आशुतोष इनर्जीले मंसिर १४ गतेदेखि आइपिओ बिक्री खुला गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी ६० करोड रूपैयाँको २० प्रतिशत अर्थात् १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
सोमध्ये ६ करोड रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ६ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।
स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरिने सेयरमध्ये ३ लाख कित्ता सेयर अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको हाल दूधपोखरी गाउँपालिका वडा नं. १ र २ तथा गारखा जिल्लाको हाल अजरिकोट गाउँपालिका वडा नं. २ र ३ का स्थानीय बासिन्दाहरूमा बाँडफाँट गरिनेछ।
बाँकी ३ लाख कित्ता सेयर अति प्रभावित क्षेत्र बाहेकको दूधपोखरी गाउँपालिका एवं दोर्दी गाउँपालिका तथा अजरिकोट गाउँपालिकाका स्थायी बासिन्दाहरूमा बाँडफाँट गरिनेछ।
यसका साथै कम्पनीले सर्वसाधारणमा निष्कासन गर्ने सेयरको १० प्रतिशत अर्थात् ६० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।
उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन बन्द छिटोमा मंसिर २८ गते हुनेछ भने ढिलोमा पुस १४ गते हुनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले मंसिर १७ गतेभित्र आवेदन दिन सक्नेछन् उक्त समयसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि मंसिर २८ गतेसम्म लम्बिनेछ।
कम्पनीलाई इक्रा नेपालले 'इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी माइनस' प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउॅंछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ।
स्थानीय बासिन्दाले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा सेवा प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालय, आयोजना कार्यालय, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, हिमालयन बैंकको गौडा शाखा, राष्ट्रिय वाणिज्य बैंकको भच्चेक शाखा र एनएमबी बैंकको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङले निर्माण गरेको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी सी-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।