नेपालमा वित्तीय प्रविधिसम्बन्धी प्रदर्शनी आयोजना हुने भएको छ।
वित्तीय प्रविधि व्यवसायीहरूको संस्था फिनटेक एलायन्स नेपालले असोज २३ देखि २५ गतेसम्म ललितपुरको हेरिटेज गार्डेनमा नेपाल फिनटेक प्रदर्शनी आयोजना गर्न लागेको हो।
प्रदर्शनीको उद्घाटन असोज २३ गते बिहान १० बजे क्लासिक भेन्युमा हुनेछ। उद्घाटनपछि हेरिटेज गार्डेनमा प्रदर्शनी सुरू हुनेछ।
प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा, डिजिटल बैंकिङ, वित्तीय प्रविधि तथा कृत्रिम बुद्धिमत्तामा आधारित सेवासहितका प्रविधि प्रदर्शन गरिने आयोजकले जनाएको छ।
प्रदर्शनीमा विभिन्न बैंक तथा वित्तीय संस्थाका सेवा र प्रविधिका साथै नयाँ वित्तीय प्रविधिसम्बन्धी उत्पादन तथा सेवाबारे जानकारी लिन सकिनेछ।
यस क्रममा वित्तीय प्रविधिसम्बन्धी छलफल तथा प्रस्तुति पनि आयोजना गरिनेछ।
आयोजकका अनुसार प्रदर्शनीमा दुईवटा मञ्चमा नयाँ उत्पादन सार्वजनिक गरिनेछ।
साथै वित्तीय प्रविधि क्षेत्रका विषयमा छलफल, महिला सहभागिता, डिजिटल साक्षरता, कर्जा प्रविधि र वित्तीय समावेशितालगायत विषयमा कार्यक्रम हुनेछन्।
प्रदर्शनीमा ६५ भन्दा बढी स्टल र डिजिटल वित्त तथा साइबर सुरक्षा सचेतनाका लागि दुईवटा एक्पिरियन्स जोन रहनेछन् भने ६ हजारभन्दा बढी आगन्तुकको सहभागिता अपेक्षा गरिएको छ।
सर्वसाधारणका लागि प्रवेश शुल्क दुइ सय रूपैयाँ र विद्यार्थीका लागि ५० रूपैयाँ तोकिएको छ।
पछिल्लो समय नेपालमा वित्तीय प्रविधिको प्रयोग बढ्दै गएको र बैंकिङ तथा भुक्तानी प्रणालीमा नयाँ प्रविधिको प्रयोग विस्तार भइरहेका बेला प्रदर्शनी आयोजना गर्न लागिएको हो।