नबिल बैंक बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर बुझाउने बैंकका रूपमा सम्मानित भएको छ।
आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी आयकर बुझाएको भन्दै सरकारले बैंकलाई सम्मान गरेको हो।
नबिल बैंकले यो सम्मान नवौं पटक प्राप्त गरेको हो।
बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रूपैयाँ आयकर बुझाएको थियो। त्यसअघिल्लो आर्थिक वर्ष २०८२/८३ मा भने बैंकले ३ अर्ब ६० करोड रूपैयाँ आयकर बुझाएको छ।
राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकलाई सम्मानपत्र प्रदान गरे।
बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले सम्मान ग्रहण गरे।
सम्मान ग्रहणपछि चौधरीले यो उपलब्धि समग्र नबिल परिवारका लागि गर्वको विषय भएको बताए।
यसले कर्मचारीको योगदान र ग्राहकले बैंकप्रति देखाएको विश्वासलाई प्रतिबिम्बित गर्ने उनको भनाइ छ।
उनले करदाताका रूपमा आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएको बताए।
ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने, जिम्मेवार व्यावसायिक अभ्यास अपनाउने र नेपालको आर्थिक प्रगतिमा योगदान पुर्याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
नेपाल सरकारले प्रत्येक वर्ष राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न क्षेत्रबाट सर्वाधिक राजस्व योगदान गर्ने करदाता तथा संस्थालाई सम्मान गर्दै आएको छ।
चार दशकभन्दा लामो बैंकिङ इतिहास भएको नबिल बैंकले देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटिएममार्फत सेवा दिँदै आएको छ।
बैंकका ग्राहक करिब ३० लाख छन्। डिजिटल बैंकिङ सेवा विस्तारका लागि बैंकले एनबैंक पनि सञ्चालनमा ल्याएको छ।