबाट घटाएर ७ दिन कायम गर्न सुझाव दिइएको छ।
संघहरूले ठूलो परिमाणको सेयर कारोबारलाई नियमित कारोबारभन्दा अलग 'ब्लक कारोबार' वा 'अफर फर सेल' मार्फत पारदर्शी रूपमा गर्ने व्यवस्था गर्न पनि माग गरेका छन्।
त्यस्तै, आइपिओको न्यूनतम हिस्सा ३० प्रतिशत कायम गर्न, कम्पनीको प्रकृति र आवश्यकताअनुसार प्रमोटर सेयरलाई क्रमशः कारोबारयोग्य बनाउने व्यवस्था गर्न तथा बोनस र हकप्रद सेयरको मूल्य समायोजन र लागत मूल्य निर्धारणमा एकरूपता ल्याउन सुझाव दिइएको छ।
मार्जिन कारोबारमा सबै ब्रोकरका लागि समान मापदण्ड र ब्याजदर निर्धारण गर्न तथा सेयर र रकमको राफसाफ प्रक्रिया छोट्याउँदै भविष्यमा 'टी प्लस १' प्रणालीमा जान तयारी गर्न पनि संघहरूले माग गरेका छन्।
पुँजीबजारको नियमन कारोबार रोक्नेभन्दा पारदर्शिता, निष्पक्षता र लगानीकर्ता संरक्षणमा केन्द्रित हुनुपर्ने उनीहरूको भनाइ छ।